सञ्चारकर्मीमाथि दुर्व्यवहार, कारबाही गर्न महासंघको माग



सिरहा ।

पत्रकार महासंघले भन्सार कार्यालय माडरमा पत्रकार महासंघ सिरहाका सचिव शिवदयाल यादव र ग्यालेक्सी फोकेका सिरहा संवाददाता विनय यादवमाथि भएको दुर्व्यवहार घटनाप्रति आपत्ति जनाएको छ । पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताले बुधबार विज्ञप्ति जारी गर्दै सञ्चारकर्मी दुर्व्यवहार घटनाप्रति खेद प्रकट गरेका हुन् ।

सिरहामा भइरहेको अवैध तस्करी धन्दा र भन्सारका कर्मचारीले घुस लेनदेन गरी राज्यको राजस्व छली गरिरहेको विषयमा सञ्चारकर्मीद्वय मंगलबार समाचार संकलनका लागि माडरस्थित सिरहा भन्सार कार्यालयमा पुगेका थिए । यस विषयमा कार्यालयका प्रमुख रामराजाप्रसाद चौरसियासँग प्रतिक्रिया लिन खोज्दा उनले तथानाम गाली गर्दै प्रहरी बोलाएर थुनाइदिने धम्कीसमेत दिएका थिए ।

महासंघले स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई कार्यालयका प्रमुख जस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु अत्यन्तै दु:खद र अशोभनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ । घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न र पत्रकारको पेसागत सुरक्षाको प्रत्याभूति गराउन सम्बन्धित निकायलाई महसंघले ध्यानाकर्षणसमेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्