डेढ अर्बको चिया र कफी निर्यात



काठमाडौं ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा झण्डै डेढ अर्बको चिया र कफी निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार तीन महिनामा नेपालले १ अर्ब ३३ करोड ९९ लाख २६ हजार रुपियाँको ५७ लाख ८५ हजार ९०७ किलो चिया र कफी निर्यात गरेको छ ।

उक्त अवधिमा १ करोड ९९ लाख ७२ हजार रुपियाँको कफी र १ अर्ब ३१ करोड ९९ लाख ५४ हजार रुपियाँको चिया नेपालबाट भएको छ । नेपालबाट ‘ग्रिन टी’ र ‘ब्ल्याक टी’ निर्यात हुने गरेको छ ।चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको कफी अस्ट्रेलिया, अस्ट्रिया, जर्मनी, हङकङ, भारत, इटाली, जापान, दक्षिण कोरिया, स्वीट्जरल्यान्ड, ताइवान र अमेरिका निर्यात भएको छ ।

त्यस्तै, अस्ट्रेलिया, अस्ट्रिया, क्यानडा, चीन, भारत, चेक रिपब्लिक, इन्डोनसिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, हंगेरी, जापान, दक्षिण कोरिया, लिथुवानिया, नेदरल्यान्ड्स, न्यूजील्यान्ड, स्वीट्जरल्यान्ड, बेलायत, अमेरिका, रोमानिया, रुस र नामिबिया गरी विश्वका २२ देशमा नेपालको चिया निर्यात भएको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले १ अर्ब ४ करोड ५० लाख ७० हजार रुपियाँको चिया तथा कफी निर्यात गरेको थियो । नेपालले ३ महिनामा १४ करोड ८० लाख रुपियाँ खर्च गरी ५ लाख ११ हजार ७ सय ५३ किलो चुइगम आयात भएको छ । गत आर्थिक वर्षमा नेपालले ४ लाख ८९ हजार १ सय ५४ किलो चुइगम आयात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्