बागलुङ १ मा सूर्य र चित्रबहादुरबीचको चुनावी भिडन्त रोचक बन्दै



काठमाडौं ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ १ मा सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । सत्ता गठबन्धनभित्रै कतिपय विषयमा फरक मत राखेर अनौठो व्यवहार गर्ने उनलाई निर्वाचनमा कडा टक्कर दिइरहेका छन् एमालेका डा.सूर्य पाठकले । सोही निर्वाचन क्षेत्रबाट अघिल्लो निर्वाचन जितेका पाठकको प्रतिद्वन्द्वीको रूपमा चित्रबहादुर आएपछि बागलुङ १ को चुनावी भिडन्त रोचक बनेको छ ।

तर, एक बहस कार्यक्रममा चित्रबहादुर अनुपस्थित भएपछि उनको आलोचना भएको छ । उनी जनताको प्रश्न सामना गर्न नसकेर भागेको आरोप लागेको छ । प्रसंग हो, एक टेलिभिजन बहस कार्यक्रमको । उम्मेदवारहरूबीच बहस गराउन बागलुङ पुगेका थिए पत्रकार ऋषि धमला । सो कार्यक्रममा चित्रबहादुरसहित सूर्य पाठकलगायतलाई बोलाइएको थियो । तर, केसी गइदिएनन् । कार्यक्रममा धमलाले चित्रबहादुर आइनपुगेको भनेर के भन्न भ्याएका थिए, उपस्थित सर्वसाधारण होहल्ला गर्न थाले ।

सोही बीचमा पाठकले भने, ‘मेरो केही कुरा छ, बागलुङमा चित्रबहादुरजी र मेरोबीचमा प्रतिस्पर्धा हुँदैछ । म उहाँसँग डिबेट गर्न मतदातालाई भेट्न छाडेर उहाँ आएको छु । त्यसकारण उहाँको उपस्थिति अनिवार्य छ ।’ उनी ननुपस्थित भएपछि स्वतन्त्र उम्मेदवार चन्द्रबहादुरलाई पाठकसँग राखेर धमलाले कार्यक्रम चलाए ।

तर, पाठकले कार्यक्रममा निरन्तर चित्रबहादुरको खोजी गरिरहे । यतिसम्म कि केसी नआएसम्म आफू बोल्न तयार नभएको बरु पर्खिने बताए । धमलाले पाठकजी तपाईको एजेण्डा के भनेर प्रश्न गर्दा चित्रबहादुर आएपछि मात्रै बहस गर्ने अडान लिइरहे । उनले यहाँको बहस आफ्नो र चित्रबहादुरको हुने भएकाले उनको उपस्थिति अनिवार्य भएको बताए । उनले लोकतन्त्रमा प्रश्नबाट भाग्न नमिल्ने भन्दै त्यसका लागि आफू पर्खिन तयार रहेको बताए । तर, धमलाले कार्यक्रम अघि बढाउन खोजेपछि यसरी नहुने भन्दै दर्शकदीर्घाबाट होहल्ला भयो ।

धमलाले भने दर्शकतर्फ संकेत गरेर उम्मेदवारलाई प्रश्न सोध्न आग्रह गरे । यहीक्रममा दर्शकदीर्घाबाट जीवन शर्माले सूर्य पाठकले अघिल्लो निर्वाचनमा विजयी भएपछि जनताको पक्षबाट के काम गरे भन्दै प्रश्न गरे । उनको प्रश्नपछि उनले पाठकले आफू प्रश्नबाट नभाग्ने बताए । तर, चित्रबहादुर भागेको उनको आशय थियो । उनले चित्रबहादुर नआउने निष्कर्षका साथ सबैको सम्मान गर्दै मतदातामार्फत आफ्ना कुराहरू राख्ने बताए । सो क्रममा उनले आफ्ना चुनावी एजेण्डा विगतमा आफूले गरेका काम कारबाहीको बेलिविस्तार सुनाए । उनले चुनावपछि एमालेले बहुमत ल्याउने र अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्