एमाले सचिव रायमाझीको चौथोपटक संसदीय यात्रा



काठमाडौँ।

नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी चौथौ पटक अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । रायमाझीले ४२ हजार छ सय ७५ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिस्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले ४० हजार नौ सय ४५ मत प्राप्त गर्नुभएको थियो । रायमाझी एक हजार सात सय ३० मत बढी ल्याएर विजयी हुनुभएको हो ।

अर्घाखाँचीबाट चौथोपटक जित हासिल गर्नुभएका एमाले सचिव रायमाझी २०६४ र २०७० मा संविधानसभा सदस्य, २०७४ सालमा नेकपा (माओवादी केन्द्र) बाट विजयी हुनुभएको थियो । सन्धिखर्क नगरपालिका अर्घाखाँचीमा २०१८ साल कात्तिक २५ गते बाबु विनबहादुर रायमाझी र आमा लीला रायमाझीका सन्तानका रूपमा जन्मनुभएका रायमाझीका पत्नी योगमाया, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

उहाँ २०३० सालदेखि राजनीतिमा प्रवेश गरी २०३४ सालमा पार्टी सदस्यता प्राप्त लिनुभएको थियो । नेता रायमाझीले २०४३ सालमा अनेरास्ववियु छैटौँको केन्द्रीय उपाध्यक्ष र २०४४ सालमा अनेरास्ववियु छैटौँको अध्यक्ष बनेर काम गर्नुभएको थियो ।

उहाँले वाइसिएल नेपाल केन्द्रीय संस्थापक अध्यक्ष भएर २०४८ सालमा काम गर्नुभएको थियो । उहाँले २०४८ सालमा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य भएर काम गर्नुभएको थियो ।

सचिव रायमाझी २०५३ सालमा अखिल भारत प्रवास इञ्चार्ज, २०५५ र २०६२ सालमा नेकपा (माओवादी) को केन्द्रीय पोलिटब्युरो सदस्य, २०७० साल नेकपा (माओवादी केन्द्रीय) सचिव, २०७५ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य बन्नुभएको थियो ।

उहाँले २०६६ सालमा भौतिक योजना तथा निर्माणमन्त्री, २०६७ सालमा स्थानीय विकास, २०६८ मा शान्ति तथा पुनर्निर्माण र २०७२ उपप्रधान एवं ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँले राजनीतिक आन्दोलनका क्रममा २०४२ देखि २०६२ सम्म भूमिगत जीवन बिताउनुभएको थियो । राजनीतिक घटनाक्रममा दुई वर्ष जेल जीवन बिताउनुभएको थियो भने नौ पटक गिरफ्तारमा पर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्