पाण्डेको मूल मन्त्र : शासनमा सदाचार, शून्य भ्रष्टाचार



नेपाली कांग्रेसको तर्फबाट आसन्न मंसिर ४ गतेका लागि गठबन्धनका साझा उम्मेदवार बद्रीप्रसाद पाण्डेले बाजुराबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएको छ । दुर्गम हिमाली गाउँपालिका–४ फैती गाउँमा जन्मिएका उहाँले प्रारम्भिक शिक्षा गाउँकै शैलेश्वरी स्कुलबाट प्राप्त गर्नुभयो ।

पाण्डेले ७ कक्षादेखि १० सम्म काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत माविबाट र स्नातकोत्तर वाल्मीकि विद्यापीठ प्रदर्शनीमार्गबाट गर्नुभयो । र, त्रिभुवन विश्व विद्ययालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका उहाँले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट राजनीतिशास्त्रमा विद्यावारिधि गर्दै हुुनुुहुन्छ । पाण्डेले २०४३ सालदेखि नेविसंघबाट राजनीति जीवन शुरुवात गर्नुभएको थियो ।

विद्यार्थी जीवनबाट राजनीति शुरू गरेर अहिले नेपाली कांग्रेसका सहमहामन्त्री हुनुहुन्छ । यसअघि समानुपातिकबाट सभासद् भएर संविधान निर्माणमा महत्वपूर्ण भूमिका उहाँले निभाइसक्नुभएको छ । प्रस्ट वक्ता, स्वच्छ छवि भएका र निर्विवादित पाण्डे यसअघि राष्ट्रिय सभा सदस्य हुनुहुन्थयो । देशको राजनीति सुधारमार्फत समाजिक रूपान्तरणको मूल ध्येय बोकेका उहाँ पहिलोपटक बाजुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्नुुभएको छ । यसै सन्दर्भमा नेपाल समाचारपत्रका जिल्ला संवाददाता दयाराम पण्डितले पाण्डेसँग गर्नुभएको कुराकानीको सम्पादित अंश ः

 आम निर्वाचनमा कांग्रेसको मुख्य एजेन्डा के हो ?

देशको मूल नीति राजनीति हो । राजनीतिमा थिति नभई देशको विकास र समृद्धि सम्भव छैन । राजनीति सुधारमार्फत सामाजिक रूपान्तरण गर्नु छ । त्यसैले राजनीतिमा थिति बसाल्न लोकतन्त्रको संस्थागत विकास अनि संविधानको रक्षा गर्दै देश विकासमा सर्मपित हुनु नै सारमा नेपाली कांग्रेसको प्रमुख एजेन्डा हो ।

देशमा जताततै अनियमितता, भ्रष्टाचार मौलाएको छ । तपार्इं भन्नुहुन्छ– राजनीतिमा इमानदारिता, शासनमा सदाचार, शून्य भ्रष्टाचार । के यो सम्भव छ ?

सम्भव छ, म राजनीतिक जीवनमा कुनै दिन मन्त्री बनुँला । पार्टीको महामन्त्री अथवा त्योभन्दा माथि हुँला । मेरो यात्रामा भ्रष्टाचारको कुनै गञ्जायस हुन दिने छैन । यदि कहींकतै भ्रष्टाचारको कालो टीका लाग्यो भने राजनीतिमात्र नभएर हरेक सामाजिक जिम्मेवारीबाट संन्यास लिनेछु । ”

 तपाईंको पार्टीले सार्वजनिक गरेको घोषणपत्र धेरे महत्वाकांक्षी, जनता झुक्याउने चुनावीपत्र मात्र हो भन्छन् नि त विपक्षी दल । के यो साँचो हो ?

हामी महत्वकांक्षी पनि छैनौं र त्यस्ता काल्पनिक संकल्प पनि गर्दैनौं । जे गर्न सक्छौंं त्यही लेख्छौं, बोल्छौं र गर्छौं । यसपालिको हाम्रो प्रतिबद्धतापत्रमा पनि देशको माटो सुहाउँदो नागरिकलाई सर्वोपरी ठानी भूराजनीतिलार्ई आधार मानेर बडो गहनरूपमा छलफल गरेर जाहेर गरेको संकल्प हो । संविधान र लोकतन्त्र असल शासन, समुन्नति, बलियो अर्थतन्त्र नेपाली कांग्रेसको मूलमन्त्र हो । हामी चुनाव जितेर सरकारमा जान्छौं र यही संकल्प कार्यान्वयन गर्छौं ।

 बाजुराको समृद्धिका लागि तपाईंको मुख्य एजेन्डा के हो ?

विकास र सामजिक रूपान्तरण नै मेरो चुनावी संकल्प हो । बाजुरा मानव विकास सूचकांकमा ७७औं जिल्ला हो । यस्तो जिल्लाको विकास र समृद्धिका लागि राज्यले प्राथमिकतामा राख्नुपर्छ । विशेष गरी संविधानले पनि पीछडिएको क्षेत्रलाई माथि उठाउन प्राथमिकतामा राख्नुपर्छ भनेको छ । त्यसका लागि सडक र यातायातको सुविधा विस्तार गर्नैपर्छ । केही काम भइरहेका पनि छन् । जस्तो कि, कर्णाली करिडोर बाजुरा हुँदै जान्छ । सेती लोकमार्गले पनि बाजुरालाई छुन्छ । बाजुराको कवाडी, बिच्छ्या र रानीसेन भएर हिल्सा जाने बाटो एकदम छोटो पर्छ । यो बाटो विस्तार गर्ने परिकल्पना गरेको छु ।जिल्लाका विभिन्न खोलाबाट विद्युत् उत्पादनको सम्भावना छ । अध्ययन हुँदै छ । सम्भाव्यता अध्ययन पूरा भएका योजना कार्यान्वयन गर्नु छ ।
त्यस्तै, बाजुरा जिल्लामा पर्यटनको सम्भावना धेरै छ । खप्तड, बडिमालिका, बूढीनन्दा बाजुराका चर्चित पर्यटकीय गन्तव्य हुन् । यहींको सेरोफेरोमा रारा ताल छ । बाजुरा हुँदै मानसरोवर पुग्न सकिने बाटो पनि छ । यो पर्यटकीयस्थलमा पर्यटक आकर्षित गर्न विभिन्न योजना बनाएको छु ।

 बाजुरामा सडक सञ्जालको समस्या त विकराल नै छ नि । यसमा तपाईंको ध्येय के हो ?

सडक सञ्जाल सहज भयो र बाह्रैमहिना गाडी चल्ने बाटो भयो भने त्यसले अरू विकासको ढोका खोल्छ । हाम्रोमा कुनै पनि विकास निर्माणका काम गर्न ढुवानी महँगो पर्छ । किनकि, बाटो अप्ठ्यारो छ । त्यस कारण बाह्रैमहिना चल्ने उच्च गुणस्तरको सडक विस्तार र निर्माण मेरो प्राथमिकता हो । जिल्लाको मूल सडक साँफे–मार्तडी, मार्तडी–कोल्टी, कोल्टी–कवाडी–रानीसैनसम्म निरन्तर पक्की सडक सञ्चालन गर्ने मेरो दृढ इच्छा छ । बाजुराका ६९ वटै वडामा मोटरेवल बाटो पुु¥याउन सोहीअनुसार काम गर्नेछु ।

शिक्षाको गुणस्तर उकास्न के गर्नुहुन्छ ?

शिक्षा र स्वास्थ्य त आधारभूत कुरा भइहाले । भौगोलिक विकटताका कारण विद्यार्थीले स्कुलसम्म पुग्न घन्टौं धाउनुपर्छ । त्यस्तो पहाडी जिल्लामा आवासीय विद्यालय बनाउने अवधारणा कार्यान्वयन गर्नुपर्नेछ । गाउँपालिकाभर १ हजार विद्यार्थी छैन । ती विद्यार्थी राख्न सकिने आवासीय विद्यालय बनाउँदा शिक्षाको गुणस्तर उकास्न सकिन्छ । मानवीय दृष्टिकोणले शिक्षा र स्वास्थ्य दुवै संवेदनशील विषय हो । यी दुईमध्ये पनि स्वास्थ्य झन् संवेदनशील छ । किनकि, स्वास्थ्यको आवश्यकता मानिसका लागि आकस्मिक रूपमा आइपर्छ । आकस्मिक दुर्घटना वा बिरामी पर्दा अस्पताल पु¥याउने र उपचार गर्ने चुनौती हुने भएकाले यो अत्यन्तै संवेदनशील विषय हो । त्यस कारण मैले जिल्लाका दुई क्षेत्रमा कम्तीमा पनि दुईवटा अत्याधुनिक अस्पताल बनाउने योजना अघि सारेको छु । त्यससँगै अहिले भएका स्वास्थ्य संस्थामा जनशक्ति र उपकरण थपेर स्तरवृद्धि गर्ने योजना पनि बनाएको छु ।

 चुनावी सभालाई सम्बोधन गर्दै बाजुरा विकासमा सफ्टवेयर र हार्डवेयरका कुरा गरिरहनुभएको छ । त्यो भनेको के हो ?

हेर्नुस, बाजुरा विकासका लागि मेरो आँखा र ब्रह्मले मुख्यतया दुईवटा पाटा देख्छु । सफ्टवेयरको पाटो र हार्डवेयरको पाटो । सफ्टवेयर भनेको सर्वप्रथम आम बाजुरेलीको मानसपटललाई स्वदेशमै केही गर्नुपर्छ, उद्यमशील बन्नुपर्छ भन्ने ऊर्जाशील समाज बनाउनु छ । सबै शिक्षित, स्वस्थ र स्वरोजगार बनाउनुपर्छ भन्ने सकरात्मक सोचको विकास गर्नु छ । हार्डवेयर भनेको बाहिर आँखाले देखिने सडक बाटो, बिजुली पानी, सञ्चार, सिँचाइ नहर, भवनलगायत भौतिक संरचना पर्दछन् । त्यसैले बाजुराको कोर विकास गर्न यी दुई पाटा सँगसँगै लैजान आवश्यक छ । सञ्चारको क्षेत्र भौतिक संरचना हार्डवेयरका रूपमा लिनुपर्छ । बाजुराका गाउँ–गाउँमा टेलिफोन सुविधा र इन्टरनेट फोर्जी चल्ने प्रभावकारी सञ्चार जडान गरिनेछ । आम सञ्चारका क्षेत्रमा सरकारी सञ्चारमाध्यमको पहुँच पु-याउन रिलेस्टसन जडान गरिनेछ । आगामी पाँच वर्षभित्र बाजुरा कृषि, शिक्षा, स्वास्थ्य, सडक सञ्जाल, सञ्चार क्षेत्रमा सहज पहुँच पु-याइने छ ।
 यसअघि पनि समानुपातिकबाट सांसद बन्नुभएकै थियो । तपाईंले जित्दैमा अहिले भनेका एजेन्डा कार्यान्वयन हुन्छन् भन्ने के छ ?

प्रयत्न गरेको हो, तर मेरो तिक्त अनुभव रह्यो । प्रत्यक्ष निर्वाचितलाई मात्र जिल्लाको सांसद भन्ने ठान्ने रहेछन् । जिल्लाको विकासको मूल वाहक हो भनेर हेरिँदो रहेछ । त्यो अनुभवबाट मैले राज्यको ध्यानाकर्षण गराउन प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि चाहिँदो रहेछ भन्ने बुझें । किनकि, जिल्लाका लागि योजना माग्न जाँदा मन्त्रीले त्यहाँको निर्वाचित सांसद को हो भनेर सोध्छन् । योजना आयोगमा जाँदा पनि त्यही प्रश्न दोहोरिने रहेछ ।

त्यस्तो अवस्थामा पनि केही काम गरियो । सुशील कोइराला प्रधानमन्त्री भएका बेला कर्णाली करिडोर शिलान्यास भएको थियो । तर, काम अघि बढेको थिएन । त्यो बेला सेनाले जिम्मा लियो भने मात्रै समयमा सडक बन्छ भनेर हामीले प्रस्ताव ग¥यौं । त्यहीअनुरूप निर्णय पनि भयो । त्यो सडक बाजुराको बाटो हुँदै हुम्लातिर जान्छ । यद्यपि, त्यो सडक अझै गुणस्तरीय छैन । बाजुरा भौतिक विकासमा सडक सञ्जाल पहिलो प्राथमिकतामा पर्छ र सोहीअनुसार काम गर्नेछु । निर्वाचित सांसद नभएकाले यसअघि सोचेजस्तो गर्न सकिनँ । योपटक आफैं निर्वाचित भएर जिल्लामा विकास निर्माणका योजना र बजेट लैजान पहल गर्छु । मलाई के लाग्छ भने, विकट जिल्लाको सांसद भनेर आइसकेपछि संसद् र सरकार दुवै ठाउँमा राम्रो साथ पाउँछु ।

बाजुरामा आधारभूत स्वास्थ्य सेवा नपाएर बिरामीले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ । सानोतिनो उपचारका लागि पनि जिल्लाबाहिर जानुपर्ने बाध्यता छ । आधारभूत अधिकार पनि बाजुरेलीले किन नपाएका होलान् ?

मुख्यतः राज्यको नजर नै अलिकति भेदभावपूर्ण भएजस्तो लाग्छ । किनभने, जनप्रतिनिधिले केन्द्रमा त्यो खालको पहुँच सायद राख्न सकेनौं । जनप्रतिनिधिका अतिरिक्त योजना आयोग र अर्थ मन्त्रालयमा आफ्ना मान्छे हुनुपर्ने रहेछ । अहिले जिल्लाबाट जम्माजम्मी एक जना सहसचिव (डाक्टर नारायण रेग्मी) निजामती प्रशासन सेवामा हुनुहुन्छ । त्यो कुराले राज्यबाट अधिकार लिन व्यावहारिक हिसाबले कठिनाइ पर्दोरहेछ । त्यसैले म जनप्रतिनिधि हुनासाथ सबै समस्या छुमन्तर हुन्छ जस्तो त लाग्दैन । तर पनि विस्तारै त्यो ‘ब्याकग्राउन्ड’ बनाउँछु । योजना आयोग तथा अर्थ मन्त्रालयमा जोसुकै होस्, त्यहाँ गएर योजना र बजेट पार्न घचघच्याउँछु । बाजुराका जनताले आधारभूत अधिकार प्राप्त गर्न नसक्नुका कारण आवश्यक बजेट तथा योजना नगएर पनि हो । त्यस्तै, राज्यका नीतिगत निकाय र निर्णय गर्ने तहमा हाम्रो क्षेत्रको प्रभाव कम छ । यसअघिका जनप्रतिनिधिले पनि भनेजस्तो ‘एड्भोकेसी’ गर्न नसकेकैै हुन् ।

यहाँ सत्ता गठबन्धनभित्रै मनमुटाव छ । तपाईंले चुनाव जित्ने आधारचाहिँ के छ ?

मसँग जो प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, उहाँ यसअघि पटक–पटक चुनाव लडिसकेको मान्छे हुनुहुन्छ । उहाँ मन्त्री भइसकेको मान्छे पनि हो । त्यस कारण यसपटक मतदाताले नयाँ र ऊर्जाशील व्यक्ति खोजिरहेका छन् । म जनताले खोजेजस्तो ऊर्जाशील मान्छे हुँ । केन्द्रीय राजनीतिमा पनि राम्रो प्रभाव र पहुँच राख्ने सक्ने भएकाले जनताले यसपटक मलाई अवसर दिन्छन् । अब रह्यो गठबन्धनको कुरा सर्वप्रथम त हाम्रो पार्टीको चुनाव हाम्रो सभापतिले दिने हो, उहाँहरुको पार्टीको टिकट उहाँहरुकै अध्यक्षले दिने हो । प्रदेशतर्फ ‘ख’ मा कुनै विवाद छैन । ‘क’ को सन्दर्भमा सकभर दुईमध्ये एक मिलाउने प्रयत्न भइरहेको छ । जिल्लास्थित तीन दलको संयन्त्रले पनि गठबन्धनलाई एक–आपसमा सहयोग गर्ने लिखित सहमति भइसकेको छ । मित्रवत् व्यवहार हुन्छ । हामी एक–आपसमा मिलेरै जान्छौं, कुनै असर पर्दैन ।

 तपाईं विद्यार्थीकालदेखि राजनीतिमै हुनुहुन्छ । राजनीति समाजसेवा हो कि व्यवसाय ?

राजनीति जनताका लागि गर्नुपर्दछ । जनताका लागि हुनुपर्दछ । निष्ठा, त्याग, समर्पण र सदाचारको क्षेत्र बन्नुपर्दछ, बनाउनुपर्दछ । बाजुराको प्रतिष्ठामा आँच आउने काम हुने छैन । मलाई हेर्नुहोला, मसँग प्रतिस्पर्धा गर्नेलाई हेर्नुहोला । मेरो जीवन हेर्नुहोला, उहाँहरुको जीवन हेर्नुहोला । अहिलेसम्म कालो टीका लगाएको छैन, लाउने पनि छैन । बाजुराको विकाससँगै सिंगो देश बनाउन अठोट र संकल्पका लागि राजनीतिमा होमिएको हुँ । व्यवसायका रूपमा लिने भए त म पहिल नै कुनै शैक्षिक, पत्रकारिता, व्यापार–व्यवसायमा लागिहाल्थे होला नि । कहिले सुन्नुुभएको छ ? बद्री पाण्डेले राजनीतिलाई व्यापार ग-यो भनेर ? म समाज सेवामै थिएँ । अहिले पनि छु र भविष्यमा पनि समाजसेवा गर्ने छु । त्यसैले यसपटक मेरो परीक्षा लिनुहोस् । म पास मात्र होइन बाजुराको विकासमा नयाँ उचाइ थप्नेछु ।

अन्तिममा, मतदातालाई केही भन्नु छ कि ?

मेरो आँखामा अथाह सपना छन् । मेरो मस्तिष्कमा निष्ठाको विचार छ । म जन्मेको माटो, मेरो जननीप्रति इमानदारिताका साथ काम गर्नेछु । बाजुराका सम्भावनालाई अझ मजबुत बनाई बाजुराको विकासमा नयाँ उचाइ थप्नेछु । मंसिर ४ गतेपछि केन्द्र र प्रदेश सरकारको नेतृत्व बाजुराले गर्नेछ । हामीले सभ्य समाज निर्माणका लागि राजनीति गरेका हौं । समाजमा उदण्ड मच्चाउने परिपाटिको अन्त्य हुनुपर्दछ । यो चुनाव मेरो पहिलो परीक्षा हो । पाँच वर्ष म डिक्टिङ्सन लिएर पास हुनेछ भन्ने आत्मविश्वास मसँग छ । त्यसैले मलाई बाजुरेली आमाबुबा, दाजुभाइ, दिदीबहिनीले अत्यधिक मतले विजयी गराउनुहुनेछ भन्नेमा विश्वस्त छु ।

१-मेरो आँखामा अथाह सपना छन् । मेरो मस्तिष्कमा निष्ठाको विचार छ । म जन्मेको माटो, मेरो जननीप्रति इमानदारिताका साथ काम गर्नेछु । बाजुराका सम्भावनालाई अझ मजबुत बनाई बाजुराको विकासमा नयाँ उचाइ थप्नेछु । २-मसँग जो प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, उहाँ यसअघि पटक–पटक चुनाव लडिसकेको मान्छे हुनुहुन्छ । उहाँ मन्त्री भइसकेको मान्छे पनि हो । त्यस कारण यसपटक मतदाताले नयाँ र ऊर्जाशील व्यक्ति खोजिरहेका छन् । म जनताले खोजेजस्तो ऊर्जाशील मान्छे हुँ । केन्द्रीय राजनीतिमा पनि राम्रो प्रभाव र पहुँच राख्ने सक्ने भएकाले जनताले यसपटक मलाई अवसर दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्