मतदाता शिक्षा अप्रभावकारी, डोटीमा ८ हजार ६२० मत बदर



डोटी । मतदाता शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकिँदा डोटीमा प्रत्यक्षतर्फको ८ हजार ६२० मत बदर भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम अनुसार ठुलो मात्रा मत बदर भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार प्रतिनिधि सभातर्फ ६३ हजार ५५२ मत खसेको थियो । जसमध्य ८ हजार ६२० मत बदर हुँदा ५४ हजार ९३२ मत मात्रै सदर भएको छ ।एउटा प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा रहेको डोटीमा प्रतिनिधि सभातर्फको ४ हजार ९६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्ड्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश सभा (क) तर्फ ३३ हजार ३२२ मत खसेको थियो । जसमध्य एक हजार ९१९ मत बदर भएको छ । ३० हजार २३४ मत खसेको प्रदेश सभा (ख) तर्फ एक हजार ७ सय ३२ मत बदर भएको छ ।प्रतिनिधि सभातर्फ नेकपा (एकीकृत समाजवादी) का प्रेमबहादुर आलेले ४ हजार २०६ मतको अन्तरले विजयी हुनु भएको छ । प्रदेश सभा (क) मा नेकपा एमालेका चक्र मल्ल ४५० मतको अन्तरले मात्रै विजयी हुनुभएको छ भने प्रदेश सभा (ख) मा नेकपा (माओवादी केन्द्र) का शिवसिंह ओली ९१८ मतको अन्तरले मात्रै विजयी हुनुभएको छ ।

उम्मेदवार बीचको मतान्तर हेर्दा बदर मतको सङ्ख्या घटेको अवस्थामा नतिजा फरक आउने देखिन्छ । निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा बदर मतको सङ्ख्या बढेको उम्मेदवारहरुको गुनासो रहेको छ ।प्रदेश र प्रतिनिधि सभाको अन्तिम मत परिणाम सार्वजनिक गरिए पनि समानुपातिक तर्फको मतको नतिजा सार्वजनिक हुनसकेको छैन । मुख्य निर्वाचन अधिकृत पाण्ड्यले समानुपातिक तर्फको मत गणना जारी रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्