२०७४ कै कांग्रेसका थापा र एमालेका भट्टराईबीच कडा प्रतिस्पर्धा

काठमाडौं–४ मा कसको पल्ला भारी



काठमाडौं ।

काठमाडौं क्षेत्रनम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । विगतका निर्वाचनको मत परिणाम र अहिलेको निर्वाचन माहोल हेर्दा पुरानै प्रतिस्पर्धीहरू थापा र भट्टराईबीच नै टक्कर हुने देखिएको हो । यद्यपि, यो क्षेत्रमा १४ स्वतन्त्रसहित ३१ उम्मेदवार प्रतिस्पर्धामा उभिएका छन् ।

दुईपटक सोही निर्वाचन क्षेत्रबाट निर्वाचित थापा कांग्रेस पार्टीभित्र र जनतामाझ उत्तिकै लोकप्रिय रहेको जिकिर गर्दै स्थानीय नवराज दाहालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पछिल्लो समयमा उहाँको पक्षमा खुल्दो जनमतले थापालाई जितको आधार तय गर्न सहज बनेको छ ।’ थापासँग २०७४ सालकै प्रतिद्वन्द्वी चुनावी मैदानमा प्रतिस्पर्धीका रूपमा रहेकाले राजधानीको अन्य क्षेत्रको तुलनामा यो क्षेत्रको चुनावी माहोल चर्चायोग्य छ ।

कात्तिक १७ बाट चुनावी अभियानलाई तीव्र बनाएका थापा र भट्टराई दुवैले आफ्नो जितको दाबी गर्नुभएको छ । निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै कांग्रेस नेता थापाले निर्वाचनपछि सरकार सञ्चालनको जिम्मेवारी आफैंले सम्हाल्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो– ‘यसपटक मेरो विशेष अनुभवका आधारमा मौका पाउँदै गर्दा पार्टीको पनि मूल जिम्मेवारीमा र मेरो प्रयत्न अहिलेसम्म ड्राइभिङ सिटमा आफंै बसेर पाँच वर्ष देश सञ्चालन गर्ने हुनेछ ।’ उहाँकोे यो अभिव्यक्तिपछि देशको भावी प्रधानमन्त्री चुन्ने निर्वाचन क्षेत्रको रूपमा त्यहाँका मतदाता उत्साहित बनेका छन् । यस्तै, स्वास्थ्य मन्त्री हुँदा बूढानीकण्ठमा स्थापना गरेको घरमै पुगेर सेवा दिने स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापनालगायत यस क्षेत्रमा गरेको योगदानले पनि थापाको जनमत बढाएको स्थानीयहरू बताउँछन् ।

प्रधानमन्त्रीकै दाबी गरेका र आफ्ना विचार तथा अभिव्यक्ति प्रस्ट राख्न सक्ने र कुशल संगठकका रूपमा पहिचान बनाउन सफल नेता थापाको पक्षमा जनमत विस्तारै संग्लिदै गएको कांग्रेसका नेता विनोद चालिसेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘थापाले राष्ट्रिय मुद्दामा लिँदै आएको स्ट्यान्डले जितलाई अझ बल पु-याएको छ । सदनमा राष्ट्रियताको सवाल होस् या भूगोलको विकास र नागरिकको सुखदुःख, सबै तहमा उहाँको त्यत्तिकै सक्रियता छ । यो नै थापको जितको दर्बिलो आधार हो ।’

थापाले २०७४ सालमा एमाले माओवादी गठबन्धनका उम्मेद्वार भट्टराईलाई पराजित गर्नुभएकोे थियो । थापाले २१ हजार ५ सय ५८ (४९.५२ प्रतिशत) मत प्राप्त गर्दा भट्टराईको पक्षमा १८ हजार १ सय ४० मत अर्थात् (४१.६७ प्रतिशत) मत खसेको थियो । थापासँग त्यतिबेला ३ हजार ४ सय १८ मतान्तरले चुनाव हारेका भट्टराईको संगठन यसपटक अझ कमजोर बनेको छ । पार्टी फुटेसँगै संगठनमा क्षति व्यहोरेको एमालेसँग माओवादीसमेत टाढीएपछि थापा पक्षलाई यो निर्वाचन जित्न सहज देखिन्छ । त्यतिबेला अहिले गठनबन्धनमा रहेका माओवादी र एकीकृत समाजवादीको साथ भट्टराईलाई थियो । अहिले यी दुवै पार्टीको समर्थन थापालाई छ ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा गठबन्धन उम्मेदवार थापाकै अवस्था बलियो देखिन्छ । काठमाडौं–४ मा पर्ने वडाहरूमा एमालेले पाएको कुल मत १६ हजार ९ सय ८१ छ । कांग्रेसको १६ हजार ८४, एकीकृत समाजवादीको २ हजार ६ सय ८८, माओवादीको ८ सय ७३ मत जोड्दा १९ हजार ६ सय ४५ मत पुग्छ । जुन एमालेको भन्दा २ हजार ६ सय ६४ मतले बढी छ ।

थापालाई तटस्थ भोट तान्न सक्ने आफ्नो क्षमता र एजेन्डाले समेत साथ दिएको छ । काठमाडौं क्षेत्र नं ४ को प्रदेशसभामा एकीकृत समाजवादीका कुशुम कुमार कार्कीलगायतको समूहले गठबन्धनका साझा उम्मेदवार थापालाई निसंकोच सहयोग गर्ने अवस्था भएकाले एकीकृत समाजवादीका पक्षमा रहेका भोट पनि गगनलाई जाने देखिन्छ ।उता, एमालेको विभाजन र माओवादीसमेतको असहयोगका कारण एमालेको जनमत केही खस्कने अवस्थामा छ । एमालेको चुनाव प्रचारमा उत्साहजनक सहभागिता नहुनुले समेत यसलाई पुष्टि गर्ने मतदाताहरू बताउँछन् ।

एमाले सरकारमा रहँदा गरेका विवादित र संसद् विघटनजस्ता अलोकप्रिय कामका कारण पनि एमालेको पक्षमा मत घट्ने नेताहरूको तर्क छ । एमालेको घोषणापत्र नै आधारभूत रूपमा आफ्नो एजेन्डा भएको बताउने भट्टराई भन्नुहुन्छ– ‘खासगरी राष्ट्रिय हित र राष्ट्रिय मामलमा अडान लिने, सीमा व्यवस्थापन, विदेश नीतिलाई सन्तुतिल गर्ने, समृद्ध नेपाल र सुखी नेपालीको अवधारणा कार्यान्वयन गर्ने विषय मेरा एजेन्डा हुन् ।’ उसो त एमालेको घोषणापत्रलाई काल्पनिक र सम्भव नहुने सपनाको आरोप लाग्ने गरेको छ । अघिल्लो निर्वाचनमा मतदातासँग साक्षात्कार गरिसकेका भए पनि भट्टराई स्थानीय माझ परिचित नभएको स्थानीयको भनाइ छ ।

अर्थशास्त्री डा. स्वर्णीम वाग्लेले गगनलाई कांग्रेसभित्रका आशालाग्दो र निर्वाचित भएर देशको नेतृत्वमा आउनुपर्ने नेताको रूपमा आफूले देखेको बताउनुभयो । कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले समेत थापालाई आफैंले प्रधानमन्त्रीको प्रस्ताव गर्ने भन्दै सामाजिक सञ्जालमार्फत भिडियो बनाएर थापाको पक्षमा मत मागि दिनुभएको छ ।

थापाले आफ्नो एजेन्डामा यस क्षेत्रको मुख्य समस्यामा रूपमा रहेको कपन डुबान समस्या समाधान, सार्वजनिक जग्गा संरक्षण, युवा रोजगारीको सुनिश्चितता, स्वास्थ्य संस्थाहरूको व्यवस्थापन तथा स्तरोन्नति, खानेपानी, ढल व्यवस्थापनलगायतलाई समेट्नुभएको छ । उहाँकै पलहमा आयोजना सम्पन्न नभएसम्म बजेट व्यवस्थापन हुनेगरी ‘धोबिखोला–बूढानीलकण्ठ कपन डुबान आयोजना, काठमाडौं ४ मा सुवर्ण शम्शेर क्रिक्रेट स्टेडियम निर्माणलगायतका आयोजनाहरूलाई थापाले चुनावी मुद्दा बनाउनुभएको छ ।

थापाका समर्थकले मुख्य प्रतिस्पर्धी भट्टराईले नेपाल–भारत सम्बन्ध बारेमा रिसर्च गर्न चीनियाँ राजदुताबासमार्फत १५ लाख लिएको प्रमाणसहित फेला परेको भन्दै आलोचना गर्ने गरेका छन् । यसले पनि थापाको जितलाई थप बल पुगेको जानकारहरू बताउँछन् । यद्यपि, गगन थापाले स्थानीय कपन खहरे व्यवस्थापन गर्न नसकेको र एमसीसी पास गर्ने कुरामा अडान लिएको भन्दै भट्टराई समूहले चुनावी मुद्दा बनाएका छन् ।

काठमाडौं क्षेत्रनम्बर ४ मा काठमाडांै महानगरपालिका वडानम्बर १, ७, ८, ३० र बूढानीलकण्ठ नगरपालिकाका वडानम्बर १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा पर्दछन् । उक्त क्षेत्रको मतदाता संख्या ६९ हजार ७ सय ५२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्