सहकारीले गर्यो २५ हजार ऋण ‘मिनाहा’को निर्णय



काभ्रे।

गौरीशंकर साना किसान कृषि सहकारी संस्था लिमिटेड धुलिखेल १२ शंखुपाटीचौरको ११ औ तथा एकिकरण पश्चातको दोश्रो साधारण सभाले सहकारीबाट कर्जा लिई ब्यवसाय गर्न खोजेको तर सफल हुन नसकी कर्जा भुक्तान गर्न नसकेका अति गरिब जग्गा जमिन केही नभएका आर्थिक रुपमा विपन्न केही गर्दा पनि कर्जा असुल हुन नसक्ने सदस्यहरुको बढीमा २५ हजार सम्मको कर्जा समूह तथा अन्तर समूहको सिफारिसमा मिनाहा दिने निर्णय गरेको छ ।

‘सहकारीबाट ब्यवसाय गर्न १२ करोड २२ लाख ६९ हजार ५ सय ९६ ऋण लिनेहरु मध्येबाट ४० लाख ९२ हजार ८ सय ५५ रुपियाँ ब्याज असुल गर्न बाँकी छ’–अध्यक्ष सिताराम भट्टराईले भन्नुभयो–‘जग्गा जमिन नभएको, आर्थिक श्रोत नभएको तथा केही गर्दा पनि रकम तिर्न नसक्ने शेयर सदस्यहरुको सूची तयार गरी समूह र अन्तर समूहबाट सिफारिस भएर आएको अवस्थामा त्यस्ता ऋणीहरुको नाममा रहेको २५ हजार ऋण मिनाहा गरिनेछ ।’ संस्थाले विभिन्न ब्यवसायका लागि लगानी गरेको मध्ये आर्थिक वर्षको अन्त्यसम्ममा ९ करोड ६१ लाख ३४ हजार असुल हुन बाँकी छ ।

सभाले तरकारी संकलन केन्द्र स्थापना गर्ने, दुध संकलन केन्द्र स्थापना गर्ने, संस्थाको कार्यक्षेत्र रहेको धुलिखेल, पनौती र नमोबुद्ध नगरपालिका भित्र तरकारी तथा पशुपालन फर्म वा त्यस्तै प्रकृतिका ब्यवसाय गरी कृषि क्षेत्रमा रोजगारी वृद्धि गर्ने, स्थानीय स्तरमा स्वरोजगार सिर्जना गर्न शेयर सदस्यहरुका लागि स्थानीय रुट धुलिखेल बतासे शंखु एक्लेखेत भालुखर्कमा अटोरिक्सा संचालन गर्न इच्छुक बढीमा ५ जनालाई ५ लाख रुपियाँसम्म ३ प्रतिशतमा ब्याजमा ऋण प्रदान गर्ने निर्णय गरेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

संस्थाले गत आर्थिक वर्षमा १ हजार ६ सय २५ शेयर सदस्यहरुकालागि ५० प्रतिशत अनुदानका कृषि उपकरणहरु उपलब्ध गराएको थियो भने मकै छोडाउने मेशिन अन्तर समुहहरुमा नि:शुल्क वितरण गरिएको थियो । डिस मिल, कम्बाईन मिल, मकै छोडाउने मेशिन, स्पे्र पम्पहरु समेत गरी संस्थाले ७ लाख ९० हजारका उपकरणहरु कृषि ज्ञान केन्द्र र सुपरजोन काभ्रेबाट प्राप्त गरेको थियो ।

संस्थाले सदस्यहरुका लागि सहुलियत पूर्ण कृषि कर्जा ३ प्रतिशतको ७२ लाख, पशुपालन कर्जा ९ प्रतिशतको १ करोड १० लाख प्राप्त गरेको थियो । ब्यक्तिगत उद्यम कर्जाका लागि एक ब्यक्ति बराबर ५० लाख ऋण सहुलियतमा प्राप्त हुने भए पनि कुनै पनि शेयर सदस्यले उक्त ऋणको माग नगरेको अध्यक्ष भट्टराईले बताउनु भयो । कृषि उपकरण र ऋण प्राप्त गरेको भए पनि उत्पादनका लागि आवश्यक पर्ने सरकारले उपलब्ध गराउने रासायनिक मल सदस्यहरुलाई ५ केजी देखि १० केजीमात्रै उपलब्ध गराउन सकेको अध्यक्ष भट्टराईले बताउनु भयो । मल अभावकै कारण उत्पादनमा हस आएको उहाँले बताउनु भयो ।

सभामा ऋण उपसमिति संयोजक चन्द्रमान तामाङले ऋणको विमा गर्ने, धितो ऋणको सिमा वृद्धि गरी १५ लाख पु¥याउने, समुह जमानीमा अन्तर समूहको सिफारिसमा १ लाख रुपियाँसम्म लघु कर्जा त्रैमासिक किस्तामा उपलब्ध गराउने, पुशपालन, जिवीकोपार्जन ऋण लगानीसँगै असुलीमा ध्यान दिनु पर्ने बताउनु भयो ।
पशु विमा समितिका संयोजक हर्कजित तामाङले सहकारी मार्फत १ सय १७ वटा पशु बिमा गरिएकोमा २ वटा गाई र २ वटा भैँसी क्षति भएकाले क्षतिपूर्ति बापत २ लाख ६१ हजार रुपियाँ प्राप्त भएकाले शेयर सदस्यहरुले पशुहरुको अनिवार्य विमा गर्दा क्षति कम हुने बताउनु भयो । विमाका लागि ३ लाख ४६ हजार अनुदान प्राप्त भएको थियो । प्रवन्धक प्रकाशकुमार श्रेष्ठले संस्थाको बार्षिक गतिविधिका बारेमा जानकारी गराउँदै शेयर सदस्य कृषकहरुका लागि विउ तथा उपकरण उपलब्ध गराउँदै सहुलियत कर्जा समेत प्रभाव गरेको बताउनु भयो । लेखा समितिका संयोजक रााधाकृष्ण फैजुले संस्थाले आर्थिक कारोवारमा थप प्रविधिमैत्री बनाउँदै संस्थालाई चुस्त दुरुस्त बनाउन सुझाव दिनु भएको थियो ।

सभामा बोल्दै नेपाल कृषि सहकारी केन्द्रीय संघ एवं साना किसान लघुवित्त वित्तिय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले साना किसान कृषि सहकारीले समुदाय स्तरमा चेतना, सिप, प्रविधिसँगै आत्मनिर्भर बनाएको बताउनु भयो । देशभरका साना किसान सहकारीले ३ हजार १ सय शेयर सदस्यहरुलाई इजरायलको कृषि प्रविधिको तालिम सिकाएर नेपाल फर्काएको बताउनु भयो ।

नेपालमा कृषिमा सम्भावना भए पनि तालिम, प्रविधि र इच्छा शक्ति नभएका कारण उत्पादन हुन नसकेको उहाँले बताउनु भयो । ‘एकातिर उत्पादन गर्न सकिदैन, अर्काेतिर उत्पादन भएको सामाग्रीलाई बजार पठाएर उचित मुल्य लिन सकिदैन’–अध्यक्ष पाठकले भन्नुभयो–‘उत्पादक र प्रयोगकर्ता बीचको सम्वन्धलाई विचौलियाले निर्धारण गरिरहेका छन् ।

सहकारी आफैले सामान उत्पादन गर्ने, विक्री वितरण गर्ने, भण्डारण गर्ने र उत्पादनका लागि प्रविधि तथा अन्य उपकरणहरु उपलब्ध गराउनु आवश्यक छ ।’ सभामा जिल्ला अध्यक्ष सुमन नेपालले शेयर सदस्यहरुलाई उद्यमी र ब्यवसायीक कृषक बनाउनु पर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिना, वडा अध्यक्ष मोहन लामिछाने, निवर्तमान वडा अध्यक्ष हर्कबहादुर तामाङ, संस्थाका उपाध्यक्ष सुर्वण श्रेष्ठ लगायतले गौरीशंकर साना किसान कृषि सहकारीले उक्त क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्