बालेनले काठमाडौंवासीका लागि काम गर्न खोज्नु अपराध हो ?



यतिखेर काठमाडौंका कतिपय बासिन्दा मेयर बालेन्द्र शाहको काम देखेर मख्ख परेका छन् । राजनीतिक दलले आश्वासन मात्र देखाएर काम नगरेपछि स्वतन्त्र चुनेका महानगरवासीलाई आफ्नो निर्णयप्रति गर्व लागेको छ । बालेनको ‘एक्सन’ ले मुलुकभरको जनताको ध्यान खिचेको छ ।

उनले गरेको काम र देखाएको हिम्मत साँच्नै नै तारिफयोग्य छ । स्थानीय तहको चुनावमा काठमाडौंमा भएको राजनीतिक दलको दबदबा चिरेर अघि आएका बालेनको नाममा जनता राम्रो गुनगान मात्र गाइरहेका छन् ।काठमाडौंवासी मात्र नभई मुलुकभरका जनता उनको पक्षमा छन् । उनलाई आफ्नो काममा निरन्तरता दिन र नडगमगाउन उनीहरुले प्रोत्साहन गरिरहेको देख्न सकिन्छ ।

यसअघि राजनीतिक दलबाट मेयर जितेकाहरु सिन्को पनि नभाँचीकन निस्किए । सरकारी गाडी चढ्ने, सेवासुविधा लिने अनि ठूल्ठूला व्यापारीको सामुन्ने केही पनि नगर्ने । बालेनको कामको सिको अरु नगरपालिकाका मेयरले गर्ने हो भने देशको स्वरुप अवश्य नै फेरिन्छ । आफ्नो नगरको रुप फेर्न मेयरहरु नै बलियो भएर अघि बढ्नुपर्छ ।बालेनले गरेको काम जनता र राष्ट्रको हितमा छ । केही विरोधीहरुले खुट्टा तान्न खोजे पनि जनता उनको साथमा छन् । दुई–चार विरोधीको मुख त उनले आफैं पनि थुन्न सक्ने क्षमता राख्छन् ।

भोट दिनेले मात्र नभई नदिनेले समेत बालेनको काममाथि ‘वाहवाह’ गरेका छन् । उनी चर्चाले छुट्टै उचाइमा पुगेका छन् । राम्रो काम ग-यो भने जनताको साथ पाउन धेरै समय लाग्दो रहेनछ भन्ने उदाहरण उनले दिएका छन् । अरु नगरपालिकाका मेयरले पनि उनीबाट केही पाठ सिक्नुपर्छ ।सरकारको ऐनकानुन नमान्नेलाई बालेनले दरो सबक सिकाइरहेका छन् । उनी अघि हिँडेका छन् भने उनको पछाडि लाखौं जनता । घरको नक्सा पास गर्ने बेलामा अन्डरग्राउन्ड पार्किङ भनिएको ठाउँमा महँगो बहाल लिएर पसल सञ्चालन गरिएको थियो ।

अवैध संरचना निर्माण गरेर मासिक लाखौं भाडा उठाउनेलाई ठीक ठाउँमा ल्याएका छन् । मोटो बहाल सीमित घरधनीले लिने अनि सधैं जनताले सास्ती पाउनुपर्ने । व्यापार व्यवसाय अन्डरग्राउन्ड पार्किङमा गर्ने अनि सवारीसाधन फुटपाथमा ल्याएर पार्क गर्ने ।सवारीसाधन फुटपाथमा पार्क गरिदिँदा जनता सडकको माझबाट हिँड्न बाध्य थिए ।

जसका कारण बर्सेनि सयौं नेपालीको दुर्घटनामा परी अकालमा ज्यान जान्थ्यो । ट्राफिक जाम र प्रदूषण काठमाडौंमा थेगिनसक्नु हुन्थ्यो । अव्यवस्थित शहरलाई व्यवस्थित बनाउन अघि सरेका छन्, बालेन । तैपनि कतिपय विरोधीहरुले उनलाई नानाथरी गालीगलौज गरिरहेका छन् । आखिरी जनतालाई सुख दिन खोज्नु गलत हो ? बालेनले देखाएको हिम्मत र गरेको काम अपराध हो ?

२०७४ सालमा चुनिएर आएका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले पाँच वर्ष यत्तिकै सकाए । उनीहरुको पालामा पनि पार्किङको समस्या यस्तै थियो । तर, उनीहरुले समस्या समाधान गर्न किन खोजेनन् ? जनताले अवश्य पनि रोकेका थिएनन् । झन् काठमाडौवासीले काम गर भनेर त्यत्रो मत दिएर विजयी बनाएको होइन ? राजनीतिक पार्टीबाट आएका मेयरहरुले खटिएर अभिभावकको भूमिका निभाएको भए काठमाडौंमा स्वतन्त्र आउने ठाउँ नै थिएन ।

जनताको प्रतिनिधि भएर आएकाहरु सेवासुविधाको भोगी भएपछि काठमाडौंका जनताले पार्टीका उम्मेदवारलाई पछारेका हुन् । काठमाडौंमा स्वतन्त्रले ठाउँ पाउला भनेर कसैले कल्पना पनि गरेका थिएनन् । तर, राजनीतिक दलमाथिको विश्वास गुमिसकेपछि स्वतन्त्र चुनेका जनतालाई अहिले आएर जनप्रतिनिधि भएको महसुस भएको छ । यसअघिका मेयरझैँ बालेन मेयरको कुर्सीमा चिप्किएर बसेनन् । उनी आफैं स्थलगत अनुगमनमा खटिएका छन् ।

कुर्सीभन्दा माथि उठेर काम गर्न सक्नु नै गर्वको कुरा हो । भुरादेखि बूढासम्मको मुखमा बालेनकै नाम झुन्डिएको छ । बालेनले काम गरेको देखेर राजनीतिक दलहरुको मुटु नराम्ररी पोलेको छ । उनको प्रशंसा केही डाडेहरुलाई पचाउनसमेत गाह्रो परेको छ । सारा मुलुक नै बालेनको समर्थनमा उत्रिएको बेला एक–दुईजनाले विरोध जनाएका छन् । आफू पनि केही नगर्ने अनि अरुले गरेको देख्दा छाती पोल्नेहरु उनलाई असफल बनाउन खोजिरहेका छन् । नेकपा एमालेका नेता महेश बस्नेतलाई पनि बालेन अघि आउने हो कि भनेर साह्रो पिर परेको छ ।

काठमाडौंबाट एमालेको अस्तित्व गायब हुने देखेपछि उनले बालेनलाई सामाजिक सञ्जालमार्फत चुनौती दिएका छन् । सक्छन् भने सूर्यविनायकमा रहेको आफ्नो घरको नक्सा बोकेर आउन उनले बालेनलाई भनेका छन् । बालेनलाई चुनाव जिताएको काठमाडौंका जनताले हो, भक्तपुर क्षेत्र नम्बर २ काले होइनन् । भक्तपुरसँग सरोकार नभएको विषय भए पनि बस्नेतलाई पिरो किन लाग्यो ? बालेनले आफ्ना जनताले दिएको जिम्मेवारी निभाइरहेका छन् ।

त्यसमा बस्नेतलाई बोल्ने अधिकार कसले दियो ?
भक्तपुरबाट जितेको भए अलिकति भए पनि बोल्न सुहाउँथ्यो । आफ्नो घरमा के चलिरहेको छ थाहा छैन तर अरुको घरमा के भइरहेको छ, त्यसमा चाहिँ खूब चासो छ, बस्नेतलाई । बालेनले गरेको काममा हस्तक्षेप गर्ने हक उनलाई छैन । बस्नेत पूर्वमन्त्री हुन् भने सांसद पनि हुन् । तर, आफ्नो कार्यक्षेत्रबाहिर गएर काम गर्न पाइँदैन भनेर उनलाई अलिकति पनि हेक्का छैन ?

भक्तपुरमा महेश बस्नेतले कति विकास गरेका छन् ? जनताले राम्रोसँग देखेका छन् । नगरपालिका मेयरहरु कति जिम्मेवार छन् ? भक्तपुरको अवस्था कस्तो छ ? यसबारे त उनलाई थाहा होला । जनताको प्रश्न बस्नेतलाई, ‘भक्तपुर उपत्यकाभित्र पर्छ कि बाहिर ?’ यसो हेर्दा त दुर्गम जिल्लाजस्तो देखिन्छ । न बाटोघाटो छ, न कुनै सेवासुविधा । भक्तपुरका मेयर र वडाध्यक्षले के काम गरेका छन् ? यसको जवाफ उनले दिन सक्छन् ? न गुठी, सरकारी जग्गा खोजेका छन्, न फुटपाथ नै हटाउन । दलालीहरुले सरकारी, गुठीका जग्गा कब्जा गरेका छन् । नक्साविपरीत घरहरु बनेका छन् । खोइ कहाँ छन् जनप्रतिनिधि ? भक्तपुरवासीले आफ्नो जनप्रतिनिधि त चिन्दैनन् होला ।

जनताले चिन्नका लागि उनीहरुको माझ हिँड्नुपर्छ । अभिभावक छ भनेर अनुभव गराउनुपर्छ । जनताको हितमा मरिमेटेर काम गर्नुपर्छ । अनि मात्र ऊ जनप्रतिनिधि हुन्छ ।कुर्सीलाई प्यारो व्यक्ति कहिल्यै पनि जनप्रतिनिधि बन्न सक्दैन । भक्तपुर क्षेत्र नम्बर २ बाट सजिलै चुनाव जित्छु भनेर फाइँफुट्टी लगाइरहेका महेश बस्नेतको भ्रम पनि केही महिनामै तोडिनेछ । सक्छन् भने आगामी निर्वाचनमा जितेर देखाऊ भनेर जनताले चुनौती दिएका छन् । स्वतन्त्रले आफूलाई उछिनेर अघि बढेको देखेर एमालेलाई झैं कांग्रेसलाई पनि चिन्ताले सखापै पारिसकेको रहेछ । बालेनको जति खण्डन गरे पनि जनताले नै साथ दिएपछि जाबो एक–दुईवटा पार्टीको के नै लाग्छ । सङ्लो पानीलाई धमिलो बनाएर माछा मार्न खोज्नु अब काम नलाग्ला जस्तो छ । बालेनलाई कमजोर बनाएर अर्को चुनावमा आफ्नो पार्टी जिताउँला भन्ने सपना नदेख्दा पनि हुन्छ । बालेनको कामप्रति उद्योग व्यवसायीहरु पनि अड्चन बनेका छन् ।

अरुलाई दुःख दिएर पैसा कमाउन नपाउने भएपछि उद्योग व्यवसायीले पनि आपत्ति जनाएका हुन् । काठमाडौं महानगरपालिकाले जबरजस्ती अवैध संरचनामा पसल राख भनेको त होइन होला । आफ्नो फाइदाका लागि जहाँ मन लाग्यो त्यहीँ पसल थाप्ने अनि अहिले आएर अरुलाई दोष देखाउन त पाइएन नि ।

राज्यलाई कर नतिर्ने अनि केही नेतालाई चन्दालाई चन्दा दिएर सरकारको ऐनकानुन लत्याउने ? जसले पार्टीभन्दा माथि उठेर बोल्छ ऊ जनताको नेता हो । पूरा राष्ट्रको नेता हो । केही सीमित व्यक्तिले अवरोध गर्न खोजे पनि बालेनले बाटो खोज्नुपर्छ । बालेनको पक्षमा काठमाडौंमा मात्र ६३ हजार १६७ जनता छन् । मुलुकभर त कति छन् कति । बालेनको खुट्टा तान्नेको विरोध जनताले गर्छन् । जनताले आवाज उठाउनेछन् । बालेनलाई काम गर्न दिने हो भने काठमाडौंको मुहार अवश्य पनि फेरिनेछ ।

– किरण केसी ।

प्रतिक्रिया दिनुहोस्