‘पाँच वर्ष समर्पित भएर काम गरें, जित्नेमा ढुक्क छु’



कृष्णगोपाल श्रेष्ठ जुझारु व्यक्तित्वका रूपमा आम नेपालीमा परिचित हुनुहुन्छ । आजको नेकपा एमालेमा कोअर्डिनेसन कमिटी र माले हुँदादेखि सक्रिय श्रेष्ठले आफ्नो दललाई आजको उचाइमा ल्याउन साँच्चिकै जुझारु च्रित्र देखाउनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा नेपाल सरकारको मन्त्रीका रूपमा समेत जिम्मेवारी समालेका श्रेष्ठ मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार हुनुहुन्छ । प्रस्तुत छ, उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश:

तपाईंको पार्टीको अध्यक्ष केपी ओलीले नै प्रतिनिधिसभा भंग गरेर संविधानविरुद्ध कदम चाल्नुभएको होइन ? दुई तिहाइको सरकार पार्टी विभाजन गरेर गिराउने काम पनि उहाँबाटै भएको हो नि ?

एकदमै गलत विश्लेषण । पार्टीलाई विभाजन गर्नु नपरोस् भनेर उहाँले तत्कालीन नेकपाका ठूला नेताहरु प्रचण्ड र माधव नेपालका सयौं असहयोगलाई अन्तिम बिन्दुसम्म पनि सहनुभयो । प्रचण्ड र माधव नेपाल समूहले सिर्जना गरेको राजनीतिक अस्थिरताका कारण सिर्जना भएको अन्योल अन्त्य गर्न जनतामा जाने, निर्वाचन गर्ने घोषणा कसरी असंवैधानिक र अलोकतान्त्रिक हुन्छ ? खासमा अध्यक्ष ओलीजस्तो देशभक्त नेपालीको उच्च सम्मान हुनुपर्छ । संविधान जारी भएपछि छिमेकी भारतले नाकाबन्दी लगाउने, नेपालका केही क्षेत्रीय राजनीतिक शक्तिलाई उठाएर अस्थिरता पैदा गर्नेजस्तो निन्दनीय कार्य गर्दा, ओलीज्यूको नेतृत्वमा रहेको सरकारले नै राष्ट्रिय भावनाका साथ अडान कायम गरेर मुलुकको स्वाभिमान बचाएको इतिहास सम्झिदिन म मतदाता महानुभावलाई अनुरोध गर्दछु । भारतीय भूमि हुँदै नेपाल आउने नाकाहरु अवरुद्ध गरिए चीनतिरका नाकाहरु विकल्पका रूपमा खुला छन् भनेर देशभक्तिको रक्तसञ्चार गरेको प्रधानमन्त्री रहेका ओलीज्यूले नै हो भन्ने सत्य बिर्सन सकिन्न । नाकाबन्दी नहटाएसम्म म भारत भ्रमण गर्दिनँ भनेर अडान लिने पनि उहाँ नै भएको यथार्थलाई पनि सम्झिनै पर्छ ।

कात्तिक १५ गते तपाईंको पार्टीले चुनावी घोषणापत्र २० ग्यारेन्टी बुँदाका साथ जारी गरेको छ । त्यसलाई त दिवासपना बाँडेको भनेर अन्य पार्टीबाट आलोचना भइरहेको छ नि ?

प्रस्ट छ, एमाले भिजनरी पार्टी हो । रेल, पानीजहाज र सुरुङमार्गका सम्भावना देखाउने र त्यसतर्फ कार्यक्रमका साथ अघि बढ्ने पार्टी केबल एमाले मात्र हो । एमालेले पाँच वर्ष काम गर्नपाएको भए यस क्षेत्रमा निकै काम गर्ने थियो । एकातिर पार्टी भित्रैबाट असहयोग, अर्कातिर कोरोना महामारी । केबल दुई वर्षमा एमालेले जति काम ग-यो, त्यति काम अरू कुनै दलले यति छोटो समयमा गरेको उदाहरण तपाईं पाउनुहुन्न ।रेल र पानी जहाज तथा सुरुङमार्गका सम्बन्धमा सपना देखाइएकै कारण मुलुक नयाँ युगमा प्रवेश गरेको सत्य कसैले बिर्सन मिल्दैन । हाम्रा २० ग्यारेन्टी केबल आश्वासन मात्र होइनन्, बलियोसँग गरिएका प्रतिबद्धता हुन् ।

यस्ता प्रतिबद्धता त अरूका पनि छन्, तर एमालेलाई नै मतदान गर्नुपर्ने आधार के हो ?
आज राष्ट्रिय राजनीति दुई ध्रुवमा बाँडिएको छ । राष्ट्रले कुन ध्रुव रोज्ने यस निर्वाचनले स्पष्ट फैसला गर्नुपर्नेछ । राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानको रक्षा कि बाह्य सम्बन्धमा गम्भीर विचलन र राष्ट्रिय हितमा आघात पु-याउने पक्षलाई भोट हाल्ने, मतदाताले सोच्नुपर्छ । राजनीतिक स्थायित्व कि सत्ता बाँडफाँडका नाममा अन्त्यहीन अस्थिरता र किचलो गर्ने पक्षलाई भोट हाल्ने, निर्णय लिनु छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको प्राप्ति कि सीमित नेताहरूको सत्तास्वार्थको परिपूर्तिका लागि योगदान दिने भन्ने विषयमा ध्यान दिने दिन मंसिर ४ हो ।

एमालेले विगतमा गरेका काम अन्य जुनसुकै दलको नेतृत्वमा बनेको सरकारले पनि गर्न सक्थ्यो, विशेष कामचाहिँ के ग-यो र ?
छोटो अवधिमै हाम्रो नेतृत्वमा संविधानको सफल कार्यान्वयन गरियो । प्रदेश र स्थानीय सरकारहरू गतिशील बने । संविधान निर्माण भएको तीन वर्ष र निर्वाचनको पहिलो वर्षभित्रै संघीयताको सफल कार्यान्वयनको यो उदाहरण विश्वमै नौलो हो । सिके राउत र नेकपा विप्लव समूहहरूलाई राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण प्रतिस्पर्धाको मूलधारमा आबद्ध गरियो । मुलुक हिंसात्मक द्वन्द्वबाट मुक्त भयो । संविधानप्रति असन्तुष्ट दलहरूसमेत सरकारमा सहभागी हुनु, संविधानको कार्यान्वयनमा सहमत बन्नु र संविधानको सर्वस्वीकार्यता स्थापित हुनु यस अवधिका उल्लेख्य उपलब्धि हुन् । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका नेपालका भू–भाग समेटेर नयाँ नक्सा प्रकाशन गर्ने अभूतपूर्व राष्ट्रिय सहमति जुटाउने कार्यमा जुन सफलता हासिल भयो, त्यो सब विशेष होइन ?

आर्थिक क्षेत्रमा एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा अघि सार्नुबाहेक विशेष के ग-यो र ?
एमालेले समृद्ध नेपाल सुखी नेपालीको नारा मात्र दिएको होइन, आर्थिक वृद्धिदर पनि हासिल ग-यो । सरकार निर्माणपछि लगातार सात प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्दै नेपालले विश्वको ध्यान आकर्षण गर्न सफल भयो । बाह्य लगानीमा ठूलो परिमाणमा वृद्धि भयो । निरपेक्ष र बहुआयामिक गरिबी दुवै उल्लेख्य रूपमा घटे । संयुक्त राष्ट्र संघबाट हाम्रो देशलाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस भयो । मानव विकास, शान्ति, खुसी, बहुआयामिक गरिबी, व्यावसायिक सहजता, लैंगिक समानता, दिगो विकासका लक्ष्यलगायत विश्वव्यापी सूचकहरूमा नेपालले उल्लेख्य सुधार ग-यो ।

खास गरी एमालेले पुनः सरकार बनाउने अवसर पाएमा आर्थिक दिशामा चाहिँ के गर्छ ?

हेर्नुस्, नेपाल कृषि प्रधान मुलुक हो । कृषिको व्यावसायीकरण नगरेसम्म नेपालको विकास सम्भव छैन । साना, मझौला तथा ठूला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गरिने हाम्रो चुनावी घोषणापत्रमा उल्लेख छ । त्यस्तै, पर्यटनमा आधारित सेवा क्षेत्रको विस्तार, नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ५ वर्षभित्र वार्षिक २५लाख पु-याइने, कुल गार्हस्थ उत्पादन जीडीपीलाई आगामी पाँच वर्षभित्र १ सय खर्ब रुपियाँ पु-याइने, नेपालीको औसत प्रतव्यिक्ति आम्दानी ३ लाख अथात् २ हजार ४ सय अमेरिकी डलर पु-याउने घोषणापत्रमै ग्यारेन्टी गरिएको छ ।

सामाजिक सुरक्षाका क्षेत्रमा एमालेको योजना कस्तो हुनेछ ?

किशोरी तथा महिलाका लागि सेनिटरी प्याडका लागि वार्षिक १५ सय दिने घोषणा गर्नासाथ युवा जमातले सामाजिक सञ्जालमा ट्रेन्डिङ नै गरेका छन् । एमाले वाहवाहीमा परेको छ । ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्तालाई वृद्धि गरिने, ज्येष्ठ नागरिकहरूको जीवनलाई सम्मानीत र सहज बनाउन नगर क्षेत्रका वडा र गाउँपालिकामा कम्तीमा एउटा राज्यले सुविधासम्पन्न केयर होम सञ्चालनमा ल्याउने, ज्येष्ठ नागरिक मिलन केन्द्रलाई ज्येष्ठ नागरिकहरूको ज्ञान, अनुभव र शिक्षाको संकलन तथा अन्तरपुस्ता हस्तान्तरणको काममा परिचालन गरिने हामीले घोषणापत्रमा उल्लेख गरेका छौं । त्यस्तै, सबै जातजाति, भाषाभाषी, लोपोन्मुख तथा सीमान्तकृत वर्ग र समुदायलाई सबै क्षेत्रमा निष्पक्ष र समान अवसरको ग्यारेन्टी गरिने छ । अपांगता भएका व्यक्तिहरूको हकहित संरक्षण, क्षमता विकास तथा रोजगारी एवं स्वरोजगारीका अवसर प्रदान गरिने हामीले ग्यारेन्टी गरेका छौं ।

खास गरी, काठमाडौंका जनताले तपाईंलाई दोहो-याएर जनप्रतिनिधि किन बनाउने ?

मैले गएको पाँच वर्ष त्रुटिरहित जनप्रतिनिधित्व निर्वाह गरेको छ । इमानदारीका साथ जनताको सेवा गरेको छु । सबै काम पूरा गर्न एक कार्यकाल मात्र अपर्याप्त भयो । त्यसैले मेरो असल कामको स्याबासी दिन पनि जनताले मलाई पुनः मतदान गर्नुहुने मेरो विश्वास छ । मेरो क्षेत्रमा भौतिक विकास तथा मानवीय विकासका सूचक हेर्नुभयो भने राम्रो प्रगति पाउनुहुनेछ । मैले विगत पाँच वर्षमा मेरो निर्वाचन क्षेत्रमा खानेपानीको समस्या समाधानमा निकै दौडधूप गरें । घर–घरमा धारा सबैका लागि पानी भन्ने नारा लगभग पूरा भएको छ ।

बलम्बु र चन्द्रागिरि नगरपालिकाका दुई वडा जोड्ने पुल तत्कालका लागि बेलीब्रिज मात्र बनाउन सकिएको छ । त्यहाँ स्थायी पुल बन्नु आवश्यक छ, जसलाई मैले आगामी दिनको कार्यका रूपमा हेरेको छु ।त्यस्तै, मेरो निर्वाचन क्षेत्रका प्रत्येक वडामा सांस्कृतिक पार्क छन् । श्रद्धेय नेताद्वय गणेशमान सिंह र मदन भण्डारीका नाममा खोलिने पार्कहरुको काम बाँकी छ । नागार्जुनमा वारि र पारि गणेशमान पार्क, बीचमा मदनभण्डारी पार्क छ, वडा नम्बर १३ मा । तर, अपुरो अवस्थामा छ ।

नैकापको शिर दहचोकमा कालुपाण्डे समाधिस्थल निर्माण त गरियो, तर त्यसले पूर्णता पाएको छैन । जनताको समर्थन हासिल गरेर पाँचतले टावरसहितको सो क्षेत्रको विकासलाई पूर्णता दिनु छ । अहिले यस बाटोकै कारण यस क्षेत्रमा रिसोर्टहरु खुलेका छन्, पर्यटकको आवागमन बढेको छ । रोजगारी सिर्जना भएको छ । खास गरी, नेपालका १ सय टुरिस्ट डेस्टिनेसनमा कालु पाण्डे समाधिस्थल चयन हुनु यस क्षेत्रको जनप्रतिनिधिका नाताले गौरवको अनुभूति हुन्छ ।

कोरोनाको महामारी चलेका बेला अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर र अन्य उपकरणमा आम नागरिकको पहुँचमा एमाले कार्यकर्ताले खेलेको भूमिकाका लागि जनताले आज पनि स्याबासी दिइरहेका छन् । आज पनि यी उपकरणको पुनप्र्रयोग भइरहेको छ ।गएको तीन वर्षमा मेरो निर्वाचन क्षेत्रमा मठ–मन्दिरको जीर्णोद्धार भएको छ, पाटीपौवा बनेका छन् । सांस्कृतिक बाजागाजाको संरक्षण गरिएको छ । यसप्रति नयाँ पुस्तामा आकर्षण बढाउने काम भएको छ ।

वृद्धाश्रम बनाउने र उनीहरुलाई भ्रमण गराउने काम पनि गराएको छु । अपाङ्गता भएका व्यक्तिका लागि विद्यालय खोलिएको छ । गणेशमान पोलिटेक्निकलन इन्स्टिच्युट, चन्द्रागिरि–९ मा सञ्चालित छ, जनशक्ति विकासमा यसले भूमिका खेलेको छ । विविध विषयमा तालिम दिने, सीप विकास गर्ने काम भएको छ । धादिङ र मकवानपुरदेखिका सेवाग्राही आउँछन् । सोचेजस्तो काम गर्न, अझ व्यवस्थित बनाएर अघि बढाउन भने बाँकी छ । स्थानीय जनताको मत पाएँ भने म यसलाई पूर्णता दिने नै छु ।

कलंकीको जामले वर्षौंसम्म बाहिर जाने आउने गाडी र यात्रुलाई सताएको थियो । अन्डर पास बनाउने काममा सरकार र निर्माणकर्तालाई नियमित दबाब दिने जनप्रतिनिधि म नै हुँ ।

सीतापाइलाबाट रामकोट जाने पिच बनाउने काममा भूमिका खेल्न पाएकोमा म खुसी छु, तर भीमढुंगासम्म पिच गर्ने काम बाँकी छ । चक्रपथभित्र मात्र पनि होइन, बाहिर पनि बाटो निर्माणमा भूमिका खेलिरहेकै छु ।त्रिपुरेश्वरदेखि रविभवन, कलंकी, ढुंगाअड्डा, नैकाप हुँदै नागढुंगासम्म बाटो विस्तारको विवाद छ । यसको स्थायी समाधान खोज्ने प्रयास त गरें, तर मेरो एक कार्यकाल मात्र पर्याप्त भएन ।

सेन्टर टु राइट र लेफ्ट २५ मिटर सडकका लागि लिने हो भने कुनै घर रहँदैन । अहिले २५ मिटरसम्म जग्गा किन–बेच रोक्का छ । राइट टु लेफ्ट ११–११ मिटर मात्र गर्नुपर्ने प्रस्ताव छ । यो राष्ट्रिय समस्या हो । तर, मेरो क्षेत्रमा परेकाले मेरो सक्रियता आवश्यक छ । म विकासका नाममा विनाश गर्न, जनतालाई दुःख दिन चाहन्न । घरको क्षतिपूर्ति र जग्गाको मुआब्जा दिन सरकार सक्षम छजस्तो पनि मलाई लाग्दैन ।

अन्त्यमा, पाँच वर्षअघि २०७४ सालमा काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ९ बाट एमालेलाई जनताले जिताएका हुन्, फेरि एमालेलाई नै मत किन दिने ?

राजनीतिक स्थिरता र विकासका लागि श्रद्धेय जनताले नेकपा एमालेका सम्पूर्ण उम्मेदवारलाई मतदान गरी यस मुलुकको समृद्धिमा भूमिका खेल्नु छ । राष्ट्रिय एकता, देशभक्ति, विकास र समृद्धिमा एमालेले जति सशक्त ढंगले भूमिका खेल्दै आएको छ, त्यति प्रस्ट दृष्टिकोणका साथ यहाँहरुको सेवामा उपस्थित भएको अर्को दल छैन ।

के कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समावेश गरी एमालेका अध्यक्ष ओलीज्यू नै प्रधानमन्त्री भएका बेला सबै राजनीतिक दललाई एकीकृत गरी सर्वसम्मत ढंगले नयाँ नक्सा जारी गर्ने अपूर्व इतिहास खडा गरिएको होइन ? तर, आज नक्सामा समेटिएको भू–भाग व्यावहारिक रूपमा नेपालको स्वामित्वमा ल्याउने काम ओलीज्यूको सरकारलाई परमादेश जारी गराएर अलोकतान्त्रिक ढंगले हटाउने सरकार र शक्तिले गर्न सकेको छैन, गर्ने प्रयाससम्म गरेको देखिँदैन ।

१-त्रिपुरेश्वरदेखि रविभवन, कलंकी, ढुंगाअड्डा, नैकाप हुँदै नागढुंगासम्म बाटो विस्तारको विवाद छ । यसको स्थायी समाधान खोज्ने प्रयास त गरें, तर मेरो एक कार्यकाल मात्र पर्याप्त भएन । सेन्टर टु राइट र लेफ्ट २५ मिटर सडकका लागि लिने हो भने कुनै घर रहँदैन । अहिले २५ मिटरसम्म जग्गा किन–बेच रोक्का छ । राइट टु लेफ्ट ११–११ मिटर मात्र गर्नुपर्ने प्रस्ताव छ । यो राष्ट्रिय समस्या हो । तर, मेरो क्षेत्रमा परेकाले मेरो सक्रियता आवश्यक छ । म विकासका नाममा विनाश गर्न, जनतालाई दुःख दिन चाहन्न । घरको क्षतिपूर्ति र जग्गाको मुआब्जा दिन सरकार सक्षम छजस्तो पनि मलाई लाग्दैन ।

प्रतिक्रिया दिनुहोस्