औषधिले काम गर्न छोड्यो ? कमजोरी ओखतीमा कि आहारमा ?



काठमाडौं ।

यो बेला रुघाखोकी सामान्य बनेको छ । रुघाखोकीका बिरामीसँग कुरा गर्दा पहिला सेवन गर्नेगरेका औषधिले काम नगरेको र पीडाका अनुभवहरू पनि बढेको बताउँछन् ।

‘डाक्टरलाई जँचायो, एन्टिबायोटिक दिन्छन्, एकपटक ठीक हुन्छ, तर अर्कोपटक त्यही एन्टिबायोटिकले काम गर्दैन’ बनेपाकी ६० वर्षीया लक्ष्मी श्रेष्ठ भन्नुहुन्छ– अहिले नाक कम बग्ने तर गर्धनका नसाहरू टनटन दुख्ने, पिनासजस्तो फोहोर आउने हुन्छ, रुघाको रूप नै फेरिएको हो कि !

आज राष्ट्रिय निर्वाचन, आजै प्रतिजैविक प्रतिरोध (एन्टी माइक्रोबियल रेजिस्टेन्स) दिवस पनि परेको छ । निर्वाचनसँगै जोडिएको यसवर्षको दिवस नेपालमा भने कागजमा मात्र सीमित भएको सहभागीहरूको बनाइछ ।

प्रतिजैविक प्रतिरोध विगत केही दशकदेखि विश्वव्यापी जनस्वास्थ्य चुनौतीको रूपमा देखा परेको विज्ञहरूको भनाइ छ । यस जटिल समस्याले गर्दा हाल उपलब्ध एन्टिबायोटिक्सलगायतका एन्टिमाइक्रोबियल औषधिहरूको प्रभावकारिता कमी हुँदै गएको उनीहरू जानकारी गराउँछन् ।

मानिस, पशुपंक्षी तथा वनस्पतिका संक्रामक तथा सरुवा रोगहरूका जीवाणु विरुद्ध प्रयोग हुने यी औषधिहरूको समुचित प्रयोग नहुनाले प्रतिरोध विकास भई संक्रामक रोगहरूको उपचारमा बाधा उत्पन्न भएको विज्ञहरूको भनाइ छ । यसको कारण वर्षेनी करिब सात लाख मानिसहरूको मृत्यु भइरहेको र यसको नियन्त्रणको लागि ठोस कदमहरू नचाल्ने हो भने यो संख्या बढेर सन् २०५० सम्ममा वर्षेनी एक करोड पुग्ने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ ।

प्रतिजैविक प्रतिरोधको बारेमा सचेतना अभिवृद्धि गर्दै रेजिस्टेन्स नियन्त्रणको लागि असल अभ्यास अपनाउन प्रोत्साहन गर्ने ध्येयका साथ हरेक वर्ष नोभेम्वर १८ देखि २४ तारिखसम्म विश्व एन्टिमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताह विश्व स्वास्थ्य संगठन, विश्व खाद्य तथा कृषि संगठन, विश्व पशु स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको संयुक्त आह्वानमा मनाइने गरिन्छ ।

यस वर्ष विश्व एन्टिमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताह यही मङ्सिर २ देखि ८ गतेसम्म पर्ने हँुदा यसै सन्दर्भमा नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयोजकत्वमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको सहकार्यमा विश्व एन्टीमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताह ‘सबै क्षेत्र जुटौं, प्रतिजैविक प्रतिरोध रोकथाम गरौँ’ भन्ने मूल नारामा आधारित भई विभिन्न कार्यक्रमहरू सञ्चालन गरी मनाईंदैछ ।

यसले मानवीय क्षतिका साथै विश्वभरि करिब एक सय खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति हुन सक्ने र यसको प्रत्यक्ष असर नेपालजस्तो विकासोन्मुख देशहरूमा पर्ने विश्व स्वास्थ्य संगठनले चेतावनी समेत दिएको छ । नेपालमा वर्षेनी एक अर्व अमेरिकी डलर बराबरको एन्टिबायोटिक्स आयात हुन्छ जुन कुल औषधि आयातको ३० प्रतिशत हो । नेपाली बजारमा करिब ३ सय ६५ ब्राण्डका एन्टिबायोटिक औषधिहरू उपलब्ध छन् र देशभित्रै लगभग ५० कम्पनीले एन्टिबायोटिक औषधि उत्पादन गर्छन् ।

गाईवस्तु, सुँगुर र कुखुरा वृद्धि र उत्पादन घाटा कम गर्ने उद्देश्यले एन्टिवायोटिकको चरम दुरूपयोग गरिनेगरेको विज्ञहरूको भनाइ छ । यसरी प्रयोग गरिने खुराकहरूले प्रतिरोधी जीवाणुहरू सिर्जना गर्ने सम्भावना हुन्छ जुन मानिसहरूमा समेत सर्नसक्ने विश्व स्वास्थ्य संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अझै पनि दुग्धविकास फार्महरूमा एन्टिबायोटिकको सुरक्षित र न्यायोचित प्रयोग हुन सकेको छैन जसले गर्दा यस्ता मासु र दूधजन्य पदार्थको उपभोगले जनस्वास्थ्य जोखिम उच्च रहेको छ ।

प्रतिक्रिया दिनुहोस्