काठमाडौं–६ का मतदाताको रोजाइमा सर्वेन्द्र खनाल



काठमाडौं । 

आउँदो मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनको तयारी तीव्र रूपमा भइरहेको छ । विभिन्न दलका उम्मेदवार अहिले घरदैलो र मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् ।

यसै क्रममा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेर प्रहरी महानिरीक्षक भई अवकाश पाएका सर्वेन्द्र खनाल अहिले नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुभएको छ । लामो समय सुरक्षा निकायमा काम गरेर अहिले दलीय राजनीतिमा होमिएका उहाँ स्पष्टवादी वक्ता रूपमा समेत चिनिनुहुन्छ ।

संगठनले दिएको जिम्मेवारी पूरा गर्न कहिले नहिचकिच्याएका खनाल यसपटक आफू संसद्मा निर्वाचित भएर जनताको सेवा गर्न लागेको बताउनुहुन्छ । काठमाडौं क्षेत्र नम्बर ६ आधा नेवार समुदाय र आधा अन्य जातजाति बसोवास भएको क्षेत्र हो । बिहान उठेदेखि राति अबेरसम्म अहिले खनाल जनताका माझमा रहँदै आउनुभएको छ । प्रहरी संगठनमा कार्यरत रहँदा कहिले पनि उहाँले संगठनले खटाएको ठाउँमा जान हिचकिच्याउनुभएन, चाहे माओवादी युद्धका बेला होस् या मधेस आन्दोलनको बेला होस् ।

खनाल आफूलाई एक निडर र निर्भिक प्रहरी अधिकृतका रूपमा आफूलाई उभ्याउन सफल हुनुभयो । जागिरका अन्तिम महिनादेखि नै आफूमा अझै हिम्मत र साहस रहेकाले जनताको सेवामा लाग्ने सोच बनाउनुभएको थियो । प्रहरी महानिरीक्षकबाट अवकाश पाएपछि खनालले मुलुकको राजनीतिलाई अझै नजिकबाट निहाल्ने काम गर्नुभएको थियो । मुलुकको समकालीन राजनीतिज्ञमध्ये को असल होला भन्ने उहाँमा कौतुहलता जाग्न थाल्यो । २२ महिना प्रहरी महानिरीक्षक हुँदा त्यस बेला मुलुकको प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । उहाँको काम गर्ने शैली र प्रहरी प्रशासनमा एकाधबाहेक ओलीले कहिल्यै हस्तक्षेप गर्नुभएन ।

उहाँले मुलुकका लागि उठाउँदै आएको मुद्दासँग आफू पनि प्रभावित भएको बताउँदै खनालले भन्नुभयो– ‘अहिलेको समकालीन राजनीतिलाई नजिकबाट हेर्ने हो भने अध्यक्ष ओलीजस्तो प्रस्ट भिजन भएको नेता मैले देखेको छैन । त्यही देखेर नै म एमालेप्रति आकर्षित भएको हुँ ।

लामो सोच विचार गरेर एमाले प्रवेश गरेको हुँ ।’ बाल्यकालदेखि अहिलेसम्मको उमेर सोही क्षेत्रमा बितेकाले र हरेक मतदाताले आफूलाई नजिकबाट चिनेकाले आफू निर्वाचित हुनेमा उहाँ ढुक्क हुनुहुन्छ । ‘मसँगै उम्मेदवारी दिएका सत्ता गठबन्धनका उम्मेदवार भीमसेनदास प्रधान सो क्षेत्रमा पटक–पटक निर्वाचित भएको व्यक्ति हुनुहुन्छ । तर, उहाँले आफ्नो क्षेत्रको विकास निर्माणमा ध्यान दिएको कहिल्यै पाइनँ’, खनाल भन्नुहुन्छ– ‘मेरो उम्मेदवारी चुनावका लागि मात्रै होइन, मुलुकलाई केही गर्नुपर्दछ भन्ने स्पष्ट भिजनका साथ आएको छु ।

अहिले जहाँ–जहाँ मत माग्न गएको छु, त्यहाँका मतदाता उत्साहित हुनुहुन्छ । उहाँहरुले विगतको मेरो कामलाई नजिकबाट हेर्नुभएको रहेछ । तपाईं स्पष्ट्रवादी मान्छे हो । तपाईंले केही गर्नुहुन्छ भन्ने हामीले सोचेका छौं । हिजो जसलाई भोट दिएको भए पनि यसपटक हामी तपाईंलाई नै भोट दिने हो भन्ने गरेका छन् ।’ मतदातामा देखिएको उत्साहले आफूलाई थप ऊर्जा मिलेको उहाँको कथन छ । ‘राजनीति मेरो पेसा थिएन, त्यसैले सिक्दै छु । म कसैसँग झुटो बोलेर राजनीति गर्दिनँ ।

एउटा झुटलाई सत्य सावित गर्न सयौं झुट बोल्नुपर्ने भएकाले जनतालाई गर्न सक्ने काम मात्रै भन्दै आएको छु’, खनाल भन्नुहुन्छ– ‘परम्परागत बसोवास भएको ठाउँदेखि विभिन्न ठाउँबाट बसाइ सरेर आएकाको समस्या फरक–फरक रहेको पाएँ । उहाँहरुको गुनासालाई लिपिबद्ध गरेर राखेको छु । निर्वाचित भएपछि क्रमशः कार्यान्वयन गर्दै जानेछु ।’ दलहरुप्रति जनताको वितृष्णा पैदा किन भयो भनेर प्रश्न गर्दा उहाँ भन्नुहुन्छ– ‘यहाँका अधिकांश मतदाताको एउटै उत्तर आउने गरेको छ । राजनीति गर्नेहरुले आश्वासन मात्रै दिए, मुलुकलाई केही दिन सकेनन् । मतदाताहरुको आकांक्षालाई ध्यानमा राखेर मैले पार्टी अध्यक्षलाई पनि जनताको कुरा सुनाएपछि उहाँ पनि गम्भीर हुनुहुन्छ ।’

खनालको चुनावी अभियानमा पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यदेखि काठमाडौ महानगरपालिकाका पूर्वमेयर केशव स्थापितसम्म लाग्नुभएको छ । युवा मतदाताको अकर्षण बन्दै गएका खनाललाई विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरुले समेत सहयोग गर्दै आएकाले आफ्नो विजयप्रति ढुक्क रहँदै आउनुभएको छ ।काठमाडौं क्षेत्र नम्बर ६ मा पुरुष मतदाता २९ हजार ९ सय ३२, महिला मतदाता ३२ हजार १ सय ३८ र अन्य मतदाता १ जना रहेका छन् । जम्मा ६२ हजार १ सय २ जना मतदाता रहेको सो क्षेत्रमा १३ दलबाट १३ जना उम्मेदवार छन् । जसमा ११ जना स्वतन्त्र उम्मेदवार छन् । सो क्षेत्रमा २३ जना पुरुष उम्मेदवार रहेका छन् भने एक जना महिला उम्मेदवार रहेकी छन् ।

उम्मेदवारी दिएका २४ उम्मेदवारमध्ये खस आर्यबाट ६६ दशमलव ६७ प्रतिशतले उम्मेदवारी दिएका छन् । आदिवासी जनजातिबाट २९ दशमलव १७ प्रतिशत र ४ दशमलव १७ प्रतिशत दलित समुदायको उम्मेदवारी परेको छ । सो क्षेत्रमा मतदानस्थल ३२ वटा रहेको छ भने मतदान केन्द्र ७५ वटा रहेको छ । सो क्षेत्रअन्तर्गत काठमाडौंको उत्तरी क्षेत्र तारकेश्वर नगरपालिकाको ८ वटा वडा, टोखा नगरपालिकाको ५ वटा वडा र काठमाडौं महानगरपालिकाको २६, २७ र २८ वटा वडा रहेको छ । काठमाडौं महानगरपालिकाको बागबजार, ठमेल, असन, इन्द्रचोक, सामाखुसीलगायतका क्षेत्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्