निर्वाचनलगत्तै शिक्षक विज्ञापन खोल्ने तयारी

आयोग भन्छ: केन्द्रले रिक्त संख्या नपठाउँदा समस्या



काठमाडौं । 

शिक्षक सेवा आयोगले निर्वाचनलगत्तै मङ्सिरबाट विज्ञापन गर्ने तयारी थालेको छ । पहिलो चरणमा माध्यमिक विद्यालय तहको विज्ञापनको प्रक्रिया शुरू गर्ने जनाएको आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको रिक्त शिक्षक पदपूर्तिको विवरण उपलब्ध नगराएको कारण समस्या पैदा भएको जनाएको छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले शिक्षक सेवा आयोगको नियमावलीको नियम–८ मा असोज मसान्तभित्र तथ्यांक प्राप्त गरी मङ्सिरमा विज्ञापन गर्नुपर्ने व्यवस्था रहेको जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ । सोहीअनुसार केन्द्रले विज्ञापन दिएमा प्रक्रिया अघि बढाउन सहज हुने थियो ।’

सूचना अधिकारी मरहठ्ठाका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठाएको रिक्त दरबन्दी र गत वर्षको विज्ञापनमा पूरा हुन नसकेका दरबन्दीअनुसार विज्ञापन गर्ने तयारी थालेकोे छ । उहाँले भन्नुभयो– ‘केन्द्रले रिक्त शिक्षकको दरबन्दी विवरण पठाउन साथ विज्ञापन गर्ने तयारी थालेका छौं ।’विद्यालयको तहगत संरचना आधारभूत तह र माध्यमिक तह भए पनि शिक्षक सेवा आयोगले पुनः तीनै तहका लागि विज्ञापन गर्ने तयारी थालेको छ ।

शिक्षा ऐनमा विद्यालय तहको संरचना दुई तह मात्र हुने उल्लेख गरे पनि आयोगले तीनै तहको संरचनाअनुसार शिक्षक नियुक्ति प्रक्रियालाई निरन्तरता दिन लागेको हो । आयोगले नियमित रूपमा विज्ञापन खुला गरी शिक्षकको परीक्षा सञ्चालन गर्न पाए ३ वर्षभित्रमै शिक्षक अभाव परिपूर्ति हुने अपेक्षा छ ।

यसैबीच आयोगले २०७८ माघमा सञ्चालन गरेको माध्यमिक तहको परीक्षामा उत्तीर्ण १ हजार ५ सय ५२ मध्ये उत्तीर्ण भएका १ हजार १ सय ८४ जना मावि तहको शिक्षक नियुक्ति गर्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रलाई सिफारिस गरेको छ । आयोगका सूचना अधिकारी मरहठ्ठाका अनुसार मंगलबार आयोगले लिखित र मौखिक परीक्षाको परीक्षाफलबाट उत्तीर्ण १२ विषयका शिक्षकलाई मावि तहको स्थायी दरबन्दीमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्