आफ्नो भित्रैबाट आएको क्रोधलाई कसरी नियन्त्रण गर्ने ?



आज यो संसार क्रोधलाई आफ्नो काबुमा राख्न चाहन्छ । क्रोधलाई हामी कसरी नियन्त्रण गर्न सक्छौँ ? रिस उठेपछि मानिसहरूको मुखबाट आफूले कहिल्यै भन्नै नचाहेको कुरा फुत्किन्छ । त्यसपछि यस्तो काम गर्न पुग्छन्, जुन उनीहरू कहिल्यै गर्न चाहेकै हुँदैनन् । यसको अर्थ मानिसलाई रिस उठेपछि आफूले आफूलाई नै बिर्सिन्छ । त्यो त एउटा त्यस्तो समय हुन्छ, जतिखेर मानिसले आफ्नो सन्तुलनलाई गुमाएको हुन्छ । यस्तो परिस्थितिमा केही बोल्नुभन्दा पहिला एक क्षण सोच्नु नै उत्तम हुन्छ ।

क्रोधलाई बुझ्ने हो भने क्रोधले कहिल्यै ‘आउँदै छु’ भनेर आउने पनि होइन । यदि आयो भने त आइहाल्यो ! जब ‘म क्रोधित भएको छु’ भन्ने थाहा हुन्छ तबसम्म त रिसले आफ्नो काम गरिसकेको हुन्छ । अब त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ ?त्यसको एउटा तरिका छ ! तपाईँ आफ्नो घरमा चोर भित्र नआओस् भनेर के गर्नुहुन्छ ? त्यसका लागि व्यवस्था मिलाउनुहुन्छ । आफ्नो घरको झ्याल–ढोका बन्द गर्नुहुन्छ, झ्यालमा जाली लगाउनुहुन्छ, ढोकामा छेस्किनी लगाउनुहुन्छ या बाहिर पर्खाल लगाउनुहुन्छ ! यी सबै व्यवस्थापन हाम्रो घरलाई सुरक्षित राख्नका लागि गरेका हुन्छौँ । यदि तपाईँले आफ्नो जीवनमा दयाको पर्खाल लगाउनुभएन भने क्रोध त आफसे आफ आउनेछ ! अझ आनन्दरूपी जाली लगाउनुभएन भने त क्रोध आपैmँ आउँछ !

दया तपाईँभित्र छ ! तर, दयाका बारेमा कसैले कुरा गर्दैन । दयालाई अघि सार्नुहोस् जसले गर्दा रिस उठ्यो भने पनि भित्र आउन दिँदैन ! क्रोधलाई हटाउने विधि सृष्टिकर्ताले हरेक मानिसका लागि तय गरिदिएका छन् । अज्ञानतालाई हटाउनका लागि ‘ज्ञान’ को आवश्यकता पर्दछ, क्रोधलाई हटाउन प्रेम, माया र दयाको आवश्यकता पर्दछ ।क्रोध तपाईँभित्रैबाट आउँछ अनि दया पनि तपाईँभित्रबाटै उत्पन्न हुन्छ । प्रेम पनि तपाईँभित्र छ अनि घृणा पनि तपाईँभित्रै छ । यथार्थमा कुनै पनि यस्तो समय हुँदैन जतिखेर तपाईँमा यी दुवैमध्ये कुनै एकको अभाव होओस् । तपाईँ जहाँ जानुभए पनि, तपाईँले जे गर्नुभएको भए पनि यी दुवै कुराहरू तपाईँभित्र सदैव रहन्छन् । यद्यपि तपाईँ कुन चीजलाई अघि बढ्ने मौका दिनुहुन्छ भन्ने कुरामा तपाईँ नै जिम्मेवार हुनुहुन्छ ।

हामीलाई त के लाग्छ भने यदि हामीले कोठामा छेस्किनी लगाइदियौँ भने हामी एक्लै हुन्छौँ । त्यसपछि कोही पनि आउन सक्दैन । तर, हामीलाई के थाहा छैन भने काम, क्रोध, मोह, लोभ यी सबै हामीसँगै आइसकेका छन् । हामीसँग ती कुरा पनि आइसकेका हुन्छन् जसले हामीलाई हानि पु¥याउँछन् तर ती चीज पनि आइसकेका हुन्छन् जसको उपस्थितिले हाम्रो भलाइ हुन्छ ।तपाईँ रिसाउँदाखेरि तपाईँको शरीरलाई नोक्सान हुन्छ । अनि, तपाईँ खुशी हुनुहुन्छ भने तपाईँको शरीरमा कुनै नोक्सान हुँदैन । यदि तपाईँको शरीरलाई नोक्सान नहोओस् भन्ने चाहना राख्नुहुन्छ भने यसको अर्थ तपाईँ क्रोधित हुनुको सट्टा प्रसन्न हुनु नै उत्तम हुन्छ ।

‘आफूले आफूलाई चिन्नुहोस्’– यो किन पनि आवश्यक छ भने तपाईँलाई दयाको भण्डारआफूभित्रै छ भन्ने थाहा हुनुपर्छ । यो कुरालाई बुझ्नका लागि तपाईँले स्वयंलाई चिन्नु आवश्यक छ । जबसम्म यो कुरा बुझ्नुहुन्न तबसम्म मसँग के–के छन् ! मेरो औजार के हो भनेर थाहा हुँदैन !
यो समस्यालाई हल गर्नका लागि, यो युद्धमा लड्नका लागि मसँग पहिलादेखि नै के–के उपकरण छन् ? तथापि, मानिसहरू मसँग यो समस्यामाथि विजय हासिल गर्नका लागि केही पनि छैन भनेर पहिल्यै हार मान्छन् ।तपाईँसँग लड्नका लागि ज्ञान छ । तपाईँसँग यो अँध्यारोलाई हटाउनका लागि तपाईँको हृदयमा प्रकाश पनि छ । तपाईँलाई जे–जे चाहिएको छ ती तपाईँभित्रै छन् । तर, यदि तपाईँ आफूले आफूलाई चिन्नुहुन्न भने त तपाईँलाई आपूmसँग के–के छन् भनेर थाहा नै हुँदैन !

यदि तपाईँ आफ्नो जीवनलाई थोरै भए पनि बदल्न चाहनुहुन्छ भने केवल तीन सेकेन्ड सोच्नुहोस् । काम गर्नुभन्दा पहिला केवल तीन सेकेन्ड सोच्नुहोस्– ‘म के गर्न लागिरहेको छु ।’ त्यसपछि जे गर्नुपर्ने हो त्यो गर्नुहोस् । किनभने, क्रोध पनि तपाईँसँगै छ अनि क्षमा पनि तपाईँकै साथमा छ । तीन सेकेन्डमा तपाईँ छान्न सक्नुहुन्छ– क्रोध चाहिन्छ कि क्षमा ! क्षमाले प्रेम ल्याउँछ । प्रेमले उज्यालो ल्याउँछ । उज्यालोले आनन्द ल्याउँछ, केवल तीन सेकेन्डमा ।
हाम्रो छेउछाउमा जे–जे भइरहेका हुन्छन्, त्यसबाट हामी प्रभावित हुन्छौँ ।

हाम्रो इच्छा अनुकूल कुनै कुरा भएमा हामीलाई खुशी लाग्छ । जब इच्छा विपरीत कुराहरू हुन्छन् तब हामीलाई दुःख महसुस हुन्छ । प्रकृतिले त जे गर्दै आइरहेको छ र जे गर्नुपर्ने हो त्यही गरिरहेको हुन्छ । पृथ्वी घुमिरहेको छ । सूर्य उदाउँछ । चन्द्रमा चम्कन्छ । यो क्रम चलेको पनि हज्जारौँ–करोडौँ वर्ष भइसकेको छ । रात पनि पर्छ अनि उज्यालो पनि हुन्छ । यथार्थतः मान्छे यस पृथ्वीमा आउँछ अनि एकदिन यहाँबाट जानुपर्ने हुन्छ । तर, मानिस हुनुको अर्थ के हो ? मानिस व्यस्त छ किनकि उसले जागिर खानु छ ।

नोकरी गर्नुपर्ने कारण के हो भने उसलाई घर चाहिएको छ, खाद्यान्न चाहिएको छ अनि यी सारा चीजका लागि उसले काम गर्नुपर्छ । धन कमाउनुपर्छ, किनभने त्यही धनबाट उसले खाद्यान्न, घर, कपडा यी सबै चीजहरू किन्न सक्छ । अनि, यो संसारमा मानिसहरू यो नै सबैथोक हो भनेर हिँडिरहेका छन् । तथापि, मानिस यो संसारमा आउनुको तात्पर्य के यही नै हो– मानिस यस संसारमा आएर जागिर खाओस्, धन आर्जन गरोस् अनि धनको अभावलाई पनि महसुस गरोस् ! यो मानिसको शरीर किन पाइएको छ ? यसबाट के गर्नुहुन्छ ? यो कस्तो साधन हो ? केलाई हामी आनन्द भन्न सक्छौँ ! यो संसारमा सबैले जे गरिरहेका छन् अर्थात् सबैले गरिरहेका छन् भन्दैमा राम्रो हुन्छ भन्ने पनि होइन ।

यो मानिसको शरीर प्राप्त हुनुको कारण के हो ? यी सबै कुरा भएपछि पनि मानिस किन खुशी छैन ? एउटा सानो भाइरस जसले यो पूरै संसारमा विध्वंस मच्चाएको छ । यस्तो किन भयो ? ठूला–ठूला देशलाई तहसनहस बनाएर राखेको छ । यसर्थ प्रश्न के उठ्छ भने सबै कुरा भएपछि पनि मानिस शक्तिशाली हो या कमजोर ? जब मानिसले आफ्नो गुणलाई नै बुझ्दैन भने ऊ कमजोर नै साबित हुनेछ, किनकि जुन चीजमा मानिस समर्पित छ त्यसका लागि उसको सृष्टि भएको होइन । यो कोरोना भाइरस आएपछि सरकारले के भन्यो, ‘आइसोलेसनमा बस’ । ‘आइसोलेसनमा बस्नु’ को अर्थ ‘बाहिर नजानुहोस्, आफ्नो घरमा बस्नुहोस् ।’ तर, मानिसहरू घरमा बस्न सक्दैनन् । जब घरमा बस्नु नै छैन भने त घर केका लागि बनाइन्छ ! घर त यसकारण बनाइन्छ किनभने त्यो आवश्यक छ । मानिस आफूसँग बस्न सकिरहेको छैन ।

उसको अरूसँगै बस्ने इच्छा छ । अरूसँग उठबस गर्नु उसका लागि ठीक छ । अरूसँग गफगाफ गर्ने कुरालाई मानिसले राम्रो मान्छ । यी सबै कुराहरूका बाबजुद मानिसले जुन अभाव महसुस गरिरहेको छ त्यो यसकारण भइरहेको छ किनभने उसले आफूले आआफूलाई नै चिन्दैन । यदि उसले आफूले आफूलाई चिनेका भए उसलाई यी चीजसँग डर लाग्ने थिएन । यी सबै चीजहरू हुँदाहुँदै पनि ऊ आफ्नो साथमा रहन सक्छ । जब तपाईँले आफूले आफूलाई चिन्नुहुनेछ तब तपाईँलाई तपाईँको गुणका बारेमा थाहा हुनेछ । किनभने, तपाईँभित्र करुणा पनि छ र दया पनि छ । खुशी हुने गुण पनि तपाईँभित्रै छ । मानिसलाई त के लाग्छ भने यो दुनियाँले हामीलाई दुःखी तुल्याइरहेको छ तर यस्तो पनि होइन । दुःख पनि तपाईँभित्र छ अनि सुख पनि तपाईँभित्र छ । संसारसँग यसको केही सम्बन्ध छैन । ‘सुख पनि हामीभित्रै छ अनि दुःख पनि हामीभित्रै छ’ भन्ने कुराका बारेमा थाहा पाएर यसलाई पूर्ण रूपले स्वीकार गरेपछि तपाईँले दुःखी हुनु आवश्यक हुँदैन ।

तपाईँभित्र भएको चीजलाई खोज्नुहोस् जसबाट तपाईँ खुशी हुन सक्नुहोस् । हाँसो पनि तपाईँभित्रै छ अनि रोदन पनि तपाईँभित्रै छ । तपाईँलाई त के लाग्छ भने यी सबै कुरा बाहिरबाटै आउँछन् । जुन दिन तपाईँ यी कुराहरू बाहिरबाट आउँदैनन्, तपार्इँभित्रै छन् भन्ने कुरा बुझ्नुहुन्छ, जुन दिन तपाईँलाई कसैले बाहिरबाट दुःखी तुल्याउने होइन, तपाईँ स्वयंले आफूले आफूलाई दुःखी तुल्याइरहनुभएको छ भन्ने कुरालाई बुझ्नुहुन्छ, त्यस दिन तपाईँको संसार नै बदलिनेछ । त्यसपछि तपाईँले संसारलाई पहिलाको नजरले हेर्नुहुनेछैन । तपाईँभित्र बस्नुभएका (सृष्टिकर्ता) सँग मित्रता गाँस्नुहुनेछ । यसको अर्थ बाहिर तपाईँका साथीभाइ हुँदैनन् भन्ने पनि होइन । हुन्छन्, तर तिनीहरूबाट कस्तो अपेक्षा गर्नुहुन्छ, त्यो कुरा फेरिनेछ । अनि, कुनै पनि कारणले सबै चीजलाई छोडेर यदि तपाईँ आफ्नै साथमा रहनुभयो भने तपाईँ त्यसका लागि दुःखी हुनुहुनेछैन । चाहे त्यो कुनै बाध्यता होओस् या कोरोना भाइरस होओस् या अन्य केही होओस् ।

यो बुझ्नुपर्ने कुरा हो । आफ्नो गुणलाई बुझ्नुहोस्, तपाईँको वास्तविक गुण के हो ! आफूले आफूलाई चिन्ने कोशिश गर्नुहोस् । यदि आफूले आपूmलाई चिन्नुभएन भने त जे भइरहेको भए पनि त्यो कुरालाई तपाईँले बुझ्नुहुनेछैन । यो समय आफूमा धैर्यता राखिरहनुपर्ने समय हो । आफूभित्र शान्ति कायम गर्नुहोस् । बाहिर त जे भइरहेको छ, त्यो भइरहेकै छ । तपाईँलेआफूभित्र शान्ति यथावत् राख्नुहोस् । नडराउनुहोस् । डरलाई आउन दिनुहुँदैन । यो समय पनि बित्नेछ । आनन्द लिनुहोस् । तपाईँभित्र यो श्वास आइरहेको छ । यसलाई बुझेर यसको पूर्ण रूपले फाइदा उठाउनुहोस् अनि आफ्नो वास्तविक गुणलाई चिन्नुहोस् ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्