धमिलो पानीमा माछा मार्न खोज्दै स्वतन्त्र



बूढापाकाले भन्थे, ‘अरुले घोडा चढ्यो भनेर आफू धुरी नचढ्नू ।’ पहिले–पहिलेका मान्छेले भनेको यो कुरा सत्य र जीवनोपयागी पनि छ । अरुको लहैलहैमा लागेर कुनै काम गर्न नहुने बूढापाकाहरुको भनाइ छ ।

गत वैशाख ३० गतेको स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाबाट बालेन्द्र शाह विजयी भएपछि यतिखेर स्वतन्त्रहरुको ओइरो लागेको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा स्वतन्त्रको उम्मेदवारी अत्यधिक धेरै छ ।राजनीतिको ‘क’ पनि नजानेकाहरुले उम्मेदवारी दिएका छन् । बालेन विजयी भएको देखेकाहरुले केही ज्ञान नै नभईकन भकाभक उम्मेदवारी दिए । आगामी निर्वाचनपछि यिनीहरुको हरिबिजोग हुने निश्चित छ । बूढाखाडा नेतालाई गाली गरेर चुनाव जित्छु भन्ने मनसाय स्वतन्त्रहरुमा देखिन्छ । तर, राजनीति कति गाह्रो छ ? भन्ने यिनलाई थाहा छैन ।

बालेनले आज जनताबाट जति वाहीवाही पाएका छन्, त्यसलाई आधार बनाएर चुनावमा उठेका छन् । बालेनकै नाम बेचेर चुनाव जित्ने दाउमा छन्, स्वतन्त्रहरु ।स्वतन्त्रबाट आएका बालेनले काम गरे, अब हामी पनि गरेर देखाउँछौं भन्दै धमिलो पानीमा माछा मार्न खोजिएको छ । मौकामा चौका हान्न खोज्ने यी स्वतन्त्रहरुले अहिले जति फाइँफुट्टी लगाएका छन्, त्यसको नतिजा आगामी चुनावपछि अवश्य पनि देखिनेछ । बालेन विजयी भएको देखेपछि पत्रकारिता छोडेर राजनीतिमा लागेका रवि लामिछानेले पनि जनतालाई उल्लु बनाउने काम गरेका छन् । स्वतन्त्रले जित्छन् भनेर पार्टीको नाम नै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ राखेका छन् ।

यद्यपि, उनी स्वतन्त्रबाट चुनाव लड्न लागेका होइनन् । उनले पनि दाउ छोपेर पार्टीको नाममा स्वतन्त्र राखेका हुन् । उनको पार्टीबाट थुप्रै उम्मेदवार चुनावी मैदानमा छन् । पैसाले भरिपूर्ण रवि लामिछानेले करोड रुपैयाँ खर्च गरे पनि चुनाव जित्दैनन् । उनले हिजो सीधा कुरा जनतासँग भन्ने कार्यक्रम चलाए । नाम जनताको तर जहिले गाली नेतालाई गर्ने । पत्रकार पनि आफैं, वकिल पनि आफैं, न्यायाधीश पनि आफैं । आफैं मुद्दा ब्युँताउने अनि आफैं फैसला गरिदिने ।

ठूल्ठूला आवाजमा चिच्याएकै भरमा जनताले भोट दिन्छन् ? टिभीमा कार्यक्रम चलाउनेले राजनीति गर्न सक्छन् ? चुनाव जित्नका लागि उनले विभिन्न नौटंकी देखाइरहेका छन् । बूढाबूढीलाई भेटेजस्तो गर्ने अनि सामाजिक सञ्जालमा पोस्ट गर्ने । चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेलाई जित्न साह्रो सकस छ । जुन हावादारीमा उम्मेदवारी दिएका छन्, त्यो अनुसार त दुई सय भोट आउन पनि मुस्किल देखिन्छ ।

हिजो उनलाई शालिग्राम पुडासैनी मृत्यु प्रकरणमा समात्दा जति जनता भेला भएका थिए, ती सब चितवनवासी थिएनन् । रातारात गाडीका गाडी मान्छे लगेर आन्दोलन गर्न लगाइएको थियो । त्यतिखेर उनी राप्रपाको समर्थनमा थिए । हिन्दू राज्य ब्युँताउनुपर्छ, संघीयता खारेज गर्नुपर्छ, राजतन्त्र फर्काउनुपर्छ भन्ने लामिछानेको पछाडि उत्रिने अधिकांश राप्रपाकै कार्यकर्ता थिए । न उनलाई त्यतिखेर चितवनवासीको साथ थियो, न अहिले नै छ । मौकाको खोजीमा हिँड्नेहरु रवि लामिछानेजस्ता हुन्छन् भन्ने त यहीँबाट प्रस्टिएको छ ।

राजा चाहिन्छ भनेर उफ्रिने आज आफ्नै पार्टी खोलेर हिँडेका छन् । हिजो आफूलाई चौकीबाट निकाल्ने जतिलाई त यिनले बिर्सिए । अहिले त राजाको कुरा सामसुम भयो । आफूलाई जता फाइदा हुन्छ, त्यतै लाग्नेहरुबाट के विकास होला ? फाइदा हुन्जेल राजाको गुलामी ग¥यो, संघीयता खारेजीको कुरा ग¥यो अहिले मुखमा बिर्को लाग्यो । स्वतन्त्रबाट लड्ने पनि दुई थरीका छन् । कोही हावादारीको भरमा उठेका छन्, कोही टिकट नपाएर स्वतन्त्रमा उठेका छन् ।पार्टीमा लागेर २० औं वर्ष जनताको काम गरे पनि पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उठ्नेहरुले चुनाव जित्न सक्छन् । किनकि उनीहरुसँग अनुभव पनि छ र उनीहरुले जनता पनि चिनेका छन् ।

आमाको पसलमा चिया र सेल खान आएका नेतालाई चिनेकै भरमै चुनाव लड्नेलाई जनताले के आधारमा भोट दिने ? डाक्टर, इन्जिनियरलाई किन भोट दिने ? यिनीहरुले कहिले जनताको सेवा गरेका छन् ? अहिले चिकित्सा पेसा छोडेर राजनीतिमा लागेका छन् ।भोलि हारेपछि फेरि पनि त्यही पेसामा फर्किन्छन् । हिजो लठ्ठी खाने बेलामा यिनीहरु कहाँ थिए ? अरुले लाठी खाइदिएर, टाउको फुटाएर ल्याएको व्यवस्थामा रजगज गर्न खोज्नेहरुलाई जनताले जिताउनुहुँदैन । डाक्टर बनेर टन्न कमायो अनि नाम कमाउनका लागि राजनीतिमा आउनेहरुलाई जनताले लखेट्नुपर्छ । आज स्वतन्त्रहरुले जति नेताहरुलाई गाली गरिरहेका छन्, त्यो व्यवस्था पनि त्यही बूढा नेताले ल्याइदिएका हुन् । नेता भनेको निरन्तर लागिरहनुपर्छ ।

अहिले जति स्वतन्त्रहरु छ्याप्छ्याप्ती भएका छन्, चुनाव हारेपछि यिनीहरु सेलाउँछन् । भित्रभित्रै पस्छन्, आफ्नो पेसामा फर्किन्छन् अनि अर्कोचोटिको चुनावमा फेरि बाहिर आउँछन् । मौकाको खोजीमा बसेकाहरुलाई जनताले चिन्नुपर्छ । गरेर देखाएको भए कराउनु पनि उचित हुन्थ्यो । कहिले राजनीति नै नगरेकाहरु बुरुकबुरुक उफ्रिनु बेकार हो । अहिले स्वतन्त्रहरुले ‘नो नट अगेन’ अभियान चलाएका छन् । तर, के आधारमा यो अभियान चलाएका छन् ?व्यवस्था परिवर्तन गर्नका लागि बूढाखाडा नेताले जति योगदान दिए, यिनीहरुले दिन सक्छन् ? कहिले जेल गएर बसेका छन् ? प्रहरीले टाउको फुटाएर रक्ताम्मे भएको अनुभव स्वतन्त्रसँग छ ? नेतालाई गाली गर्न यिनीहरुलाई सजिलो भएको छ तर ती नेताजति काम गर्न सक्ने क्षमता यिनीहरुसँग छ ? जति दुःख सहेर नेताहरु यहाँ आइपुगेका छन्, अहिलेका स्वतन्त्रसँग त्यसको आधा पनि क्षमता छैन । तिनीहरुको भाषण सुन्दा यो स्पष्ट भइसकेको छ ।

घर चलाउन नसक्नेहरु राजनीतिको दौडमा छन् । जसरी आएका छन् त्यसरी नै यिनीहरु फर्किने छन् । देशका कुनै–कुनै नेताले भ्रष्टाचार गरे होलान् तर सबै त्यस्ता छैनन् । राजनीति गर्दागर्दै सबै जायजेथा सकाएका नेताहरु पनि यहाँ छन् । त्यागी नेता पनि भेटिन्छन् । कुनै एजेन्डाविनै राजनीतिमा छिरेका छन् । कुनै भिजन नै नभएपछि बूढाखाडा नेतालाई गाली गर्नु नै एजेन्डा बनाएका छन् ।

भोलि सांसद्मा उभिएर यिनीहरुले कानुन बनाउन सक्छन् ? कानुन बनाउन त त्यति सजिलो छैन । अहिले आफ्नो इच्छा लागेको कुरा बोल्न र लेख्न पाउने अधिकार बूढा नेताले दिएका होइनन् र ? हिजोको अवस्था कस्तो थियो ? एकचोटि फर्केर हेरौं । राणा शासन फाल्ने र पञ्चायती व्यवस्था हटाउने बूढा नेता होइनन् र ? कि रवि लामिछानेले हटाएका हुन् ? कि त राजनीति नै थाहा नभएका स्वतन्त्रले उखेलेर फालेका हुन् ? ६० वर्ष कटेका नेताहरुलाई गाली गर्नुअघि तिनले हामीमाथि गरेको योगदान हेरौं ।

कतिले पदमा पुगेर कमाए होलान्, आफन्तलाई जागिर लगाए होलान् । तर, कतिले राजनीति गर्दागर्दै आफ्नो जिन्दगी सकाएका छन् । भ्रष्टाचार गर्नेलाई कारबाही गर्नुपर्छ तर आजसम्म पदमै नपुगेका नेताले कहाँबाट भ्रष्टाचार गरोस् ? कि त जसले भ्रष्टाचार ग¥यो उसको नाम खुलाउन सक्नुप¥यो । अनि जथाभावी गाली गर्न पाइन्छ ? स्वतन्त्रहरुले एक–दुई सिट जित्लान् तर अन्तिममा पार्टीकै बहुमत आउने हो । स्वतन्त्रलाई भोट दिनु भनेको आफ्नो मत खेर फाल्नु हो ।
– रुषा थापा ।

प्रतिक्रिया दिनुहोस्