ललितपुर-१६ मा फिजियोथेरापी उपचार केन्द्र



ललितपुर । वडास्तरमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने उद्देश्यले ललितपुर महानगरपालिका– १६ वडा कार्यालयले ईलाननीमा फिजियाथेरापी उपचार केन्द्र सञ्चालन गरेको छ ।

रचना आयुर्वेद तथा अर्थो न्यूरो रिहाबिलिटेशन र ईलाननी टोल सुधार समितिसंग मिलेर सो केन्द्र सञ्चालनमा ल्याइएको थियो । सो केन्द्रको नाम ईलाननी रचना फिजियोथेरापी उपचार केन्द्र राखिएको छ।टोल सुुधार समितिको भवनमा चार शैय्यासहित फिजियोथेरापीका सामग्री राखेर केन्द्र सञ्चालनमा ल्याइएको हो।यसका लागि वडाबाट २० लाख रुपैयाँ विनियोजित गरिएको वडाले जनाएको छ ।

केन्द्रको व्यवस्थापन र दीर्घकालीन सञ्चालन गर्न राज बज्राचार्यको अध्यक्षतामा एक समिति गठन गरिएको छ। वडाअध्यक्ष संरक्षक र वडा सदस्यहरु पदन सदस्य रहने गरी गठित समितिमा तीन वटै पक्षको प्रतिनिधित्व रहेको छ ।

शनिबार आयोजित एक समारोहकाबीच वडाअध्यक्ष निर्मलरत्न शाक्यले सो केन्द्रको शुभारम्भ गर्नुभयो । सो अवसरमा वडाअध्यक्ष शाक्यले फिजियोथेरापी सञ्चालन गर्ने तीन वर्ष अघिको सपना पुरा भएको बताउनुभयो।स्वास्थ्य क्षेत्रमा नमूना योग्य वडा बनाउने सोचबाट प्रेरित भई केन्द्र सञ्चालन गरिएको पनि वडाअध्यक्ष शाक्यले बताउनुभयो । केन्द्रको स्थापनाले समुदायस्तरमा स्वास्थ्य सेवाको सहज पहुँच स्थापित हुने पनि वडाअध्यक्ष शाक्यको भनाई रहेको छ ।

समारोहमा रचना रिहाबिलिटेशन सेन्टरका सञ्चालक डा चन्द्रदीपकुमार महतो केन्द्रमा हड्डी खिइएको, नशा च्यापिएको, मुख बांगिएको, जोर्नी दुख्ने, प्यारालाईसिस, हातखुट्टा झमझमाउने, पोल्ने र सुस्त मनस्थिति भएका बालबालिकाको सहुलियत दरमा उपचार हुने जानकारी दिनुभयो ।

समितिका अध्यक्ष राज बज्राचार्यले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्र्ने वडाको कार्य सघाउन समुदायको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले केन्द्र सञ्चालन गर्न सक्रिय रुपमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।सो अवसरमा वडा सदस्य बबिता श्रेष्ठ, वडा समितिका सल्लाहकार धर्मेन्द्र शाक्य लगायतले स्वास्थ्य सेवामा वडाले गर्दै आएको काम र अब गर्नुपर्ने कार्यमा केन्द्रीत गरी आआफ्नो धारणा राख्नुभयो।यसै अवसरमा फिजियोथेरापी सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सो शिविर आउँदो शुक्रबारसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्