स्वतन्त्र साम्पाङको शैलीमा राप्रपाका मैनाली



हेटौंडा ।

धरानका निर्वाचित मेयर हर्क साम्पाङको शैलीलाई निर्वाचनको उचित र प्रेरणाको स्रोत मान्दै राप्रपा मकवानपुरका उम्मेदवार राजन मैनाली निकै कम खर्चमा चुनावी अभियानमा होमिनुभएको छ ।

देश श्रीलंकाको जस्तो जर्जर आर्थिक अवस्थाबाट गुज्रिरहेको अभिव्यक्ति दिँदै राप्रपाबाट मकवानपुरको २ नम्बर क्षेत्रमा प्रतिनिधिसभा सदस्यका रूपमा उहाँले उम्मेदवारी दिनुभएको हो ।हेटौंडा उपमहानगरपालिका–४ हुप्रचौरवासी ५८ वर्षीय मैनाली केही सहयोगी कार्यकर्ताको मात्र सहयोगमा गाउँ प्रवेश गर्नुभएको छ । निर्वाचन आयोगले प्रचार–प्रसार खोलेपछि उहाँले आफ्नो यात्रा शुरु गर्नुभएको हो । हातेमाइक बोकेर मैनाली हालसम्म आफ्नो क्षेत्रका कैलाश, मकवानपुरगढी, भीमफेदी, भैंसे, इपा पञ्चकन्या, सिस्नेरी र इन्द्रसरोवरलगायत क्षेत्र पुगिसक्नुभएको छ । अबको यात्रा उत्तरी मकवानपुरको थाहानगर र मनहरीलगायत क्षेत्र रहेको उहाँले बताउनुभयो । चोकचौतारो, मानिसको चहलपहल हुने क्षेत्र, स्थानीय बजारहरु, विभिन्न समुदायका धार्मिकस्थलमा पूजाआजा, खेतबारी आदि स्थानमा मैनालीको उपस्थिति देखिन्छ ।

चुनावी प्रचारका क्रममा उहाँ आफ्ना एजेन्डासहित घर–घरमा पुगिरहनुभएको छ । उहाँको निर्वाचन क्षेत्र जिल्लाकै सबभन्दा बढी पीछडिएको क्षेत्र हो । उक्त क्षेत्र अवैध गाँजा र चरेसको उर्वर भूमि पनि हो । हाते माइकको सहारामा उहाँले ठूला राजनीतिक दलहरुले विगत ३३ वर्षदेखि देशको विकास र जनताको समृद्धिको झुटा आश्वासन दिएको बताउँदै आउनुभएको छ । ठूला दलहरूले सपनामात्र देखाएको, राज्यशक्ति व्यक्तिगत स्वार्थपूर्तिका लागि दुरुपयोग गरेको, संस्थागत भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गर्ने गरेको, लोकतन्त्र र गणतन्त्रको लाभलाई आफ्ना आसेपासेको स्वार्थपूर्तिको साधन बनाएको आरोप उहाँको छ ।

‘ठूला भनिएका दलहरुले नेपाललाई विदेशी शक्तिको क्रिडास्थल बनाउने, समाजलाई जातीयता, क्षेत्रीयता, भाषा, धर्मका नाममा विभाजित गरी गृहयुद्धको अवस्था सिर्जना गर्ने, कानुनी शासनको मान्यतालाई उपहास गर्ने, आर्थिक अपराध गरी देशको अर्थतन्त्र धराशयी पार्ने तथा राष्ट्र र राष्ट्रियता खतरामा पार्ने काम मात्र गरेका छन् ।’ –मैनालीको दाबी छ ।ठूला पार्टीहरुको स्पष्ट सिद्धान्त र दृष्टिकोण नभएको तर राप्रपाको स्पष्ट विचार, दृष्टिकोण, स्वच्छ, निर्भिक, कटिवद्ध नेतृत्व र पार्टीभित्रको आन्तरिक लोकतान्त्रिकीकरण, नेतृत्वको व्यवहारिक पुस्तान्तरणका कारण अन्य पार्टीहरुको तुलनामा आफ्नो पार्टीप्रति विश्वास गर्ने ठोस आधार रहेको उहाँको कथन छ ।

नेपाली कांग्रेसमा बीपी कोइरालाका प्रजातान्त्रिक समाजवादको अवधारणा बाँकी नरहेको, कम्युनिस्ट भनाउँदा पार्टीहरुमा माक्र्सवादी चिन्तन नै बाँकी नरहेको कुरा पनि उहाँले गाउँ–गाउँमा बताउँदै आउनुभएको छ । पार्टीहरुले सत्तास्वार्थ र सत्तालिप्साका लागि अपवित्र गठबन्धन गरी चुनावमा गएपछि यिनीहरुले सञ्चालन गर्ने शासनसत्ता कुनै सिद्धान्तमा आधारित हुनै नसक्ने र यी राजनीतिक दलहरुले भोलिका दिनमा सत्ता सञ्चालन गरे भने न प्रजातान्त्रिक हुने, न त समाजवादको बाटो पहिल्याउन सक्ने भन्दै मैनालीले मतदातालाई आफूलाई मत दिन आग्रह गर्ने गर्नुभएको छ ।

यस निर्वाचनमा प्रजातान्त्रिक र कम्युनिस्ट पार्टी मिलेर चुनावमा जानुभनेको जनतालाई झुक्याई सत्तामा पुग्ने चाल, जनताप्रतिको राजनीतिक बेइमानीबाहेक अरू हुनै नसक्ने आफ्नो दाबीलाई मतदाताले सम्मान गरेको उहाँको कथन छ । राप्रपाले जनताको भावनालाई सही प्रतिनिधित्व गर्ने संवैधानिक राजतन्त्र, हिन्दू अधिराज्य, संघीयता खारेजी, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचारमुक्त समाज र न्यायिक सुशासनजस्ता विषयमा आफ्नो स्पष्ट दृष्टिकोण राखेकाले राप्रपालाई मत दिनुपर्ने मैनालीको दाबी छ ।

घर–घरमा पुगेर उहाँले राजतन्त्रको अन्त्य, संघीयता र धर्मनिरपेक्षता जस्ता कुराहरु विदेशीको इशारा र दबाबमा भारतमा भएको १२ बुँदे सम्झौताबाट जबर्जस्ती नेपाली जनतालाई लादिएका विषय रहेको उल्लेख गर्नुभएको छ । हाल ठूला राजनीतिक दलहरुले जनतालाई भ्रम सिर्जना गर्न त्यस्ता पार्टीभित्र समेत संवैधानिक राजतन्त्र, हिन्दुत्व, संघीयता खारेजीका विषयहरुमा गर्ने बहसहरु जनतालाई झुक्याउन अभिनय गर्ने गरे पनि उक्त सिद्धान्तको प्रणेता राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपाल रहेको उम्मेदवार मैनालीले बताउनुभयो । कैलाशमा भएको सभामा उहाँले अक्षम पार्टीका भ्रष्टाचारमा लिप्त नेताहरुलाई अब पनि भोट दिई जिताउनुको औचित्य नभएको र त्यस्ता व्यक्तिहरुले जितेर देशको रूपान्तरण, आर्थिक समृद्धि वा विकास सम्भव नरहेको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्