निर्लज्ज स्वयंसेवा



उफ् ! फेरि पनि चुनाव आउँदैछ ।
अघिल्लो चुनावमा
मतदान सकिएको साँझ
बादल पारीको गाउँदेखि खबर आएथ्यो,
म्हेमे पाराङ (दुई महिना पहिले) दिवङ्गत हुँदा
म्हेमेको बिदाइमा मानेडाँडासम्म
मलामी जानेहरुको संख्याभन्दा
चुनावको दिन मतदान केन्द्रमा
म्हेमेको नाममा फर्जी मतदान गर्न भनी
तँछाड ‐ मछाड गर्ने स्वयंसेवकहरु पो ज्यादा थिए ।

अस्ति भर्खरै त हो
गाउँपालिकाको सूचना पाटी हेर्दै टोलाईरहँदा
ती काला अक्षरहरुको अर्थ बुझाइदिने
कोही भेटेनन् जुठे काकाले
अनि गुज्रियो उनको नवजात छोरीले पाउने
दलित पोषण सुविधाको हद म्याद
तर मतदान केन्द्रमा
जुठे काकालाई मतदानमा सघाउन
तम्सिने स्वयंसेवकहरुको ज्यादै भिड छ ।

मूलबाटोको आडैमा बसाइ छ,
र पनि, ज्वरोले सिकिस्त हुँदा
बर्खाभरी झुपडी चुहिरहँदा
झुपडी छेवैको बाटो भएर हिँड्नेहरु
कसैले कहिल्यै सोधेन
डोल्मो आमग्रेनको सञ्चो विसञ्चो
बरु मतदान केन्द्रमा
आमग्रेनलाई मतदानमा सघाउन भनी
स्वयंसेवकहरुबीच घम्साघम्सी नै परेछ ।

शहरमा बेरोजगारीले पिल्सिएको बेला
खोई कसले पो सम्झियो र आले च्याङ्बालाई
परदेश जाँदा दलाललाई दिने दाम पनि
मुस्किलले जोहो गरेको हो उसले
पोहोर परदेश लाग्ने बेला,
डेराबाटै बिदाइ गरेकी हो
खादा ओढाएर उसकी जहानले
अनि बोकेर एक झोला सपना
अन्तर्राष्ट्रिय विमानस्थलसम्म
लोकल बसमै गएको हो ऊ ।

यहाँ कसैले कहिल्यै जरुरी ठान्दैन
परदेशिएका च्याङ्बाहरुको सोध ‐ खोज
अदालतले उहिल्यै एउटा फैसला गरेथ्यो
परदेशिएका ज्यो ‐ ज्यो आले नाना ‐ आङाहरुले
उतैबाट मतदान गर्न पाउने चाँजोपाँजो मिलाउनू भनेर
तर त्यसो गरिएन
अनि मतदान केन्द्रमा
आले च्याङ्बाको नाममा मात्रै
आधा दर्जन स्वयंसेवकहरुले आधा दर्जन जति नै पटक
मतदानको (कु)चेष्टा गरेको खबर पो आयो त गाँठे ।

कठै बरा हामी !
धिक्कार छ हाम्रो लोकतन्त्र !
अपार छ यहाँको (अ)व्यवस्था !
यो कस्तो बलजपm्ती,
निर्लज्ज,
तथाकथित स्वयंसेवा ?

प्रतिक्रिया दिनुहोस्