घरधनीलाई छुटैछुट, बहालमा बस्नेलाई ब्रह्मलुट



अहिले काठमाडौंको अधिकांश घरमा ‘टु–लेट’ भनेर टाँसिरहेको देखिन्छ । प्रायजसो घरमा कोठा, सटर र फ्ल्याट खालि छ भनेर टाँसिरहेको पाइन्छ । घर खालि छन् भनेर टाँस्छन् तर धरधनीले मागेजति पैसा दिन्छु भनेर सहमति नजनाएसम्म भाडामा लगाउँदैनन् । बरु, कोठा खालि राख्छन् । कोठा खोज्नेले भाडा महँगो भो भन्न पनि पाउँदैनन् । भाडामा बस्ने सहमति जनाए पनि तीन महिनाको अग्रिम भाडा बुझाउनुपर्ने बाध्यता छ ।

घरधनीले आफूलाई जसरी मन लाग्यो, त्यसरी भाडामा लगाइराखेका छन् । सरकारले नक्सा पास गरिदिने बेलैमा घरको वर्गीकरण गरिदिँदा उचित हुने थियो । कुन घर भाडामा लगाउने ? कुन घर व्यापारका लागि प्रयोग गर्ने ? कुन घरमा अफिस सञ्चालन गर्ने ? र, कुन घरमा मान्छे बस्ने ? वर्गीकरण गरिएको छैन । यसले गर्दा सबैलाई सास्ती भएको छ । माथि अफिस सञ्चालन हुन्छ, तल कोठा बहालमा लगाइएको हुन्छ ।

यसले गर्दा माथि र तल बस्ने दुवैलाई सास्ती भइरहेको छ । अफिस भएपछि काम लिएर आउनेहरु यत्तिकै हुन्छन् । अनि तलकालाई डिस्टर्ब हुनु स्वाभाविकै हो । पछिल्लो समय कोठा भाडा अत्यधिक बढेको छ । तर, जागिर खानेको तलब बढेको छैन्, व्यापारतिर पनि मन्दी नै छ । अधिकांशलाई कोठा भाडा तिर्न समस्या भएको छ । महँगी बढेपिच्छे घरधनीले कोठा भाडा बढाएका छन् । तर काम गर्ने ठाउँमा सुको पनि तलब बढेको छैन । घरधनीले आफ्नो डेरामा बस्नेको अवस्था कहिले बुझ्ने, प्रयास गर्दैनन् । उसले कसरी भाडा तिरेको छ ? उसको जागिर के हो ? भनेर हेर्दैनन् तर भाडाचाहिँ हरेक तीन महिनामा बढाउँछन् । महिना मर्न पाएको हुँदैन, ढोकाढोका चहार्न आइहाल्छन् । एकदिन भाडा ढिलो भयो भने सातो खाइदिने घरधनीहरु पनि छन् ।

महिनाको शुरुवातमै भाडा ति¥यो भने घरधनी मख्ख । घरधनीले पैसा लिइरहेका छन् तर बिल दिँदैनन् । पैसा लिएपछि अनिवार्य बिल दिनुपर्ने प्रावधान छ । तर, यो पनि धरधनीहरुमाथि लागू भएको छैन । यता, मासिक भाडा त उठाइरहेका छन् तर बहालमा बस्नेले सेवासुविधा पाइरहेका छन् भनेर हेरेका छन् त ? बहालमा बस्नेलाई केही सेवासुविधा नै छैन । भाडामा बस्नेलाई घरधनीले मान्छे नै सोच्दैनन् ।

कोठा दिएर मात्र पुग्छ ? भाडामा बस्नेलाई पानीको समस्या छ । बत्ती र फोहोरको पैसा पनि दोब्बर तिर्नुपर्ने बाध्यता छ । लुगा सुकाउने ठाउँको अभाव छ । कोठाभित्रै भाँडा माझ्नुपर्छ । घाम ताप्नसमेत छतमा जान पाइँदैन । परिवारका सदस्य धेरै छन् भने कोठा दिँदैनन् । उनीहरुले भनेजति पैसा तिर्छु भन्दा पनि कोठा दिन इन्कार गर्छन् । यता, एकल महिला, दलित, रोगी, बालबच्चा भएका, वृद्धवृद्धालाई पनि कोठा पाउनकै सास्ती छ ।

एक्काइसौं शताब्दीमा आइपुग्दा पनि छोइछाइ अझै पनि हाम्रो समाजमा कायम रहेको पाइन्छ । यता, रोगी, बालबच्चा भएका र वृद्धवृद्धाले फोहोर गर्छन् भनेर कोठा दिन मान्दैनन् । घरधनीको किचकिच गर्ने व्यवहारका कारण कोठामा बस्नेहरु हरेक तीन महिनामा कोठा सरिरहन्छन् । दबाब सहन नसकेपछि झोलाझाम्टा बोक्यो, बाटो लागिहाल्यो । पुराना जान्छन्, नयाँलाई फेरि महँगो पैसामा बहालमा लगाउँछन् ।

घरधनीहरुले न राज्यलाई घरबहाल कर तिर्छन्, न बहालमा बस्नेलाई सस्तोमा कोठा दिन्छन् । राज्यलाई राजस्व छल्ने, बहालमा बस्नेलाई महँगो भाडा लिएर लुट्ने । मुलुकभरका ९८ प्रतिशत घर बहालमा लगाइएको छ तर राज्य घरबहाल कर पाउनबाट वञ्चित छ । एउटा कोठाको पाँचदेखि दश हजारसम्म भाडा तिर्नुपर्छ । २० हजारदेखि दुई लाखसम्मका फ्ल्याट पाइन्छन् ।सटर पनि १० हजारदेखि ९ लाखसम्मको छ । एउटा घरधनीले महिनाले लाखदेखि करोडसम्म बहाल उठाउँछन् । तर, राज्यले सुको पनि घरबहाल कर पाउँदैन । घरबेटीले लिएको पैसा महँगो हो कि सस्तो ? सरकार र बहालवाला दुवै अनभिज्ञ छन् । घरधनीलाई मात्र थाहा होला । सरकारले घरभाडा निर्धारण गरेको छैन । घरधनीको सामु सरकार पनि लाचार छ ।

वडा र नगरपालिकाले कुन घर भाडामा लगाउने ? आफ्नो क्षेत्रमा कति घर भाडामा लगाइएको छ ? कुन घरमा कतिवटा कोठा, फ्ल्याट भाडामा दिइएको छ ? यसको विवरण संकलन गर्दैनन् । घर सबै भाडामा लगाइएको हुन्छ । तर, वडामा भन्ने बेलाचाहिँ कोठा सबै खालि भएको बताउँछन् । अझ कतिपयले कोठामा आफ्नै परिवार बसेको छ भनेर कर छल्ने गरेका छन् ।भाडावालसँग सवारीसाधन पार्क गरेको पनि पैसा उठाइन्छ । घरधनीले बिहान ६ बजेअघि गेट खोलिदिँदैनन्, राति ९ बजेपछि गेट बन्द । काम गर्ने कतिखेर घर आउँछन् ? यसको ठेगान हुँदैन । आउँदाआउँदै कहिले ढिलो हुन सक्छ तर यो पनि बुझ्दैनन् । पाहुना आए भने ढोकामा जुत्ता हेर्छन् । बच्चाहरु रोए भने, केही गल्ती गरे भने नराम्ररी गाली गर्छन् । कोठा सरेर जाऊ भन्नसम्म बेर लाग्दैन ।

घरधनीको ज्यादतीको कुनै सीमा छैन । पैसाचाहिँ महिना मर्नुभन्दा अगाडि लिन्छन् तर सेवासुविधा केही दिँदैनन् । तैपनि कहाँ सुख छ र ? घरधनी कतिखेर रिसाउने हुन् भनेर काँपेर बस्नुपर्छ । मन लागेसम्म राख्छन्, मन नपरेपछि कोठा तुरुन्त सरेर जान भनिहाल्छन् । काम गरेको ठाउँमा महिना सिद्धिनुअघि तलब दिँदैनन् । तर, घरधनी त महिना बाँकी रहँदै भाडा माग्न आइपुग्छन् ।

यता पैसा दिँदैन, उता किचकिच सहन नसकेर कहाँ जाऊँ भइरहन्छ । कम्पनीले पैसा दिँदैन, घरधनीले त्यो बुझ्दैनन् । पैसा तिरेर पनि दिउँसै बत्ती बाल्नुपर्ने कोठामा बस्नुपरेको छ । काठमाडौंका कोठामा एउटा खाट अट्न मुस्किल छ । पानीको उस्तै हाहाकार । कोठा पनि साह्रै चिसो हुन्छ । पछिल्लो समय एउटा कोठा पाउन धेरै सकस छ ।एकछाक मीठो नखाएर, एकजोर राम्रो नलगाएर घरधनीले मागेजति भाडा तिरिरहेका छन् । भाडामा बस्नेलाई न राज्यले हेर्छ, न घरधनीले । भाडामा बस्नेलाई सरकार र घरधनी दुवैले दासी सोच्छन् । भाडामा बस्न बाध्य बनाउने पनि सरकार नै हो । जुन जिल्लामा जन्मियो सोही जिल्लामा रोजगारी दिएको भए आफ्नो जन्मथलो छोड्नुपर्ने बाध्यता आउँदैनथ्यो ।

राजनीतिक दल भाडामा बस्नेसँग भोट माग्छन् । भाडामा बस्नेको सहजता र सेवासुविधाका निम्ति कुनै पनि ऐनकानुन बनेनन् । भाडामा बस्नेको पक्षमा उभिन राजनीतिक दलहरुलाई लाज लाग्छ । जनसंख्याको ९० प्रतिशत त भाडामा बस्छन् । त्यसलाई आधार मानेर पनि सरकारले नीतिनियम बनाउनुपर्ने हो । सरकारले घरबहाल कर मात्र पनि उठाउन सक्यो भने देश समृद्ध हुन्छ ।

भाडामा बस्नु रहर होइन, बाध्यता छ । जसको फाइदा घरधनीले उठाइरहेका छन् । अहिले सबैभन्दा सजिलो पेसा नै यही बनेको छ । घर बनायो, भाडामा लगायो अनि बसी–बसी खाइरह्यो । जागिर खाए पनि घर नै बनाउने, व्यापार गर्नेले पनि घर नै बनाउने । विदेशमा बसेर मरिमेटेर पैसा कमायो, जग्गा किन्यो, घर बनायो । कलकारखाना खोल्नतिर कसैको ध्यान नै गएन । कर पनि तिर्न नपर्ने, आफूखुशी रेट पनि राख्न पाउने ।

नेपाल आयल निगमले पेट्रोल, डिजेलको मूल्य घटबढ गर्नेबित्तिकै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा तोक्छ । तोकेभन्दा बढी भाडा लियो भने कारबाही हुन्छ । तर, घरभाडा कसैले तोक्दैन । अनि कसले अनुगमन गर्ने ? कसले जरिबाना गर्ने ? घरधनीलाई सरकारले छाडा छोडेको हो ?

घरबहाल बढ्नेबित्तिकै महँगी बढ्यो, आर्थिक अवस्था कमजोर हुनेहरु बाँच्न नसक्ने भए । ठाउँ हेरेर सरकारले भाडा तोकिदिनुपर्छ । घरबहाल पनि सरकारले उठाउनुपर्छ । कर काटेर घरधनीको खातामा रकम हालिदिने व्यवस्था मिलाउनुपर्छ । यो भयो भने लाखौंले रोजगारी पाउँछन्, राज्यले राजस्व पनि । बहालमा बस्नेलाई पनि राहत हुन्छ ।
– अनुसा थापा ।

प्रतिक्रिया दिनुहोस्