सडक दुर्घटना हुनुमा को दोषी ?



केही दिनयता सडक दुर्घटनाका समाचारहरू बढी नै आउन थालेका छन् । स्तरहीन सडक, अपरिपक्व एवम् मापसे गर्ने चालक, ओभर कन्फिडेन्स, सवारीसाधनको अवस्था नाजुक, क्षमताभन्दा बढी भार, अरु सवारीसाधनसँग प्रतिस्पर्धा गर्ने प्रवृत्ति नै सडक दुर्घटनाका मुख्य कारण हुने गरेका छन् ।

यस्तै कारणले गत बुधबार दिउँसो बझाङको मष्टा गाँउपालिकामा जिप दुर्घटना हुन पुग्यो । यस घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको र घाइते १५ जना भएको समाचार छ । सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका–२, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप दुर्घटना भएको हो । यस दुर्घटनामा घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक छ ।

जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किंदै गरेका यात्रु चढेको जिप दुर्घटनामा परेको हो । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । जिप सडकबाट ५ सय मिटर तल खोल्सामा खसेको थियो । सडक एकदमै उकालो भएको र गाडीमा लोड बढी भएका कारण पछाडि सरेर भिरमा खसेको जनाइएको छ । दुर्घटनाले यतिखेर मष्टा गाउँपालिका शोकमा डुबेको छ । यो त तत्काल भएको दुर्घटनाको कुरा हो । यसभन्दा अगाडि मुलुकभर यस्ता घटना कति भएकान् कति ?

बढी कमाउने लोभले जस्तोसुकै सडकमा पनि गाडी लान तयार हुनु, अर्काले पो यात्रु टिपिहाल्छ कि भनेर ओभरटेक गर्नु, पेसेन्जर देख्यो कि अटुन्जेल गाडीमा कोच्नु र अट्न छोडेपछि छतमा हालेर भए पनि गन्तव्यमा लाग्नुजस्ता प्रवृत्ति पनि प्रायजसो यातायात व्यवसायीमा पाइन्छ ।

गाडीको अवस्था अत्यन्तै नाजुक भई गुड्नै छोडेपछि मात्र मर्मत गराउने नत्र अहिले चलेकै छ भनेर मर्मतका लागि समय र पैसा खर्च गर्न कन्जुस्याइँ गर्नेहरु पनि नहोलान् भन्न सकिन्न । त्यसैले सडक दुर्घटना न्यून गर्न चालकको ठूलो हात हुन्छ । सम्बन्धित सरकारी निकायले पनि प्रभावकारी अनुगमन गरी नियमभन्दा बाहिर गएर सवारीसाधन चलाउनेलाई कडाभन्दा कडा कारबाही गर्न पछि हट्नुहुँदैन । यसका साथै सडक सुधारका कार्यलाई पनि निरन्तरता दिनुपर्छ ।
– केशव सिंह र साथीहरु, बझाङ ।

प्रतिक्रिया दिनुहोस्