पर्यटन विकासमार्फत रोजगारी सिर्जना : केसी



नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी सोलुखुम्बुबाट प्रनिनिधिसभा सदस्यमा उम्मेदवार हुनुहुन्छ । उहाँ नेपालको संसदीय चुनावी प्रणलीमा सातौंपटक चुनावी मैदानमा हुनुहुन्छ । २०४८ सालदेखि निरन्तर चुनाव लड्दै आएका केसी चारपटक विजयी र दुईपटक पराजय हुनुभएको छ । यो बीचमा उहाँ तीनपटक मन्त्री भएर विभिन्न ६ वटा मन्त्रालय हाँकिसक्नुभयो । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यका लागि सोलुखुम्बुबाट सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा प्रस्तुत भएका पूर्वमन्त्री केसीसँग नेपाल समाचारपत्र दैनिकका लागि दीपक रिजाल र जीवन शर्माले चुनावी सेरोफेरोमा रहेर गर्नुभएको संवादको सम्पादित अंश: 

गठबन्धन र पार्टीको आन्तरिक समस्याका कारण निकै लामो संघर्षपछि टिकट पाउनुभएको छ । चुनावी अभियानलाई कसरी हाक्दै हुनुहुन्छ ?

गठबन्धनको तर्फबाट पार्टीका शीर्ष नेतृत्वहरुकै सहमतिअनुसार मैले टिकट पाएको छु । टिकट लिएर जिल्ला जाँदै गर्दा मतदातामा उत्साह छाएको छ । जिल्लाको पुरानो, परिपक्क, आम जनताले चिनेको, राजनीतिक लगानी गरेको र विकास गर्नसक्ने नेताका रूपमा मलाई जनताले चिन्छन् । गठबन्धनका जिल्ला नेताहरु पनि सिनियर व्यक्तिले टिकट पाएकोमा खुसी नै हुनुहुन्छ । गठबन्धनका नेताहरुबीच छलफल गरेर सबै दलका संगठनहरु परिचालन गर्ने र गठबन्धनका उम्मेदवारहरुलाई जिताउन एकजुट भएर लाग्ने सल्लाह भएअनुसार चुनावी परिचालनलाई अघि बढाएको छु । गठबन्धनका उम्मेदवारहरुको प्रचार–प्रसार राम्रो भइरहेको छ, हामी चुनाव जित्ने गरी जनताका माझमा छौं । टिकटका सन्दर्भमा एउटा लोकतान्त्रिक पार्टी र त्यसका कार्यकर्ताले टिकट नपाउन्जेल प्रतिस्पर्धामा आउनु, टिकट खोज्नु स्वाभाविक हो । पार्टीले निर्णय गरिसकेपछि मान्नुपर्ने हामी असल कार्यकर्ताको धर्म हो ।

 

फेरि पनि तपाईंको उपस्थितिले सोलुखुम्बुले के प्राप्त गर्छ ? त्यहाँका नागरिकले तपाईंलाई नै किन रोज्ने ?

यो कुरा गरिरहँदा अलि पछाडि फर्कनुपर्छ । मेरो राजनीतिक जीवन विद्यार्थीकालदेखि अहिलेसम्म आइपुग्दा ५१ वर्ष भएछ । १० वर्ष जेल बसें । २०३६ सालको विद्यार्थी आन्दोलनले नै यो देशको राजनीतिक परिवर्तन भएको हो । आजको गणतन्त्र २०३६ सालको विद्यार्थी आन्दोलनले शुरु गरेको हो, जसको नेतृत्व मैंले नै गरेको थिएँ । ०४२ सालको सत्याग्रहको नेतृत्व गर्न पार्टीले केन्द्रीय सदस्य बनाएको थियो । त्यसपछि २०४६ सालको जनआन्दोलनको नेतृत्व पनि गरें र २०६२-०६३ को आन्दोलनमा पनि चाबहिलको मोर्चामा पार्टीले मलाई नेतृत्व गर्ने जिम्मेवारी दिएको थियो ।

यो देशको आमूल परिवर्तनका लागि भएका आन्दोलनको सायद चारवटै आन्दोलनमा सहभागी हुने थोरै नेतामध्ये म पर्छु । त्यस कारणले यो व्यवस्था परिवर्तन गर्नका लागि महत्वपूर्ण भूमिकामा रहेर नेतृत्व गरेको छु । त्यसपछिको पाटोमा २०४८ देखिको परिवर्तनपछि दुईपटक संविधानसभाको र चारपटक संसद्को गरी देशमा जम्मा ६ पटक निर्वाचन भयो । अहिले सातौंपटक हुँदै छ । ६ पटक नेपाली कांग्रेसको एकल र अहिले सातौंपटक गठबन्धनको तर्फबाट चुनाव लड्दै छु । यो बीचमा चारपटक चुनाव जितें र दुईपटक पराजित भएँ ।

चारपटक चुनाव जित्दा तीन वर्ष मन्त्री भएँ र त्यसबीचमा ६ वटा मन्त्रालयको नेतृत्व गरें । ६ वटा मन्त्रालय हाक्दा मैले जिल्लाका धेरै कामहरु गरेको छु । सडक पूर्वाधार, सञ्चार, स्वास्थ्य, शिक्षा र युवाको क्षेत्रमा २०४८ सालपछि निकै ठूलो परिवर्तन गर्ने गरी काम गरेको कुरा आम जनताले देखेकै छन् । धेरै नै युवालाई रोजगारीमा जोडें ।सातपटक चुनावी मैदानमा जाँदै गर्दा प्रत्येक घरका बच्चादेखि युवा तथा वृद्धहरुलाई बलबहादुर को हो भनेर चिनाउनुपर्दैन मलाई त कसै–कसैले त यो बलबहादुर होइन ‘विकासबहादुर’ भनेर पनि चिन्ने गरेका छन् ।

जातीय सद्भावका लागि पनि धेरै काम गरेको छु । शेर्पा समुदायका पासाङ ल्यामु शेर्पालाई शेरबहादुर प्रधानमन्त्री र म संस्कृतिमन्त्री हुँदा राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय ग-यौं, शेर्पा भाषाबाट रेडियो नेपालमा समाचार प्रसारण शुरु गरायौं । त्यस्तै, महाकुलुङ गाउँपालिकामा बसोबास गर्ने कुलुङ राईलाई सूचीकृत गर्नका लागि धेरै ठूलो पहल गरिरहेको छु । नेचा सल्यान गाउँपालिकाको सल्यानमा गुरुकुलको स्थापना गरेर काम गर्न थालेको छु । त्यसरी हामीले जातीय सद्भाव र उत्थानका लागि पनि कामहरु गरिनै रहेका छौं ।

नेपालमा एउटा पनि एयरपोर्ट नभएका जिल्ला पनि छन् । तर, सोलुमा चारवटा विमानस्थल सञ्चालनमा र एउटा निर्माणाधीन अवस्थामा छ । हाइड्रोको कुरा गर्ने हो भने नेपाली कांग्रेसले सबै सांसदसँगको छलफल पछि सरकारले मात्रै सबै विकासका काम गर्न सक्दैन भनेर प्राइभेट र सरकारबीच पार्टनरसिपमा योजना चलाउने भनेर नीतिगत निर्णय नेपाली कांग्रेसकै पालामा गरएाको छ ।

जिल्ल्लामा भएका सबैखोला खोल्सामा धेरै परियोजना सञ्चालनमा छन् । कतिपय निर्माणाधीन अवस्थामा छन् भने केही सकिइसकेका छन् । यी परियोजनाको आउटकम आइसकेपछि सोलु आर्थिक दृष्टिकोणले आफैं उभिनसक्ने बन्नेछ । त्यस कारणले यी सबै कुरालाई एकठाउँमा राख्दाखेरी सोलुमा अहिलेको अवस्थामा केन्द्रमा पहुँच पु¥याएर काम गर्नसक्ने नेताका रूपमा जनताले मलाई बुझ्नुभएको छ । जिल्लामा मात्र होइन केन्द्रीय राजनीतिमा समेत राजनीतिक लगानी र पहुँच भएकाले

शीर्ष नेताहरुले समेत त्यसको मूल्यांकन गरेर मलाइ टिकट दिइ पठाएका हुन् ।जनताको साथ सत्ता गठबन्धनका उम्मेदवारहरुलाई छ । यी सबै कारणले गर्दा म कुनै पनि हालतमा चुनाव जितेर आउँछु । सोलुका जनताले धेरै ठूलो सहयोग गरिरहनुभएको छ, फेरि पनि गर्नुहुन्छ । म पनि जनताको भावनाअनुसार काम गर्ने कुरामा विश्वास दिलाउन चाहन्छु ।

सोलुखुम्बुको अबको आवश्यकता के हो र तपाईंबाट मतदाताले के अपेक्षा गरेका छन् ?

यो महत्वपूर्ण प्रश्न छ । सोलुका लागि अब मैले के गर्छु भनेर भन्दै गर्दा भन्नका लागि मात्रै होइन गरेर पनि देखाउनुपर्छ । जनताको अभिमतबाट जितेर गइसकेपछि प्रत्येक नागरिकको प्रश्नको जवाफ दिने गरी मैले काम गर्नु नै पर्छ । म धेरै भाषण र बोलीमा भन्दा पनि कर्ममा विश्वास गर्ने र काम गर्छु भनेपछि गरेर देखाउन नेताका रूपमा आफूलाई दर्ज गराएको छु । आगामी चुनाव जितिसकेपछि मेरो पहिलो प्राथमिकता पर्यटन विकास हुनेछ । सांसारकै ट्रेकिङ र एक्पिडिसनको गन्तव्यका हिसावले सगरमाथा खुम्बसक्षेत्र दोस्रो स्थानमा पर्छ । सगरमाथामा पर्यटन बोलाइरहनु पर्दैन तर यस क्षेत्रलाई व्यवस्थित बनाउनुपर्नेछ । अहिले ठूला होटल, सेक्युरेटी र स्वास्थ्यको हिसावले व्यवस्थापनको पाटो महत्वपूर्ण रहन्छ । यो सँगै ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने पत्ताले क्षेत्रलाई पर्यटकीयस्थलको रूपमा विकसित गर्नुपर्ने छ । अर्को महत्वपूर्ण कुरा महाकुलुङबाट मेरापिक जाने सडकलाई ट्रकिङरुट बनाउनुपर्नेछ । पर्यटन विकास र व्यवस्थापनमा यिनै कामहरु गर्ने मेरो योजना छ ।

दोस्रो काम भनेको हरेक गाउँमा स्वास्थ्य चौकी छन् तर सुविधायुक्त छैनन् । पालिकास्तरमा सुविधासम्पन्न अस्पतालहरु बनाउनुपर्नेछ त्यसका लागि पहल गर्ने मेरो योजना छ । तेस्रो कुरा शिक्षामा प्रविधिक शिक्षाको कमी छ । सर्टिफिकेट पाउने शिक्षा त हामीले निर्माण ग¥यौं तर रोजगारमुखी शिक्षाका लागि राज्यको नीति परिवर्तन गर्नुपर्नेछ । कमसेकम एउटा तहसम्म पढेका युवाहरुले देशमै सहजरूपमा रोजगारी पाउने बनाउन लाग्नुपर्ने छ । र, अर्को महत्वपूर्ण कुरा बेरोजगारले गाँजेको अवस्था छ । यसको अन्त्यका लागि काम गर्नु छ । मैले भन्नैपर्छ मन्त्री हुँदा सबैभन्दा बढी युवालाई जागिर खुवाउनेमा मेरो र खुमबहादुरजीको नाम अगाडि आउँछ । त्यस कारणले अबको काम विद्यालय खोल्ने, शिक्षा दिने तर रोजगारीका लागि विदेश नै पठाउनुपर्ने जुन परिवेश छ त्यसलाई कुनै हालतमा अत्य गर्नु छ । गाउँमै उत्पादन मूलक विकास गर्ने र रोजगारी सिर्जना गर्ने खालका कामहरु गर्नुपर्ने छ ।

हामीले कृषि र पर्यटनलाई जोडेर काम गर्न सकिने अवस्था छ । त्यसका लागि सोलुका हकमा बजार पनि खोज्नुपर्ने छैन । तल्लो भेगमा कृषिको बहुत सम्भावना छ । त्यही कृषि उपजलाई माथिल्लो पर्यटकीय क्षेत्रमा लगेर बिक्री गर्न सकिन्छ । कृषिजन्य उत्पादनहरु ज्ति पनि त्यही खपत हुन्छ अन्त जानै पर्दैन । सडक स्तरीकरणमा हामीले केही ध्यान दिनुपर्ने छ । जिल्लाका आठवटै स्थानीय तहसँग जोड्ने सडकहरु कालोपत्रे गर्ने काम बाँकी छ । पूर्वाधार, कृषि जलस्रोत र पर्यटन चारवटा कुरालाई पाँच वर्षभित्रमा परिणामुखी ढंगले काम गर्न सके सोलुखुम्बुको मुहार परिवर्तन गर्न सक्छौं भनेर लागेको छ ।

तपाईंको चुनाव जित्ने आधारचाहिँ के हुन् ?

चुनाव जित्ने आधार चार-पाँचवटा छन् । पहिलो स्थानीय निर्वाचनमा जम्मा एक नगरपालिकासहित आठवटा स्थानीय तहमा नगरपालिकासहित पाँचवटामा नेपाली कांग्रेसले बहुमत हासिल गरेको छ । एउटा (माप्यदूधकोशी गाउपालिका) मा माओवादीसँग गठबन्धन गरेर उपाध्यक्ष र ५० प्रतिशत वडाध्यक्षसहित हामीले जितेका छौं । एउटा स्थानीय तह एमालले जितेको छ । यसरी स्थानीय तहको मतभारको अवस्था हेर्दा ३४ हजार गठबन्धनको छ र १६ हजारको हाराहारीमा एमालेको छ । त्यो हिसावले गठबन्धनका सबै उम्मेदवारले चुनाव जित्छन् ।

अर्को कुरा पहिलो पार्टी नेपाली कांग्रेस, दोस्रो पार्टी नेकपा माओवादी हो । पहिलो र दास्रो पार्टी मिलेपछि तेस्रोको त चान्स छैन । तेस्रो नम्बरमा हामीले जित्ने आधार भनेको व्यक्तित्वको हिसावले राजनीतिक उचाइमा पुगेका उम्मेदवारहरु गठबन्धनमा उम्मेदवार छन् । चौथो कुरा के हो भने अहिलेसम्म एमालेले प्रतिनिधिसभाको चुनाव सोलुमा जितेकै छैन् । अलग–अलग लड्दा पनि कांग्रेसले चारपटक र माओवादीले एमालेसँगको गठबन्धनमा एकपटक तथा एक्लै एकपटक जितेको अवस्था हो । अहिले हामी दुइवटै मिलेपछि त चुनाव नजित्ने भन्ने कुरै छैन् ।

अर्को जनताका लागि खुसीको कुरा के छ भने केन्द्रमा पनि गठबन्धनकै सरकार बन्छ र यहाँबाट चुनाव जितेर गएको नेता पनि केन्द्रमा पहुँच राख्ने भएकाले त्यो सरकारको मन्त्री निश्चित हुन्छ । जनताले नै भनेका छन्, यहाँ जिताउने काम हाम्रो हो माथि मन्त्री तँ भइहाल्छस् भनेर । सोलुका नागरिक त हामीलाई विकास चाहिएको बलबहादुर केसीलाई पठाएपछि सबै पहुँच पु-याएर विकास ल्याउँछ भन्ने विश्वासमा स्वस्फूर्त गरेका छन् ।

२०४८ सालदेखि निरन्तर चुनावमै हुनुहुन्छ । अहिले जनताले नयाँलाई प्राथमिकता दिने भनेका छन् । यसमा तपाईंको भनाइ के छ ?

के मा नयाँ ? विचारको हिसाले हेर्ने हो भने सोलुखुम्बु जिल्लामा मलाई पुरानाले भन्दा पनि नयाँ युवाले बढी मन पराउँछन्, साथ दिन्छन् । म त्यो सेन्टिमेन्ट बोकेर नयाँ विचार दिएर र युवालाई समेटेर हिँडेको छु । त्यस हिसावले सोलुमा त्यो अवस्था छैन । नयाँ पुस्ताका नेताहरुले गर्ने भन्दा बढी काम म गर्छु ।

अनि केमा नयाँ भन्नुहुन्छ ? भन्नका लागि भन्ने मात्रै होइन । समय आएपछि पुरानो पात झर्छ नयाँ पात पलाउँछ कसैले झार्नै पर्दैन । पुरानो भयो भनेर लुछ्न थाल्यो भने रुख नै सुक्छ । रुख मरेपछि नयाँ पाउला आउनै पाउँदैन । त्यस कारणले त्यो पात झर्न दिनुपर्छ । पातै आउन नदिई रुखै मार्न खोजीयो भने नयाँको के कल्पना गर्नुहुन्छ ? त्यसैले सोलु जिल्लाको सन्दर्भमा युवाकै सेन्टिमेन्टमा जिल्लाको प्रतिनिधित्व गर्छु । हरेक हिसावले युवाको भावनालाई बोकेर हिँडेको छु ।

तपाईं राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने कांग्रेसको नेता, गठबन्धन पनि सँगै छ । अन्तमा नेपाली कांग्रेसले यो निर्वाचनमा कति सिट जित्छ भन्ने आँकलन गर्नुभएको छ ?

वैचारिक हिसावले पार्टीले जुन विचार बोकेको छ, त्यसैलाई अघि बढाउनुपर्छ भन्ने कित्ताको नेता हो म । तर, देशको परिस्थिति र आवश्यकताले हामी गठबन्धनमा छौं । हामीले लामो लडाइँ लडेर ल्याएको व्यवस्थाको रक्षा र देशको समृद्धि, आर्थिक समाजिक विकासका लागि अहिले फरक विचारका दलहरुबीच चुनावी गठबन्धन गरेर जनतामाझ जाँदै छौं । हामीले नै ल्याएको व्यवस्था र विचारलाई बचाउनका निम्ति परिवर्तनका सम्वाहक शक्तिहरु एक ठाउँमा नभई नहुने अवस्था आएका कारण हामी एकठाउँ उभिएर देशका समृद्धि र विकासमा हातेमालो गर्दै छौं ।

अब जहाँसम्म नेपाली कांग्रेसले कति सिट जित्छ भन्ने कुरामा सरसर्ती हेदाखेरि हामीले ६० देखि ६५ सिट प्रत्यक्षमा जित्ने कन्फर्म छ । तर, थप जित निकाल्नका निम्ति हामीले गठबन्धन र पार्टीभित्रको आन्तरिक समस्यालाई पनि अझ निमिट्यान्न परेर जनतालाई गठबन्धनको आवश्यकता र महत्व बुझाउन सक्याैं, नेता कार्यकर्ताले मेहनत ग-यौं भने हामीले त्योभन्दा बढी जित्छौं । हामीले अनुमान गरेको भन्दा अलग खालको परिणाम आउने अवस्था छ ।

१-मेरो पहिलो प्राथमिकता पर्यटन विकास हुनेछ । सगरमाथामा पर्यटन बोलाइरहनु पर्दैन । तर, यस क्षेत्रलाई व्यवस्थित बनाउनुपर्नेछ । रोजगारमुखी शिक्षाका लागि राज्यको नीति परिवर्तन गर्नुपर्नेछ । कमसेकम एउटा तहसम्म पढेका युवाले देशमै सहजरूपमा रोजगारी पाउने व्यवस्था बनाउनु छ ।

२-कांग्रेसले ६० देखि ६५ सिट प्रत्यक्षमा जित्ने पक्का छ । तर, थप जित निकाल्न गठबन्धन र पार्टीभित्रको आन्तरिक समस्यालाई पनि अझ निमिट्यान्न परेर जनतालाई गठबन्धनको आवश्यकता र महत्व बुझाउन सक्याैं, नेता–कार्यकर्ताले मेहनत गरे भने त्योभन्दा बढी जित्छौं ।

प्रतिक्रिया दिनुहोस्