‘पूर्वी नवलपरासीमा विकासको छलाङ ल्याउँछु’



नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाका पुत्र डा. शशांक कोइरालाले नवलपरासी पूर्वको क्षेत्र नं. १ बाट लगालग तीनपटक चुनाव जितेर ह्याट्रिक गरिसक्नुभएको छ ।

पछिल्लोपटक २०७४ को आमनिर्वाचन जितेका उहाँ २०७९ मंसिर ४ गते हुने निर्वाचनमा पनि यहाँको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि पुनः उम्मेदवारी दिनुभएको छ । कोइरालाको यसपटकको चुनावी यात्रालाई धेरैले अर्थपूर्ण रूपमा लिएका छन् । यसै सन्दर्भमा उहाँसँग नेपाल समाचारपत्रका लागि जिल्ला संवाददाता घनश्याम बगाले गर्नुभएको कुराकानीको सम्पादित अंश ।

तपाईंले यो क्षेत्रबाट लगातार तेस्रोपटक चुनाव जितिसक्नुभयो । चौंथोपटकको उम्मेदवारीचाहिँ केका लागि ?पहिलोपटक निर्वाचन लड्न २०६४ सालमा म नवलपरासी आएको थिएँ । त्यो समय देश संविधान निर्माणको दिशामा अगाडि बढिरहेको थियो । राजनैनिक परिवर्तनपछि जनतामा शान्ति र विकासको हुटहुटी जागेको थियो ।

म विराटनगरमा हुर्के–बढेको मान्छे, सहज रूपमा हिँडडुल गर्न चौडा बाटाघाट र यातायातको सुविधा थियो । म यहाँ आउँदा पहाडी बस्तीमा बाटोहरू थिएनन् । नदीमा पुल थिएनन् । चुनावकै दौरान कालीगण्डकीमा डुडीजस्तो सानो काठको डुंगाबाट नदी वारपार गर्नुपर्दा डर पनि लागेको थियो ।

मैले पुलको कल्पना गरें, कार्यकर्ता साथीहरूले पनि सुझाउनुभयो । हेर्नुस् त अहिले मेरै कार्यकालमा कालीगण्डकीमाथि ठाउँ–ठाउँमा झोलुंगे पुल बनेका छन् । सबै बिनाडर–संकोच सहजरूपमा आउ–जाउ गरिरहेका छन् । विकास निरन्तर चलिरहने प्रक्रिया हो । म यसैका निम्ति लागिपरेको छु । समग्र यस क्षेत्रको विकासकै लागि मैले चौथोपटक उम्मेदवारी दिएको हुँ ।

यसपटक पनि यही क्षेत्र किन रोज्नुभयो ?

मलाई मनमा आइरहने प्रश्न गर्नुभयो । कुरा के छ भने मलाई अन्य ठाउँका धेरै साथीहरूले हाम्रो जिल्लामा आइदिनुस्, चुनाव लड्नुहोस् भन्छन् । तर, यहाँका जनताले दिएको अपार मायाले यो ठाउँ छोड्न सकिनँ । जुन माया मेरो बाआमाले दिएको भन्दा पनि धेरै हो । अर्काे कुरा, यो क्षेत्रमा मैले गरेका विकास योजनाको निरन्तरता हो, जसमा मैले अझ इँट्टा थप्नु छ । र, समयको मागबमोजिम नयाँ–नयाँ योजना जनताका घर–आँगनमा पु¥याउनु छ ।

तपाईंका विकास योजना के छन् ?

नवलपरासी बर्दघाट सुस्ता पूर्व जसलाई नवलपुर भनिन्छ । राज्य पुनःसंरचनाका बेला यहाँका जनताको साझा माग नवलपुर अलग्गै जिल्ला हुनुपर्छ भन्ने थियो । पुरानो नवलपरासी भएका कारण भौगोलिक विषमता थियो । कतै हालको लुम्बिनीमा परेर प्रदेश राजधानीका लागि दाङ पुग्नुपर्ने त होइन भन्ने त्रास थियो । म पनि यहाँ जनताको मागलाई जायज ठानेर जनतासँगै उभिएँ । जनताले सडकबाट र मैले राजनैतिक वृत्तको माथिल्ला तहमा लबिङ गरें । फलस्वरूप हामीले सुन्दर जिल्ला नवलपुर पाएका छौं । जुन हाम्रा लागि गर्वको कुरा छ र हामी प्रदेश राजधानी पोखराको नजिकैमा पनि छांै । यो नयाँ जिल्ला विकासको पुञ्ज हो । यहाँ असंख्य विकासका सम्भावना छन् । जहाँ ट्रमा सेन्टर, बृहद् खेल ग्राम र कृषि अनुसन्धान केन्द्र बनाउने मेरो योजना छ ।

विगतमा तपाईंले गरेका विकासका कार्य सारमा भन्दिनुस् न ?
म प्रचारबाजी जान्दिनँ, काम गर्न जानेको छु । अरूले काम कम प्रचार बढी गर्दै हिँड्छन् । जिल्लामा जनताको मागअनुसार दर्जनौं बाटो, तालतलैयाको संरक्षण प्रयासदेखि लघुविद्युत्, मन्दिर, विद्यालय, स्वास्थ्य संस्थाका भवनका साथै विद्यालय बसका लागि पटक–पटक पहलकदमी लिई उपलब्ध गराएको छु । जुन कुरा तथ्यांकले देखाइहाल्छ । अर्काे कुरा म अलि उदारवादी पनि छु । विकासलाई मैले बृहत् आँखाले हेरें, अन्य अति विकट जिल्लारूलाई पनि विकासमा प्राथमिकता दिएँ । अब भने म त्यो अवसर छाड्दिनँ । अब हाम्रै विकट क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर विकासमा छलाङ ल्याउँछु । यहाँका युवाका निम्ति यही रोजगारी सिर्जना हुने विकास योजना अघि सारेको छु ।

देवघाटदेखि त्रिवेणीसम्मको विकास योजना ल्याउनुभएको छ । कतै यो महत्वाकांक्षी योजना मात्र त होइन ?

नवलपुर जिल्लाको दक्षिणमा देवघाटदेखि त्रिबेणीसम्म नारायणी नदी पर्दछ । जसको किनारमा दर्जनौं बस्ती रहेका छन् र सँगै राष्ट्रिय निकुञ्ज पनि छ । ती बस्ती जोगाउन नारायणी छेउबाट वाल लगाई त्यसैमा मोटरेवल सडक बनाउँदा दोहोरो फाइदा छ । एक नदी नियन्त्रण, अर्को मानव–वन्यजन्तु द्वन्द्वको अन्त्य हुन्छ । अर्कोतिर त्रिबेणी गण्डकी प्रदेशको भारतसँग जोडिएको एकमात्र सिमानाका हो र धार्मिक पर्यटकीय क्षेत्र पनि । यो क्षेत्रको समग्र विकास यहाँको आवश्यकता हो, महत्वकांक्षा होइन ।

तपाईंलाई त प्रधानमन्त्रीको लाइनमा उभिएको उम्मेदवार भन्छन् नि ?

हो, म प्रधानमन्त्रीको रेसमा छु । मैले पार्टीको महामन्त्रीदेखि अन्य धेरै पदमा बसेर जनताको सेवा गरिसकेकाले अब मेरो चाहना प्रधानमन्त्री भएर देश र जनताको सवा गर्नु हो । तर, प्रधानमन्त्री भन्ने कुरा पार्टीले निर्णय गर्ने कुरा हो, जसका लागि पार्टीभित्र छलफल भइरहेको छ । जुन मेरा निम्ति टाढाको कुरा पनि त हाइन ।

नवलपुर जिल्लाको दक्षिणमा देवघाटदेखि त्रिबेणीसम्म नारायणी नदी पर्दछ । जसको किनारमा दर्जनौं बस्ती रहेका छन् र सँगै राष्ट्रिय निकुञ्ज पनि छ । ती बस्ती जोगाउन नारायणी छेउबाट वाल लगाई त्यसैमा मोटरेवल सडक बनाउँदा दोहोरो फाइदा छ । एक नदी नियन्त्रण, अर्को मानव–वन्यजन्तु द्वन्द्वको अन्त्य । अर्कोतिर त्रिबेणी गण्डकी प्रदेशको भारतसँग जोडिएको एकमात्र सिमाना र धार्मिक पर्यटकीय क्षेत्र भएकाले पनि यहाँको विकास मेरो योजनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्