‘काठमाडौंवासीका योगदानको जवाफ खोज्नु छ’



पर्यटन व्यवसाय पृष्ठभूमिबाट राजनीतिमा आएका विराजभक्त श्रेष्ठ काठमाडौंको इन्द्रचोक निवासी हुनुहुन्छ । राजनीतिमा आउनुअघि उहाँ ‘काठमाडौंको कोर सिटी’ भित्र सामाजिक कार्यमा क्रियाशील हुनुहुन्थ्यो ।

काठमाडौंको सांस्कृतिक सम्पदाको संरक्षण, भूकम्पपछिको पुनर्निर्माण, उद्धार, राहत तथा काठमाडौंका भित्री सडकहरूमा ट्राफिक लाइटको व्यवस्थापनलगायत इन्द्रचोकका परम्परागत शैली जोगाउन उहाँको भूमिका उल्लेखनीय छ । श्रेष्ठले गुठी विधेयकसम्बन्धी आन्दोलनमा देखाएको सक्रियता उपत्यकावासीले सम्झिरहन्छन् ।

तत्कालीन विवेकशील साझा पार्टीका केन्द्रीय सदस्यसमेतको जिम्मेवारी सम्हालेका श्रेष्ठले वागमती प्रदेशसभामा समानुपातिक सांसद भएर पाँच वर्ष नागरिकका पक्षमा काम गर्नुभयो । पछिल्लो समयमा पार्टी छाडेर स्वतन्त्र अभियानका रूपमा नागरिकको आवाज बनेर अभियान चलाउँदै आएका उहाँ अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिभिसभा सदस्यमा भिड्दै हुनुहुन्छ ।

भ्रष्टाचार, बेरोजगारीका कारण नेपालका अधिक नागरिक पिल्सिएकाले उहाँको मनमा परिवर्तनको सोच जाग्यो । यही परिवर्तनको सोचलाई सदनबाट साकार गर्ने लक्षका साथ चुनावमा होमिएका श्रेष्ठ अहिले जानताका घरदैलोमा व्यस्त हुनुहुन्छ । उहाँसँग नेपाल समाचारपत्रले चुनावी अभियान, राष्ट्रिय स्वतन्त्र पार्टी र उहाँको चुनावी एजेन्डाका सन्दर्भमा कुराकानी गरेको छ । प्रतुत छ, उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश:

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ, तपाईंको उम्मेदवारी किन ?

नेपालीको राजनीतिक परिवर्तनमा काठमाडौंले जुन किसिमले योगदान, त्याग र बलिदान दिएको छ । त्यो योगदानको कदर भएको महसुस काठमाडौंवासीले गर्न पाएका छैनन् । काठमाडौंका शहीदको कदर कतै भएको छैन ।

काठमाडौंका तिनै अँध्यारा गल्ली तथा चोकमा कयौं नेताले आश्रय लिनुभयो । आफ्नो राजनीतिक जीवन शुरुआत गर्नुभयो । तर, उहाँहरु सत्तामा पुगेपछि त्यसलाई चटक्क बिर्सनुभयो । कसैले पनि यो ठाउँलाई फर्केर हेर्नुभएन ।मलाई काठमाडौंवासीले पु¥याएको योगदान, शहीदको बलिदान र मेरो पुस्ताको सपनाको जवाफ माग्नु छ, त्यसैले मैले प्रतिनिधिसभामा उम्मेदवारी दिएको हुँ । अहिले उद्यम गर्ने युवाभन्दा पासपोर्ट बनाउने युवाको जमात ठूलो छ, बिदेसिएको जनशक्तिलाई स्वदेशमै उद्यम गर्ने वातावरण निर्माण गर्नु छ ।

अर्को कुरा, व्यवस्था परिवर्तन भए पनि पात्र र प्रवृत्ति परिवर्तन भएन । हामी बच्चा हुँदादेखिकै व्यक्ति मन्त्री, प्रधानमन्त्रीमा रहँदै आएका छन् । उहाँहरूबाट देशको आर्थिक, सामाजिक विकास अब सम्भव छैन । उहाँले प्रजातन्त्र, लोकतन्त्र ल्याउन योगदान गर्नुभयो । त्यो योगदानको उच्च सम्मान गर्दै अब उहाँहरूलाई नेतृत्वबाट विश्राम दिएर युवामा नेतृत्व रूपान्तरण गराउनका लागि मेरो उम्मेदवारी हो ।नयाँ पुस्ताको चाहना के हो, आवश्यकता के हो भन्ने कुरा नै अहिलेका नेताले बुझ्न सकेनन् । तसर्थ, जनताको आवश्यकता र समयको मागलाई प्रतिनिधित्व गर्दै मैले उम्मेदवारी दिएको हुँ ।

 त्यसो भए काठमाडौंवासीले विगतमा पु¥याएको योगदानको कदर भएन भनेर ब्याज उठाउन खोज्नुभएको हो ?

पटक्कै होइन, ब्याज खाने प्रवृत्तिको विरुद्धमा छु । कसैले बीपी कोइराला, कसैले पुष्पलाल, कसैले पृथ्वीनारायण शाहको ब्याजमा पार्टी चलाउँदै आउनुभएको छ । अब त्यस्तो होइन, ठीक छ राजनीतिक परिवर्तन, वाक स्वतन्त्रता, अधिकारका निम्ति उहाँहरूले योगदान दिनुभयो । हाम्रो सम्मान छ तर त्यसकै भरमा अब देश अगाडि बढ्दैन, समृद्धि आउँदै ।उहाँहरू अगाडि बढ्नुको साटो पछाडि फर्कन थाल्नुभयो । त्यसैले हामी विकल्पका रूपमा अगाडि बढ्नुपरेको हो ।

 यी त भए तपाईंका व्यक्तिगत एजेन्डा । अब तपाईं उम्मेदवार बन्न आबद्ध भएको राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक दृष्टिकोण, विचार नीति नै अस्पष्ट रहेको भन्ने जनगुनासो छ, यस्तो अस्पष्ट नीति बोकेर चुनावमा किन उभिनुभयो ?

स्थानीय तहको निर्वाचनमा केही व्यक्ति स्वतन्त्ररूपमा चुनाव जितेकाले हौसिएर हामी च्याँखे थाप्न चुनावमा उत्रिएका होइनौं । त्यसप्रति म विश्वास पनि गर्दिनँ । यो कुरा म स्पष्ट पार्न चाहन्छु ।देशको राजनीतिक व्यवस्था नै बहुदलीय व्यवस्था छ । चेस खेल्न चेसकै नियम हुनुपर्छ, लुडोको नियम लागू हुँदैन । दलीय व्यवस्थापना दल नै हुनुपर्छ । जहाँसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक दृष्टिकोण, विचार नीति नै अस्पष्टको कुरा छ । कुनचाहिँ पार्टीले शुरूमै सबै कुराले पूर्ण भएका हुन् ? यो पार्टी गठन नहुँदै चुनावमा होमिनुपर्ने अवस्था आयो त्यसैले धेरै कुरा जनतामाझ प्रस्ट भइसकेको छैन ।

म संसदीय व्यवस्थाको अभ्यास गरेर आएको व्यक्ति हुँ । संसद्मा एउटा सांसदले दलीयरूपमा प्रतिनिधित्व गर्ने र स्वतन्त्र रूपमा गर्ने विषय धेरै फरक हुन्छ । पार्टी भनेको एउटा विचार हो, अभियान हो । मैले राष्ट्रिय स्वतन्त्र पार्टीलाई के शंकाको सुविधा दिन्छु भने चुनावपछि उहाँहरु यसप्रति स्पष्ट हुनुहुनेछ । मैले राखेका एजेन्डा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो घोषणापत्रमा समावेश गरेको छ । गुठीलाई व्यवस्थित गर्दै समयसापेक्ष बनाउने, पर्यावरणका कुरा, भ्रष्टाचार अन्त्यका कुरा उहाँहरूले स्वीकार गर्नुभएको छ ।

 म अझै स्पष्ट भइनँ, तपाईंले राष्ट्रिय स्वतन्त्र पार्टीलाई उहाँहरू भनिरहनुभएको छ, यसो भन्दै गर्दा तपाईं सो पार्टीभन्दा भिन्न हो भन्ने बुझिन्छ, उहाँ हो कि हामी ?

 हो, उहाँ र हामीबीचको दूरी घटाउन अझै केही प्यारामिटर बाँकी नै छ । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति हाम्रो निकै सद्भाव छ । यो पार्टी गठन हुनुभन्दा अगाडि म अर्को पार्टीमा आबद्ध थिएँ ।राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न लिएर चुनाव लड्नुभन्दा अगाडि आफैं स्वतन्त्ररूपमा चुनाव लड्ने कि भन्ने विषयमा पनि छलफल भएको थियो । तर, चुनावको मुखमा त्यो अलि सम्भव नहोला भन्ने लाग्यो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू तपाईं जस्तो संसदीय अभ्यास गरेको व्यक्ति मिले अगाडि बढौं भनेर प्रस्ताव गर्नुभयो ।

छलफलका क्रममा हाम्रो विचार र एजेन्डा स्वीकार गर्नुभयो । त्यसैले हामी सँगै अगाडि बढ्यौं । मलाई विभिन्न पदको प्रस्ताव गर्नुभएको थियो । तर, मैले स्वीकार गरेको छैन । अहिले आम जनसमुुदाय समक्ष के निवेदन गर्न चाहान्छु भने विगतमा पद्यरत्न तुलाधारले सूर्य चिह्न लिएर चुनाव लडेजस्तै म घण्टी चिह्न लिएर उठेको छु ।भोलि नीति एजेन्डा, विचार मिल्दै गए एउटै घरमा अटाउँछौं । अहिलेसम्मको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै बोकेर मैदानमा छौं ।

त्यसो भए, अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको तपाईं सदस्य पनि होइन, स्वतन्त्र उम्मेदवार पनि होइन । भोलि तपाईं चुनाव जितेर संसद्मा जानुभयो भने तपाईंलाई राष्ट्रिय स्वतन्त्र पार्टीको ह्विप लाग्छ कि लाग्दैन ?

अहिलेसम्मको हाम्रो मौखिक सहमतिअनुसार कतिपय साथीले लिखित पनि गर्नुभएको छ । हामीलाई ह्विप लाग्दैन । तर, राजनीतिक कुरा वैधानिक कुरा भिन्न हुन्छ । विगतमा म जनउत्तरदायी हुँदा पार्टीले कारबाही पनि गर्न खोज्यो । त्यो फेरि पनि हुन सक्छ । तसर्थ, म जनताका मुद्दा उठाउने विषयमा दलभन्दा माथि उठेर कुरा उठाउन पछि पर्दिनँ, दल साधन हो साध्य होइन ।

त्यसो भए तपाईं अहिले ‘लिभिङ टुगेदर’मा हुनुहुन्छ, भोलि विवाह गर्न पनि सक्नुहुन्छ, म यसरी बुझौं ?
यस्तै बुझौं, अहिले हामी सद्भावको सम्बन्धमा छौं ।

 अघिल्लो निर्वाचनमा तपाईं अर्को पार्टीबाट प्रदेशसभामा पुग्नुभयो । अहिले अर्को पार्टीबाट चुनावमा उठ्दै हुनुहुन्छ । किन ?

 पुरानो पार्टीको ड्राइभर नै बीच बाटोमा गाडीबाट हामफाल्यो । अध्यक्षको सोच नै अर्कै रहेछ, त्यो कुरा अहिले छर्लंग भइसक्यो ।

तपाईं यसअघि एउटा राजनीतिक दृष्टिकोण बोकेर नयाँ पार्टीमा हुनुहुन्थ्यो । अहिले अर्को पार्टीमा हुनुहुन्छ, यो पार्टी पनि दिगो हुन्छ भनेर कसरी विश्वास गर्ने ?
केही हुन्छ कि भनेर हामीले अन्तिम अवस्थासम्म प्रयास गरेका हौं । पार्टीको आन्तरिक अभ्यासमा धेरै सहभागी हुन सकेनौं । जसले गर्दा पार्टीभित्रको कलह उत्सर्गमा पुग्यो । जहाँसम्म पार्टीसँगको आबद्धता कुरा के छ हो भने हामी पार्टी निर्माण गर्न होइन देश बनाउन आएका हौं ।
जनताका मुद्दा उठाउन पाएनौं भने त्यही पार्टीमा नै बस्नुपर्छ भन्ने छैन । विचार र कार्यनीति स्पष्ट भएन भने आत्मरतीमा रमाउने पक्षमा हामी छनौं ।

तपाईंका चुनावी एजेन्डा के हुन् र जित्ने आधार के छन् ?

हामीले लामो समयसम्म राजनीतिमा स्थापित दलहरुको व्यवहार र जनताको अवस्था हेरेका छौं । त्यो अवस्था परिवर्तनका लागि मुख्य कुरा भ्रष्टाचार अन्त्य नै हो । संसद्मा रहेर नीति तथा कार्यक्रममा हस्तक्षेपकारी भूमिका खेल्ने र यस क्षेत्रका नागरिकलाई स्वाबलम्बी बनाउने कार्यक्रमहरु ल्याउने मेरो एजेन्डा छ ।

मैले गत पाँच वर्ष वागमती प्रदेश सांसद हुँदा धेरै काम गरेको छु । प्रदेश सरकार पनि छ भन्ने यहाँका नागरिकलाई महसुस हुने गरी काम गरेको छु । ट्राफिक व्यवस्थापन, भौतिक संरचनाहरु निर्माण र सुशासनको पाटोमा बढी काम गरेको अनुभवका आधारमा आगामी पाँच वर्ष संसद्मा रहेर कार्य गर्ने, भूगोल र नागरिकको अवस्था र आवश्यकताअनुसार काम गर्ने मेरो लक्ष हो ।

यही आधारमा मैले जित्छु मन्ने विश्वास छ । जनताका घरदैलोमा जाँदा पुराना दलका नेताहरुप्रति जनताको आक्रोश छ । उनीहरुले परिवर्तन खोजेका छन् । त्यो परिवर्तनको जिम्मा म लिन्छु ।

प्रतिक्रिया दिनुहोस्