पाँचथर : एमालेका नेम्वाङ ४७ मतान्तरले विजयी



मिक्लाजुङ  । 

पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङ पुनः निर्वाचित हुनुभएको छ । गए राति अबेर सकिएको मतपरिणामअनुसार उहाँले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गर्नुभएको थियो ।

नेम्वाङले ३२ हजार एक सय १०.मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ । नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसक्नुभएको छ । उहाँ विसं २०७४ मा पनि आङदेम्बेलाई हराउँदै प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो ।

विसं २०१८ चैत ८ गते पाँचथरको फिदिममा जन्मिनुभएका उहाँ पछिल्लोपटक २०७६ मा करिब १८ महिना भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत बन्नुभएको थियो । प्रदेशसभा(१) गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जवेगू विजयी हुनुभएको छ । नेकपा (एमाले)का जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई छ सय ३३ मतान्तरले हराउँदै जवेगू प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँले १६ हजार आठ सय ३७ मत प्राप्त गर्दा भण्डारीले १६ हजार दुई सय चार मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा (२)बाट सत्ता गठबन्धनकै तर्फबाट नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङवो विजयी भइसक्नुभएको छ । प्रतिस्पर्धी एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मतान्तरले पराजित गर्दै आङबो दोस्रोपटक विजयी हुनुभएको हो ।

३४ हजार तीन सय ६५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङबोलाई १५ हजार छ सय ७२ मत प्राप्त भएको छ । उहाँका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार छ सय पाँच मत पाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्