ओलीका बलिया पिल्लरहरु नै पराजयको शिकार



काठमाडौँ।

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्रहरुको पराजय भएको छ । ओलीका सबैभन्दा नजिक रहेर पार्टीको उपल्लो तहमा बसेका ‘हेभिवेट’ भनिएका नेताहरु नै पराजित भएका हुन ।

एमाले अध्यक्ष ओलीको सबैभन्दा नजिक रहेर पार्टी कार्यकर्ता परिचालन गरिदिने महेश बस्नेतदेखि पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल समेतले हार व्यहोर्नु परेको छ । काठमाण्डौ ५ मा एमालेको विराशत धान्दै आएका बरिष्ठ उपाध्यक्ष पोखरेलले यस पटक नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग पराजित हुनुभयो । पोखरेललाई पहिलो पटक प्रतिनिधिसभामा सदस्यमा भाग लिनुभएका कांग्रेस नेता पौडेलले ५ हजार ९८ मतान्तरले पराजित गर्नुभयो । पार्टीले तनहुँमा टिकट व्यवस्थापन गर्न नसकेपछि जुनसुकै क्षेत्रमा पनि चुनाव लड्ने आँट गरेर आएका युवालाई काठमाडौं ५ का मतदाताले पत्याएको नेपाली कांग्रेसका बैचारिक नेता नरहरी आचार्यले बताउनुभयो ।

काठमाण्डौं ५ का जनता कसैका नभई स्वतन्त्र निर्णय गर्नसक्ने क्षमताका भएको र मतदाताको क्षमतासँग कांग्रेसका उम्मेदवारको पनि क्षमता मिल्ने भएकाले पौडेललाई जित निकाल्न सहज भएको उहाँको बुझाइ छ । यस क्षेत्रलाई आफ्नो विराशत ठान्दै आउनुभएका पोखरेलले पटक–पटक सत्तामा बसेर देश र नागरिक प्रतिकुल र आफुअनुकुल हुनेगरी काम गरेको आरोप खेप्दै आउनुभएको थियो । पार्टीको दोस्रो बरियताक्रममा रहनुभएका पोखरेल ओलीपछिका उत्तराधिकारी बन्ने लाइनमा हुनुहुन्थ्यो ।

त्यस्तै एमालेका महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाट चुनाव हार्नुभयो । पार्टीको उच्च तहको जिम्मेवारीमा रहनुभएका पोखरेललाई सत्ता गठबनधनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्री नेता रेखा शर्माले हराउनुभयो । शर्माले २६ हजार ८७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६८० मत पाएर १९७ मतान्तरले पराजित हुनुभयो । पूर्व सञ्चार मन्त्री र पूर्व मुख्यमनत्री समेत भैसक्नुभएका पोखरेल ओलीकै नजिक रहेर सत्ता र पार्टीभित्र पटक पटक अवसर पाइसक्नुभएको छ । उहाँको पराजयले ओलीलाई सत्ता यात्रामा चुनैति थपिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

अध्यक्ष ओलीको सबैभन्दा प्रियपात्र बनेका नेता महेश बस्नेत पनि यो पटक संसद छिर्न पाउनुभएन । युवासंघको नेतृत्वमा आँउदादेखिनै ओलीका हरेक राजनीतिक गतिविधिलाई नजिकबाट साथ दिदै आउनुभएका बस्नेतले भक्तपुर क्षेत्र नं. –२ बाट पराजय व्यहोर्नुपर्यो । उहाँले २०७० मा चुनाव हारे पनि २०७१ भदौदेखि २०७२ असोजसम्म उद्योगमन्त्री भएर काम गर्नुभएको थियो । २०७४ को आम निर्वाचनमा एमाले–माओवादी केन्द्र वाम गठबन्धन भएको समयमा भक्तपुर–२ क्षेत्रमा कांग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई पराजित गर्नुभएको थियो । बस्नेत अहिले सोही निर्वाचन क्षेत्रबाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता दुर्लभ थापासँग पराजित हुनुभयो । थापाले २३ हजार ५०० मत पाउँदा बस्नेतले २२ हजार ६७७ मत पाउनुभएको छ । संसदमा बस्नेतको अनुपस्थितिले केपी ओलीलाई सत्ता निर्माणको संसदीय खेलमा घाटा पुग्ने भएको एमालेकै नेताहरु बताउँछन् ।

ओलीका अर्का विश्वास पात्र प्रदेश नम्बर–१ का पूर्व मुख्यमन्त्री तथा पूर्व सञ्चारमन्त्री शेरधन राईलाई यो पटक संसद छिर्न नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले रोक लगाउनुभयो । भोजपुरबाट सत्ता गठबन्धनका साझा उम्मेदवार किरातीले १९ हजार ४८५ मत लिएर निर्वाचित हुँदा शेरधनले १७ हजार ५८१ म्त पाउनुभयो । पार्टी अध्यक्ष ओलीले गरेका हरेक निर्णयका पक्षमा खरो उत्रने राईले प्रदेशको नामाकरण समेत गर्न नसकेको आरोप खेप्दै आउनुभएको थियो । उहाँले ओलीकै आडमा बसेर पार्टी भित्र र सत्तामाको स्वाद पटक पटक लिएर नागरिकउत्तरदायि भन्दा बढी ओलीप्रति उत्तरदायि बन्ने गरेको एमालेकै एकाथरि कार्यकर्ताहरुले आरोप लगाउदै आएका थिए । पार्टी अध्यक्ष ओलीलाई विदेश विभागसँग सम्बन्धीत सबै काम धानेर बस्नुभएका राजन भट्टराई पनि यो संसदमा नदेखिने भएका छन । भट्टराले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग भारी मतान्तर सहित पराजित हुनुभयो । थापाले २१ हजार ३०२ मत ल्याउदा एमालेका भट्टराइले १३ हजार ८५५ मत पाउनुभएको थियो ।

संसदमा राजन भट्टराईको अनुपस्थितिले केपी ओलीलाई सत्तासहयात्राकाक्रममा बैदेशिक कुटनितीक मामला सहयोगको आवशयकता खड्कीने अवस्था आएको छ । त्यस्तै खोटाङबाट विशाल भट्टराईको परायले पनि ओलीलाई घाटा पुगेको छ । संसदमा ओलीका पक्षमा कडा उत्रने पात्र मध्य विशालपनि एक हुनुहुन्थ्यो । उहाँले खोटाङबाट प्रतिनिधिसभा सदस्यमा गठबन्त्रधनका साझा उम्मेदवार माओवादी केन्द्रका राजकुमार राईसँग पराजित हुनुभयो । राईले ३१ हजार ३५१ मत ल्याउदा भट्टराइले २८ हजार ६८ मत पाउनुभएको छ । ओली निकट मानिने अर्का नेता ऐन महर पनि बझाङबाट आउनुभएन । उहाँलाई गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीले पराजित गर्नुभयो । जोशीले २८ हजार १४३ मत ल्याउदा महरले २७ हजार १४५ मत पाउनुभएको छ । ओलीका विश्वास पात्रसँगै पार्टी सचिव लेखराज भट्ट, सुरेन्द्र पाण्डे लगायत पदाधिकारीहरु समेत यस पटक संसदमा आउन सक्नुभएन । यसले एमालेलाई संसदीय उपस्थितिमा कमजोर बनाउनुका साथै सरकार गठनमा समेत असर पर्ने देखिएको छ ।

यो निर्वाचनमा एमाले नेतृत्व तहमा बसेका प्राय नेताहरुले हार्नुको पछाडि पार्टी अध्यक्ष ओलीको एकाधिकारबाद भएको स्वयम एमाले कार्यकर्ताहरु नै बताउँछन् । यद्यपी ओलीलाई नजिकबाट सहयोग गर्ने, उहाँका सबै निर्णयलाई पार्टीपंतिमा हुबहु कार्यन्वायन गराउन निरन्तर लागि पर्ने र पार्टी भित्र र बाहिरका प्रतिपक्षहरुलाई तल्लोस्तरम झरेर आलोचना गर्ने गोकुल बाँस्कोटा र सूर्य थापाले चुनाव जित्नुभएको छ । ओलीलाई आगामी संसदमा थापा र बाँस्कोटा लगायतका केही पात्रले सहयोग गरेपनि महत्वपूर्ण र विषयगत क्षेत्रमा दख्खल राख्ने ओलीका मुख्य पिल्लरहरुनै ढलेपछि ओलीलाई आगामी सत्ता समिकरणमा समेत असर पर्ने देखिन्छ ।

यसरी ओलीका पक्षमा बलियो उभिने नेताहरुको पराजयले आगामी सदन र सरकारमा ओलीलाई चुनौति थपिएको राजनीतिक विश्लेषक शंकर तिवारीले बताउनुभयो । विगतमा सर्वभौम संसदमा देखिएको ओली प्रबृतिलाई मलजल गर्ने एमालेका नेताहरुलाई जनताले यसपटक अनुमोदन नगरेर ओलीलाई पनि सच्चिने मौका दिएकाले यो जनअभिमतलाई ओलीले कार्यशैलि परिवर्तनको अवसरको रुपमा लिनुपर्ने तिवारीको सुझाव छ ।

 

प्रतिक्रिया दिनुहोस्