विचार र सिद्धान्त बेचेर हिँडेको एमालेको भविष्य के होला ?



नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर ५ बाट ईश्वर पोखरेललाई उम्मेदवार बनाएको छ । तर, उनको भविष्यचाहिँ के हो ? हेर्न अझै बाँकी छ । चौतारा, चियापसल, सार्वजनिक ठाउँमा यतिखेर उनकै चर्चा चुलिएको छ । आउँदो चुनावमा उनी नराम्रोसँग पराजय हुने बहस चलेको छ । उपप्रधानमन्त्रीसमेत भइसकेका पोखरेल पटकपटक मन्त्री भइसकेका छन् । उनले धेरै मन्त्रालयको पद सम्हालेका छन् ।

पद सम्हाले पनि पोखरेलले आफ्नो जिम्मेवारी निर्वाह गर्न सकेनन् । देश र जनताका लागि सिन्कोसमेत नभाँचेका उनले अकुत सम्पत्ति जोडेको बताइन्छ । झन्डै एक दशकअघि अख्यितार दुरुपयोग अनुसन्धान आयोगले उनको घरमा खानतलास गर्ने क्रममा छतमा रहेको पानी ट्याङ्कीबाट पैसाको कुम्लो नै निकालेको थियो । अख्यितारले घरमा खोजतलास गर्दा केही भेटेन तर अन्तिममा ट्याङ्कीमा पैसा लुकाएको अवस्थामा भेटेको थियो ।

बारम्बार मन्त्री भएर अकुत सम्पत्ति जोडेका पोखरेल अख्तियार र शुद्धीकरण विभागको दायरामा आएका छैनन् । २०७० सालमा अत्यधिक मतले कांग्रेसका उम्मेदवार नरहरि आचार्यले जितेको क्षेत्र हो यो । तर, आचार्य बिरामी भएर थलिएपछि यसको फाइदा पोखरेलले लिए । २०७४ सालमा जनताले नचाहँदा नचाहँदै पनि पोखरेललाई मत दिए । कांग्रेसले राम्रो उम्मेदवार नउठाउँदा सो क्षेत्र एमालेको हातमा प-यो ।७४ सालको चुनावपछि पोखरेल धेरैचोटि मन्त्री भए । तर, विकासको नामोनिशान त्यहाँ छैन । जनता उनीबाट आजित भए, आक्रोश लिएर हिँडेका छन् । काठमाडौं क्षेत्र नम्बर ५ का जनताले पोखरेललाई पराजय गर्न कम्मर कसिसकेका छन् । धेरै मतले उनलाई हराउने र भित्तामा पु¥याउन जनताको अठोट छ । ईश्वर पोखरेल मात्र होइन, एमालेका वरिष्ठ नेताहरुले चुनाव हार्छन् भनेर सर्वत्र माहौल तातिएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, महेश बस्नेत, गोकुल बाँस्कोटा, कोमल वली, शेरबहादुर तामाङ, विष्णु पौडेल, योगेश भट्टराई, प्रदीप ज्ञवालीलगायतका नेताहरुको राजनीतिक भविष्य यही आगामी चुनावबाट सकिँदै छ । एमालेलाई जनताले भोट दिँदैनन् । किनकि हिजोको दिनमा एमालेले कस्तो काम गरेको छ ? एमालेका नेताहरु कस्ता छन् ? जनतालाई राम्ररी थाहा छ ।एमाले आफ्नै सिद्धान्त र विचार त्यागेर हिँडेको छ । भ्रष्टाचारमा लुप्त एमालेका नेताहरुले भ्रष्टाचारीको छवि बनाएका छन् । मनमोहन अधिकारी र मदन भण्डारीले जनताको मन जितेर स्थापना गरेको पार्टी केपी ओलीले तहसनहस पारे । एमालेको नाम ओलीको कारण सखाप भयो । त्यतिखेर मनमोहनले ज्येष्ठ नागरिकलाई एक सय रुपैयाँ भत्ता दिने प्रवृत्तिको शुरु गरेका थिए ।

तर, ओलीले त्यसलाई नै बेचेर आफू मत मागिरहेका छन् । नीति ल्याउने त मनमोहन हुन्, ओली होइनन् । ल्याउने मनमोहन, दिने जनताले तिरेको करबाट अनि श्रेय लिने ओली । यस्ताले आफूलाई कुन मुखबाट नेता भन्ने ? राष्ट्रसेवक भन्ने ? मुलुकका लागि ज्युँदो इतिहास बनेकाको नाम बेच्न ओलीलाई अलिकति पनि लाज लाग्दैन । नेता हुनका लागि सिद्धान्त र विचारको धेरै खाँचो पर्छ । जुन ओलीसँग छैन । अरुले बनाइदिएको बाटोमा हिँडेर के–के गरेँ भन्नुअघि ओलीले सोच्नुपर्ने हो । साँच्नै नै भन्ने हो भने एमालेमा एउटा पनि राम्रा नेता छैनन् । नराम्रोले चलाएको पार्टीमा कहाँबाट राम्रो व्यक्ति आउँछन् ? अलिकति सोचाइ भएकाले पार्टी त्यागिसकेका छन् । ओली पटक–पटक प्रधानमन्त्री भए । तर, देश र जनताका लागि के गरे ? प्रश्न उठेको छ ।

यसमा जनताको पनि गल्ती छ । प्रधानमन्त्री पदमा बस्ने हैसियत भएका व्यक्ति होइनन्, ओली । उखानटुक्का भन्नेले देशको अभिभावकत्व निभाउँछ भनेर जनताले सोच्नु भ्रम हो । ओलीको उखानटुक्काको पछि लाग्दा नेपाल विकासमा झनै पछि प¥यो । पढाइ हे¥यो भने वडाध्यक्ष सम्हाल्न सक्ने क्षमता छैन । क्षमता नभएकालाई भारी बोकाएर हुन्छ ? उसले भारी बोक्न सक्छ ?हिजो भोट माग्ने बेलामा नेपालमा पानीजहाज चलाउने भने । चुलाचुलामा ग्यासको पाइप पु¥याइदिने आश्वासन दिए । यता, रेल चलाउने, ज्येष्ठ नागरिक भत्ता पाँच हजार पु¥याइदिने र १२ को शैक्षिक प्रमाणपत्र राखेर कर्जा दिने भनेर जनताको घरघरमा पुग्ने ओली नै हुन् । पानीजहाज चल्छ भनेर भोट मागे, पदमा पनि पुगे । तर, कहाँ चल्यो पानीजहाज ? नेपालमा समुद्र छ र पानीजहाज चलाउन ?

चुलाचुलामा ग्यासको पाइप जोडियो ? ज्येष्ठ नागरिकको भत्ता बढ्यो ? यस्तो हाउडे भाषणको पछाडि लाग्दा जनताको मत खेर गयो । अब पनि यस्तालाई भोट दिनु भनेको ‘आफ्नो खुट्टामा आफैँले बन्चरो हान्नु हो ।’ केपी ओली नेतृत्वको सरकार आउनुअघि कांग्रेसको सरकार थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले मृगौला, मुटु रोगलगायत अन्य रोगबाट थलिएकालाई मासिक पाँच हजार भत्ता दिने निर्णय गरेका थिए ।
यता, ज्येष्ठ नागरिक भत्ताको उमेर घटाएर ६८ वर्ष पु¥याउन देउवाले जोडबल गरेका थिए । तर, एमाले सरकारमा आउनेबित्तिकै कांग्रेसले गरेको निर्णय सबै उल्टाइदियो । न ज्येष्ठ नागरिकले भत्ता पाए, न दीर्घकालीन रोगीले । कांग्रेस हिरो हुन्छ भनेर निर्णय उल्टाउने एमाले जिरो साबित भएको छ । ओलीले त रोगी र ज्येष्ठ नागरिकको पेटमा लात हानेका हुन् ।

ओली आफैं पनि मृगौला रोगबाट ग्रसित छन् । तैपनि मृगौला पीडितको पीडा उनले देखेनन् । आफूचाहिँ राज्यको ढुकुटी रित्याएर विदेश उपचार गर्न जाने अनि गरिबलाई दिन लागेको भत्ता काट्ने ? हिजो जनतालाई लात हान्ने एमालेलाई अब जनताले लात हान्नेछन् । आफ्नो निजी सम्पत्ति बेचेर भत्ता दिन लागेकोजस्तै व्यवहार देखाए, ओलीले । तर, जनताले तिरेको कर सकाउनचाहिँ उनलाई अलिकति पनि लाज लागेन ?राप्रपाका जनताले एकमत पनि दिँदैनन् । नेपाल मजदुर किसान पार्टीले जहिल्यै एक क्षेत्र जित्छ । जनता धेरै शिक्षित भइसकेका छन् । कसले के काम ग¥यो ? भनेर जनताले अध्ययन गरिरहेका छन् । एमालेमा रहेर आफ्नो उमेर कटाएकाले टिकट पाएनन् । पार्टीका निम्ति आफ्नो घरखेत गुमाएकालाई ओलीले छुट्याए । बरु प्रहरीमा जागिर खाएर टन्न सम्पत्ति जोडेकाले टिकट पाए ।

राजनीतिमा वर्षैं देखि लागेकालाई पन्छाएर नाच्ने–गाउने कलाकारलाई टिकट दिइयो । पार्टीमै लागेर इतिहास बन्न लागेकाहरु योचोटि पनि जनतामाझ जानबाट वञ्चित भए । एमालेले टिकट वितरणमा पक्षपात गरेको छ । जसले पार्टीलाई पोस्न सक्छ, त्यस्तालाई उम्मेदवार बनाइयो । एमालेका कार्यकर्ताहरुले सूर्यमा भोट नहाल्ने अडान लिएका छन् । बरु, घरमा सुतेर बस्न तयार छन्, उनीहरु ।२०७१ सालमा महेश बस्नेत र चरी गुण्डालाई भ¥याङ बनाएर ओलीले माधवकुमार नेपाललाई पार्टी अध्यक्षबाट पराजित गरेका हुन् । त्यही गुन तिर्नका लागि २०७० सालमा चुनाव हारेका बस्नेतलाई ओलीले मन्त्री बनाइदिए । गुण्डालाई कसले पत्याउने ? भक्तपुर क्षेत्र नम्बर २ का जनताले उनलाई पत्याएनन् । तैपनि मन्त्री बनिहाले । एमालेबाट चुनाव जितेर आएकाले मन्त्री पाएनन् ।

त्यस्तै, २०७४ सालमा चुनाव जितेर आएका सांसद मन्त्री बन्न पाएनन् । तर, एउटा कर्मचारी पृष्ठभूमिबाट आएर युवराज खतिवडालाई अर्थमन्त्री बनाइयो । चुनावमै नगएकाले मन्त्री पाउँदा अरु सांसदलाई कस्तो महसुस भयो होला ? यता, उनलाई अमेरिकाका लागि नेपाली राजदूतको जिम्मेवारी सुम्पियो । पार्टीभित्र आफ्नो विरोध गर्ने भीम रावल, घनश्याम भुसाललगायतका नेतालाई टिकट दिइएन ।

राम्रो र नराम्रो भन्ने हक पार्टीका नेतालाई हुँदैन ? पार्टीका नेतामाथि पनि ओलीले ज्यादती गरेका छन् । जुन दिन ओलीले अध्यक्ष जिते त्यो दिनबाट एमाले सिद्धियो । पार्टी फुटेर टुक्राटुक्रा भयो । एमालेलाई ओलीले पार्टी होइन, प्राइभेट कम्पनी बनाएका छन् । एमालेलाई न वृद्धभत्ता बढ्छ कि भनेर भोट दिन्छन्, न रोजगारीको अपेक्षा राख्छन् । एमालेले जति झुक्याउन खोजे पनि जनता झुक्किनन् । अबको चुनावमा एमाले भित्तामा गएर ठोक्किन्छ । ओलीको उखानटुक्काले अब केही हुनेवाला छैन ।

प्रतिक्रिया दिनुहोस्