केसी परिवारद्वारा ‘सूर्यबहादुर केसी स्मृति फुटबल एकेडेमी’लाई सहयोग रकम हस्तान्तरण



पोखरा।

‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’लाई स्वर्गीय सूर्यबहादुर केसीको परिवारले १५ लाख रुपियाँ सहयोग रकम हस्तान्तरण गरेको छ ।

पोखरामा बिहीबार केसी परिवारले स्व. केसीको दोश्रो वार्षिक पुण्य तिथिको अवसर पारेर सहारा क्लव पोखराद्वारा सञ्चालित एकेडेमीलाई उक्त सहयोग गरेको हो । कार्यक्रममा स्व. केसीकी धर्मपत्नी प्रेम कुमारी केसीले सहारा क्लव पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज)लाई सहयोग हस्तान्तरण गरेकी हुन् ।

सो अवसरमा बोल्दै केसीका छोरा तथा युवा उद्योगी प्रकाश केसीले सहारासँग आफ्ना बुबाको संस्थागत निकटता र सबैलाई मायाको दृष्टिकोणले हेर्ने भएकोले पनि आफ्नो परिवार एकेडेमीको सञ्चालनमा जोडिएको बताए । उनले भविष्यमा समेत सहाराका हरेक कार्यमा हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

केसीका अर्का छोरा तथा हिमश्री फुड्सका निर्देशक किरण केसीले आफ्नो बुबाको नाम सहारा एकेडेमीसँग जोडिन पाउँदा निकै गौरव लागेको बताए । उनले आफ्नो बुबाको काम र विचारलाई स्थापित गर्नेसँगै जिवन्त बनाई राख्ने प्रण गरे ।

कार्यक्रममा पूर्व एसएसपी कृष्ण बहादुर थापा, सहारा क्लव पोखराका मानार्थ सदस्य महेश गुरुङ लगायतले स्व.केसीको जीवनी र समाजसेवाका विविध क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

गत वर्ष स्व. केसी परिवारले क्लवले सञ्चालन गर्दै आइरहेको एकेडेमीको जिम्मेवारी लिँदै वार्षिक रु. १५ लाख १० वर्षसम्म प्रदान गर्ने सम्झौता गरेको थियो । हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको नाममा केसी परिवारले सहारा क्लवले आयोजना गर्ने ‘आहा–रारा !’ गोल्डकप प्रतियोगिताको मुख्य प्रयोजन समेत गर्दै आइरहेको छ । सहारा क्लबले आफैले जग्गा खरिद गरेर दोविल्लामा एकेडेमी सञ्चालन गरेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्