मुक्तिनाथ विकास बैंकद्धारा कर्जा मिनाहा



स्याङ्जा।

मुक्तिनाथ विकास बैंक लिमिटेडद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरिएको छ । विगत १६ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस बैंकले देशभरका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको हो । सबै शाखाहरु मार्फत भर्खरै वित्तिय साक्षरता सम्पन्न गरेको बैंकले अहिले अति विपन्नको कर्जा मिनाहा गर्ने कार्यक्रम ल्याएको छ ।

मुक्तिनाथ विकास बैंकले कर्जा लिएका सदस्यको कर्जा मिनाहा गरेको छ । बैंकले स्याङ्जाको अर्जुनचौपारी शाखा अन्तर्गत लद्युवित्त मार्फत कर्जा लिएका सदस्यको मृत्युपछि कर्जा मिनाहा गरेको हो । बैंक मार्फत कर्जा लिएका अर्जुनचौपारी गाउँपालिका १ रैतेका डिलमाया विश्वकर्माको मृत्युपछि कर्जा मिनाहा गरेको बैंकले जनाएको छ । १ लाख ५० हजार कर्जा लिएका सदस्यको तिर्न बांकी साँवा, व्याज र तिरे सकेको साँवा र ब्याज समेत बैंकले फिर्ता गरेको छ ।

कर्जा लिएर तिर्न बाँकी रहेको साँवा र ब्याज ६ हजार ७ सय ६ रुपैयाँ सहित तिरीसकेको साँवा र ब्याज रकम १ लाख ६६ हजार ५ सय २० रुपैयाँ तथा काजक्रिया खर्च स्वरुप ७ हजार ५ सय गरी १ लाख ८० हजार ७ सय २६ रुपैयाँ मृतकका पति ठाकुर विश्वकर्मालाई हतान्तरण गरेको बैंकले जनाएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत कर्जा वापत फिर्ता गरेको तथा तिर्न बाँकी साँवा र ब्याज रकम फिर्ता गरी मिनाहा गरिएको बैंकका अर्जुनचौपारी शाखा प्रमुख निर्मल मरासिनीले बताउनुभयो । लघुवित्त मार्फत कर्जा लिएका सदस्यको मृत्यु भएमा कर्जा रकम मिनाहा गरी काजक्रिया खर्च समेत बैंकले दिने गरेको मरासिनीले जानकारी दिनुभयो ।

मृतक विश्वकर्माका परिवारलाई रकम हस्तान्तरण कार्यक्रममा बोल्दै अर्जुनचौपारी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष रणबहादुर थापा र मुक्तिनाथ विकास बैंक स्याङ्जाका अनुगमन अधिकृत बालकृष्ण रेग्मीले समग्रमा हेर्दा बैंक नाफामुखी भएपनि समस्या आईपर्दा सेवाग्राहीको सारथी बन्ने गरेको बताउनुभयो ।

२०६३ देखि “जनता बैंकमा होईन, बैंक जनतामा जानुपर्छ” भन्ने मुल नारा सहित आधुनिक, लघुवित्त र सिमित बैंकिङ्ग कारोबार गर्दै आएको मुक्तिनाथ विकास बैंकले स्थापना कालदेखि लघुवित्त मार्फत विपन्न तथा महिलाको आर्थिक विकासमा टेवा पुर्‍याउँदै आएको छ । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्