देश पुरानै रबैयाले चले चाँडै विद्रोहको सङ्केत



यसपटक हुन गइरहेको आम चुनावबारे आम नेपालीबीच धेरै खालका अड्कलबाजीहरु हुँदै छन् । हरेक राजनीतिक दलका हुन् कि स्वतन्त्र उम्मेदवार हुन्, उनीहरु आ–आफ्नो राजनीतिक दलको वर्चश्व जम्ने कुराको धाक लगाउँदै हिँडेका पनि पाइन्छन् ।

यसै सन्दर्भमा आ–आफ्ना क्षेत्रका मतदातालाई फकाउन र आफ्ना पक्षमा पार्नको लागि कसैले फोन गरेर सम्झाउँदै छन् त कतिले घरदैलो कार्यक्रम गरेर पनि आफ्ना पक्षमा मतदान गर्न फकाइरहेका छन् । धेरैजसो मतदाताले उनीहरु सबैलाई मत दिऔँलाको आश्वासन बाँडेर पठाएका छन् । चुनावको दिन मंसिर ४ गते के मन आउँछ त्यसै गरौँला भन्ने सोचमा पनि धेरै मतदाता रहेका छन् ।

विशेष गरेर बूढो पुस्ताका मतदाताले विगतदेखि जुन राजनीतिक दलमा विश्वास गर्दै मतदान गर्ने काम गरेका वा गर्दै आएका छन् भने यो पटकको मतदानमा पनि त्यही क्रम दोहोरिने कुरा निश्चितै छ । मनमा जित्छु भन्ने कुनै निश्चित आधार नभएका उम्मेदवारसमेत आफूले नै जित्ने हाँक लाउँदै हिँडेका छन् । हिजोका दिनमा सत्ताको तर मार्न भ्याउने र आज पनि अनेक षडयन्त्र गरेर भए पनि चुनावमा विजयी बन्ने सपना देखेका धेरै उम्मेदवारसमेत यसपटकको चुनावी मैदानमा भीडन्त गर्न खोज्दै छन् ।

हरेक चुनावमा अमुक राजनीतिक दलको जित हुन वा हार हुनमा मतदाता र चुनावमात्र पर्याप्त आधार होइन । यसका लागि जसले जनपक्षीय माहोल सिर्जना गरेर चुनावमा जान सक्छ उही उम्मेदवार विजयी बन्न सक्छ भन्ने कुरा यथार्थ हो । अहिले राजनीतिक दलका पुराना नेतालाई पाखा लगाएर स्वतन्त्र उम्मेदवार बनेका वा तिनै राजनीतिक दलका अलि इमानदार र कम्तीमा वृद्धावस्थामा प्रवेश नगरेका उम्मेदवारको खोजी छ ।

उनीहरुका अनुसार अब बूढा नेताहरुले युवावर्गका जसरी सबैतिरको समानान्तर उन्नतिको खाकालाई मार्गदर्शन गरेर दू्रत गतिमा अगाडि बढाउन नसक्ने हुनाले इमानदार युवावर्गले राजनीतिलाई बेवास्ता गर्नुको साटो सक्रियताका साथ राजनीतिमा लागेर नेपालको समग्र राजनीतिक मूल्य, मान्यतालाई एउटा नौलो र सही मार्गमा दौडाउन सक्नुपर्ने मानसिकता बनाइसकेको अवस्थामा छन् । विभिन्न राजनीतिक दलका युवा नेताहरुबाट त्यो काम होला कि भनेर सोचिएको र युवालाई अग्रसर हुन आम जनताका तर्फबाट आह्वानसमेत गरिएकै थियो ।

यति भएर पनि जुनसुकै राजनीतिक दलका युवा नेता भनाउँदाहरुको त्यो क्षमता नभएरै हो वा आ–आफ्ना अभिभावकीय नेतृत्वको बचन काट्न नसकेर हो वा युवा नेता आफैँ दिगभ्रमित भएर हो, अपेक्षितरुपमा काम हुनै सकेन । बरु त्यसको साटो युवा नेतृत्वसमेत नातावाद, कृपावाद, पैसावाद आदिको रछ्यानमा डुबुल्की मार्न थाल्यो । यो आरोप नेपालको कुनै एउटा राजनीतिक दल वा राजनीतिक सङ्गठनलाई लक्षित गरेर भनिएको होइन ।यसरी हरेक राजनीतिक दलभित्रको युवा नेतृत्व पुराना र वृद्ध नेतृत्वजस्तै लोभ, मोहको जालोमा फस्न पुगेपछि निराश बनेको युवावर्ग अहिलेको राजनीतिक वृत्तमा फाट्टफुट्टरुपमा देखा पर्दै गरेको र पुरानो, वृद्ध नेतृत्वलाई भत्र्सना गर्दै आदर्श राज्यको नक्साङ्कनसहित चुनावी मैदानमा उत्रेको युवा उम्मेदवारको आगमनले थोरै भए पनि खुशी ल्याउनुका साथै भविष्यमा हाम्रो देशको बिग्रेर वा कुहिएर गन्हाउँदै गरेको राजनीतिले चाँडै नै सफा, स्वस्थ र जीवन्त बन्न मौका पाउला भन्ने अपेक्षा परिवर्तनकामी हरेक युवावर्गमा बढेर जान थालेको छ । राजनीतिको नरङ्गमा यो एउटा सकारात्मक पाटो अवश्य नै हो ।

आउँदो आम चुनावपछिका दिनमा आम नेपाली युवाका अपेक्षा पूरा गर्न नसक्ने र केवल सत्ताको अधिकार आफूले मात्र लिन खोज्ने प्रवृत्ति हाबी भएर जान थालेको खण्डमा अब हुँदै गरेको चुनावपछिको माहोल धेरै दिन बनिन वा कायम रहन सक्नेछैन । फेरि पनि बूढो र पुरानो पुस्ताकै वर्चश्व रहने गरी राजनीतिक गठबन्धनको सरकार बन्न पुगेको खण्डमा सो गठबन्धित सरकारले अहिलेको चुनावपछि बढीमा एक वर्ष वा डेढ वर्षभन्दा अधिक समय टिक्न सक्ने क्षमता गुमाउनेछ । यसले गर्दा पुरानो पुस्ताप्रतिको युवाको आक्रोश अझै चुलिएर जानेछ ।

त्यसपछिको अवस्था अहिने नै आँकलन गर्न सकिँदैन । आखिर चुनावको समयमा जे–जस्ता आकर्षक नारा पस्केर भोट फकाए पनि पुरानै नेतृत्वको वर्चश्व रहेका खण्डमा उसलाई आफूभन्दा महान् यो संसारमा कोही पनि छैन होला भन्ने घमण्डले केही समय सताउन थाल्छ । त्यसपछिका दिनमा आफूलाई सर्वेसर्वा ठान्ने नेतृत्वले विगतमा आम जनमतको बेपर्वाह गरेर जसरी एमसीसी पास गराउने, मान्छे मार्ने अपराधीलाई जेलबाट निकालेर पार्टीको सदस्य र उम्मेदवार बनाउने खराब हर्कत ग-यो अहिले पनि तिनै विनाअर्थका हर्कतहरु दोहोरिन र तेहरिन थाल्नेछन् ।

अहिले गठबन्धन गरेर आ–आफ्ना सामूहिक स्वार्थ पूरा गर्नको लागि गरिएको गठबन्धनका बीचमा दरार पैदा हुन थालेपछिका दिनमा कुकुर–बिरालाको जसरी यिनका बीचमा कुटामार हुन थाल्नेछ । यसरी अहिलेको गठबन्धन ध्वस्त भएपछिका कालखण्डमा गठबन्धनकै कुनै टुक्राले सत्ताले गरेका कुकर्मको भण्डाफोर गर्न बाध्य बन्ने त नभनौँ आफ्ना स्वार्थ पूरा गराउने अस्त्रको रुपमा उपयोग हुनेछ ।पुरानै सत्ताको गठबन्धनको अर्को कमजोर पक्ष के रहनेछ भने, विगतको शासनसत्तामा रहँदा राज्यको ढुकुटी मासेर जसरी अनियमित कार्य गर्न पल्केका छन् र थिए, त्यसलाई अझै बढी लुकाइछिपाइ र होसियारीका साथ अवलम्बन गर्न पुग्नेछन् । चुनावमा आम जनतासमक्ष गरेका बाचाबन्धन यिनले पूरा गर्न सक्ने छैनन् । किनभने यिनसँग चुनावका बेला के–कस्ता बाचाबन्धन गरिएको थियो ? भन्ने कुराको हेक्का नरहन सक्छ र रहे पनि तिनलाई पूरा गर्ने कुनै बलियो आधारबेगरको आश्वासन मात्रै पस्केका थिए भन्ने कुरो त्यस बेला थाहा हुन्छ ।

देउवा सरकारले अहिलेको जस्तो चुनावी माहोल आफ्नो पक्षभन्दा टाढा जाला कि भन्ने कुरा यथार्थरुपमा बुझेको भए मंसिर ४ गतेको चुनावलाई अनेक बहाना बनाएर भए पनि स्थगन गर्ने प्रयासमा लाग्ने थियो । तर चुनावको मिति तय गर्दै गरेका बेला सत्ता पक्षको जनमत यसरी बिथोलिएर जाला र असमर्थनको घण्टी बज्ला भन्ने कुरा शायदै देउवाले सोचेका थिएनन् होला । फेरि प्रधानमन्त्री देउवाले यस्ता चुनाव कति पटक भोगिसकेर पचाइसकेका र अनेक तरहका हत्कण्डा अपनाउन सिपालु भइसकेका हुनाले जसरी भए पनि जनमत आफ्नो पक्षमा पार्न सक्छु भन्ने उनको भित्री आँतदेखिको कदर राखेरै यो प्रयास गरेका होलान् भन्न सकिन्छ ।

हाल सत्तामा रहेकाहरुले खानेकुरा पनि खाएका र नखाने कुरा पनि खाएकाले उनीहरुलाई पचाउन निकै गाह्रो परेकोजस्तो देखिँदै छ । यदि पचाउन सके र दिसा गरेर सके भने त ठीकै होला पचाउन नसकेर सबैले देख्ने गरी छेरौटी चलाउनुपर्ने वा छेरौटी चल्नुपर्ने दिन आएका खण्डमा कहाँको सत्ताको सपना कहाँको झुपडीको बास हुन पुग्ला कि भन्ने डरले पिरोलिइरहेका गठबन्धनका सबै टुक्राहरुको मनमा मंसिर ४ गते सम्पन्न हुन गइरहेको आम चुनावको दिनदेखि नै हल्का तरिकाले कुरीकुरी लाग्न शुरु हुनेछ । त्यत्रो दशबर्से युद्ध लडेर आएको राजनीतिक दलको त्यत्रो नाम कहलिएको नेताले गठबन्धनको नाममा आफ्ना जन्मै विरोधीहरुलाई जानी–जानी भोट हालेर कस्तो मनले फर्केला भन्ने चिन्तनको बीजारोपण हुनथाल्छ ।

मतदानकै बेलामा कि त थाङ्नामा सुताएर केटाकेटीलाई जसरी थुम्थुम्याएर बलजफत निदाउन लगाउनुप¥यो, कि त मुटु मिचेरै भए पनि तोकिएको वा सिङ्गो पार्टीले निर्देश गरेको चिह्नमा मतदान गर्नुको अर्को विकल्प के रहला र ? हुन त गठबन्धनका नाइके सबैलाई घिउ बेचुवा र तरबार बेचुवाको ठगी कथा थाहा नभएरै बसेका छैनन् होला । थाहा भएर पनि स्वाभिमानको बाध्यताले थिचेको खण्डमा आफ्नो स्वार्थ पूरा गर्न आएको वा गठबन्धनको प्रपञ्च रचना गर्ने दिमाग भएको जुनसुकै दलको भए पनि घिउ बेचुवा र तरबार बेचुवाको जस्तो ठग नीति अपनाउन खोज्नु स्वाभाविकै हुनेछ ।गठबन्धन बनाएर एकजुट हुँदै यिनले गरेका काम कुनै जनहित वा राष्ट्र वा समाजहितका लागि हुँदै होइनन् ।

केवल आफूले विगतमा गरेका अनेकतिरका अनियमित कदमलाई यथावत् राख्दै आम जनताको नजरबाट लुकाएर कायम राख्ने भन्ने प्रपञ्चमा अडेको छ । यसलाई ढाकछोप गर्नको लागि अनेक प्रकारका हरकत गर्न पनि उद्यत् रहनेछन् । यसरी अनेक प्रपञ्च गरेर जोगाएको वा लुकाएको कुराले उनीहरुभित्रको मानसिकतामा उन्मादको बीजारोपण गरेपछिका दिनमा गठबन्धन चुँडिएर धुजाधुजा मात्र हुनेछैन कि गठबन्धनका साझेदारका हरेक हर्कतको पर्दाफास हुन पुगेपछिका दिनमा आम जनताको उनीहरुमाथिको आक्रोश कसरी प्रकट होला र त्यस आवेग वा आक्रोशलाई यिनले कसरी लेलान् भन्ने कुरा पनि उत्तिकै महत्वको विषय हुनेछ ।

यदि आम चुनावमा गठबन्धनले विजय हासिल गरेर सत्ताको बागडोर सम्हाले पनि बाँकी सबैलाई सन्तुष्ट बनाउन नसकेका कारण एक–अर्काका खराब कामको एक–अर्काले पर्दाफास गर्दै जानुपर्ने बाध्यात्मक अवस्था आइपर्नेछ । यस अवस्थामा उनीहरुका गोप्यता स्वतः बाहिर छताछुल्ल हुनेछन् । त्यसपछि आम जनताको आक्रोश उनीहरुको विरुद्धमा खनिनुका साथै गठबन्धन हराएर जानेछ । त्यति भएर पनि सत्ताको मोहले नछाडेपछि सामान्य जनता सडकमा उत्रिएर विद्रोहको तयारीमा लाग्नुपर्ने अवस्था सिर्जना हुनेछ ।

जनताको यो विद्रोहलाई गठबन्धनकै असन्तुष्ट पक्षले समेत समर्थन गर्दै साथ दिन बेर लगाउने छैन । यी सबै कारणले गर्दा अबको चुनावले पुराना अरु जोसुकै वा गठबन्धनलाई विजयी बनाएर सत्तामा पठाउनुको साटो देश र जनताको लागि नौलो तरिकाले काम गरेर देखाउँछु, देशलाई उन्नतिको बाटोमा हिँडाउन सक्छु भनेर आधारसहितको रेखाचित्र कोरेर तयार भएको स्वतन्त्र उम्मेदवारले मात्र सत्ताप्राप्तिको सपना देख्नुपर्ने हुन्छ, पुराना र अक्षम नेतृत्वले किमार्थ होइन । चेतना रहोस् ।

प्रतिक्रिया दिनुहोस्