ओलीका बलिया खम्बाहरू नै पराजयको शिकार



काठमाडौं । 

गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्रहरूको पराजय भएको छ । ओलीका सबैभन्दा नजिक रहेर पार्टीको उपल्लो तहमा बसेका ‘हेभिवेट’ भनिएका नेताहरू नै पराजित भएका हुन् ।

एमाले अध्यक्ष ओलीको सबैभन्दा नजिक रहेर पार्टी कार्यकर्ता परिचालन गरिदिने महेश बस्नेतदेखि पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसमेतले हार व्यहोर्नुपरेको छ । काठमाडौं–५ मा एमालेको विरासत धान्दै आएका वरिष्ठ उपाध्यक्ष पोखरेल यसपटक नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग पराजित हुनुभयो । पहिलोपटक प्रतिनिधिसभामा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता पौडेलले पोखरेललाई ५ हजार ९८ मतान्तरले पराजित गर्नुभयो ।

पार्टीले तनहुँमा टिकट व्यवस्थापन गर्न नसकेपछि जुनसुकै क्षेत्रमा पनि चुनाव लड्ने आँट गरेर आएका युवालाई काठमाडौं–५ का मतदाताले पत्याएको नेपाली कांग्रेसका वैचारिक नेता नरहरि आचार्यले नेपाल समाचारपत्रलाई बताउनुभयो ।काठमाडौं ५ का जनता कसैका नभई स्वतन्त्र निर्णय गर्न सक्ने क्षमताका भएको र मतदाताको क्षमतासँग कांग्रेसका उम्मेदवारको पनि क्षमता मिल्ने भएकाले पौडेललाई जित हासिल गर्न सहज भएको उहाँको बुझाइ छ । यस क्षेत्रलाई आफ्नो विरासत ठान्दै आएका पोखरेलले पटक–पटक सत्तामा बसेर देश र नागरिक प्रतिकूल र आफू अनुकूल हुने गरी काम गरेको आरोप खेप्दै आउनुभएको थियो ।

पार्टीको दोस्रो वरीयता क्रममा रहेका पोखरेल ओलीको उत्तराधिकारी बन्ने लाइनमा हुनुहुन्थ्यो ।त्यस्तै, एमालेका महासचिव शंकर पोखरेलले दाङ क्षेत्रनम्बर २ बाट १९७ मतान्तरले निर्वाचन हार्नुभयो । पार्टीको उच्च तहको जिम्मेवारीमा रहेका पोखरेललाई सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेता रेखा शर्माले हराउनुभयो । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्दा पोखरेलले २६ हजार ६ सय ८० मत पाउनुभएको थियो । ओलीकै नजिक रहेर सत्ता र पार्टीभित्र पटक–पटक अवसर पाइसकेका पोखरेल सञ्चारमन्त्री र मुख्यमन्त्रीसमेत भइसक्नुभएको छ । उहाँको पराजयले ओलीलाई सत्ता यात्रामा चुनौती थपिएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

अध्यक्ष ओलीको सबैभन्दा प्रियपात्र बनेका नेता महेश बस्नेत पनि योपटक संसद् छिर्न पाउनुभएन । युवासंघको नेतृत्वमा आउँदादेखि नै ओलीका हरेक राजनीतिक गतिविधिलाई नजिकबाट साथ दिँदै आएका बस्नेतले भक्तपुर क्षेत्र नं. २ बाट पराजय व्यहोर्नुप¥यो । उहाँले २०७० सालमा चुनाव हारे पनि २०७१ भदौदेखि २०७२ असोजसम्म उद्योगमन्त्री भएर काम गर्नुभएको थियो । उहाँले एमाले–माओवादी केन्द्रबीच वाम गठबन्धन भएको २०७४ सालको आम निर्वाचनमा भक्तपुर–२ क्षेत्रमा कांग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई पराजित गर्नुभएको थियो । बस्नेत अहिले सोही निर्वाचन क्षेत्रबाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता दुर्लभ थापासँग पराजित हुनुभयो । थापाले २३ हजार ५ सय मत पाउँदा बस्नेतले २२ हजार ६ सय ७७ मत पाउनुभएको छ । संसद्मा बस्नेतको अनुपस्थितिले केपी ओलीलाई सत्ता निर्माणको संसदीय खेलमा घाटा पुग्ने एमालेकै नेताहरू बताउँछन् ।

ओलीका अर्का विश्वास पात्र प्रदेशनम्बर–१ का पूर्व मुख्यमन्त्री तथा पूर्वसञ्चारमन्त्री शेरधन राईलाई योपटक संसद् छिर्न नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले रोक लगाउनुभयो । भोजपुरबाट सत्ता गठबन्धनका साझा उम्मेदवार किरातीले १९ हजार ४ सय ८५ मत लिएर निर्वाचित हुँदा शेरधनले १७ हजार ५ सय ८१ मत पाउनुभयो । पार्टी अध्यक्ष ओलीले गरेका हरेक निर्णयका पक्षमा खरो उत्रने राईले प्रदेशको नामकरण समेत गर्न नसकेको आरोप खेप्दै आउनुभएको थियो ।

ओलीकै आडमा बसेर पटक–पटक सत्ताको स्वाद लिएका राईले पार्टी र नागरिकप्रति भन्दा बढी ओलीप्रति उत्तरदायी बन्ने गरेको आरोप एमालेकै एकाथरि कार्यकर्ताहरूले लगाउँदै आएका थिए । पार्टी अध्यक्ष ओलीको विदेश विभागसँग सम्बन्धित सबै काम धानेर बस्नुभएका राजन भट्टराई पनि यो संसद्मा नदेखिनुहुने भएको छ । भट्टराई नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग भारी मतान्तरसहित पराजित हुनुभयो । थापाले २१ हजार ३ सय २ मत ल्याउँदा एमालेका भट्टराईले १३ हजार ८ सय ५५ मत पाउनुभएको थियो ।

त्यस्तै, खोटाङबाट विशाल भट्टराईको पराजयले पनि ओलीलाई घाटा पुगेको छ । संसद्मा ओलीका पक्षमा कडा रूपमा उत्रने पात्रमध्ये विशाल पनि एक हुनुहुन्थ्यो । उहाँ खोटाङबाट प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका राजकुमार राईसँग पराजित हुनुभयो । राईले ३१ हजार ३ सय ५१ मत ल्याउँदा भट्टराईले २८ हजार ६८ मत पाउनुभएको छ । ओली निकट मानिने अर्का नेता ऐन महर पनि बझाङमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित हुनुभएको छ । जोशीले २८ हजार १ सय ४३ मत ल्याउँदा महरले २७ हजार १४५ मत पाउनुभएको छ । ओलीका विश्वास पात्रसँगै पार्टी सचिव लेखराज भट्ट, सुरेन्द्र पाण्डेलगायतका पदाधिकारीहरू समेत यसपटक संसद्मा आउन सक्नुभएन । यसले एमालेलाई संसदीय उपस्थितिमा कमजोर बनाउनुका साथै सरकार गठनमा समेत असर पर्ने देखिएको छ ।

यो निर्वाचनमा एमाले नेतृत्व तहमा बसेका प्रायः नेताहरूले हार्नुको पछाडि पार्टी अध्यक्ष ओलीको एकाधिकारवाद भएको स्वयं एमाले कार्यकर्ताहरू नै बताउँछन् । यद्यपि, ओलीलाई नजिकबाट सहयोग गर्ने, उहाँका सबै निर्णयलाई पार्टी पंक्तिमा हुबहु कार्यान्वयन गराउन निरन्तर लागि पर्ने र पार्टीभित्र तथा बाहिरका प्रतिपक्षहरूलाई तल्लो स्तरमा झरेर आलोचना गर्ने गोकुल बाँस्कोटा र सूर्य थापाले चुनाव जित्नुभएको छ । ओलीलाई आगामी संसद्मा थापा र बाँस्कोटालगायतका केही पात्रले सहयोग गरे पनि महत्वपूर्ण र विषयगत क्षेत्रमा दख्खल राख्ने ओलीका मुख्य खम्बाहरू नै ढलेपछि ओलीलाई आगामी सत्ता समीकरणमा समेत असर पर्ने देखिन्छ ।

ओलीका पक्षमा बलियोसँग उभिने नेताहरूको पराजयले आगामी सदन र सरकारमा ओलीलाई चुनौती थपिएको विश्लेषण गर्दै राजनीतिक विश्लेषक शंकर तिवारीले सुझाव दिनुभयो– ‘विगतमा सर्वभौम संसद्मा देखिएको ओली प्रवृतिलाई मलजल गर्ने एमालेका नेताहरूलाई जनताले यसपटक अनुमोदन नगरेर ओलीलाई पनि सच्चिने मौका दिएकाले यो जनअभिमतलाई ओलीले कार्यशैली परिवर्तनको अवसरको रूपमा लिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्