राजावादीहरुको संसद् छिर्ने दिन सकिएकै हो त ?



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हिन्दू राज्य स्थापना गर्ने, संघीयता खारेज गरेर राजतन्त्र ब्युँताउने नारा लिएर जनतामाझ पुगेको छ ।

देशमा राजाको खाँचो छ भन्दै राप्रपाले जनतासँग भोट मागिरहेको छ । २०७० सालको चुनावमा कमल थापाले हिन्दू राज्य ल्याउने र राजतन्त्र फर्काउने भनेर राजासँग १० करोड लिएर झ्वाम बनाए । २४ सिट ल्याएर पनि केही उखलेनन् । बरु, तीनचोटि सरकारमा गएर उपप्रधानमन्त्री खाए । थापाकै बाटोमा अहिले राजेन्द्र लिङदेन पनि हिँडेका छन् । राजासँग करोडौं रकम लिएर चुनावी खर्च जुटाउने दाउ उनको छ ।

राजा ल्याउने भनेर हिँडेकाको दुईदिने नाटक पनि चुनावपछि देखिन्छ । २०७४ सालको चुनावमा जनताले राप्रपालाई भोट नै दिएनन् । लिङ्देनले एक सिट जिते । २०७० सालको तुलना गर्ने हो भने २३ सिट गुमाउनुप-यो । आउँदो प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा राप्रपाले त्यही एक सिट पनि नजित्ने अनुमान लगाउन थालिएको छ । कमल थापा र राजेन्द्र लिङदेनको पार्टीको हाल बेहाल हुनेछ ।

लिङदेनले चुनाव जितेर आए पनि केही गरेनन् । पाँच वर्षको कार्यकालमा उनी २० चोटि पनि संसद्मा उभिएका छैनन् । उनको हाजिरी न्यून मात्र देखिन्छ । बस्, सरकारी सेवासुविधा लिने र तलबभत्ता खाने काम मात्र गरे ।राप्रपामा कलाकार, पत्रकार, अभियन्तालगायतका व्यक्तिहरु हिँडेका छन् । कलाकारिता क्षेत्रबाट आएकी रेखा थापा, पत्रकार रवीन्द्र मिश्र र अभियन्ता भनिने ज्ञानेन्द्र शाहीलाई कसले पत्याउने ? कलाकारसँग के क्षमता हुन्छ ? नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नाचेर चर्चामा आएकी रेखा थापा पनि मौका छोप्ने मात्र हो । माओवादीबाट टिकट नपाएपछि राप्रपामा । कहिले यता कहिले उता ।

राप्रपाका प्रवक्तासमेत रहेका ज्ञानेन्द्र शाही हिजो के गर्थे, सबैलाई थाहा छ । ठूल्ठूला कुरा गर्न जानेको तर अलिकति पनि काम गर्ने क्षमता नभएकालाई राप्रपाले टिकट दिएको छ । पत्रकार रवीन्द्र मिश्र पनि मौकाको फाइदा उठाउने मात्र हुन् । विवेकशील साझा पार्टी चलाउन नसकेपछि सयौं ठक्कर खाएर राप्रपामा आएकाबाट के अपेक्षा गर्ने ? यिनीहरुलाई राजतन्त्र होइन, कुर्सी चाहिएको छ ।

अध्यक्षको पद नपाएपछि पार्टीबाट चोइटिएर हिँडेका कमल थापा आफैंले पनि नेकपा एमालेबाट चुनावमा जाँदै छन् । अध्यक्ष नपाएपछि राजतन्त्र नै त्यागेर लोकतन्त्र स्वीकारेका थापालाई कसले पत्याउने ? २०६२–६३ सालमा जनताले राजतन्त्र फ्याँक्नुपर्छ, गणतन्त्र ल्याउनुपर्छ भनेर १९ दिने आन्दोलन गरेका थिए । त्यतिखेर गृहमन्त्री थापा नै थिए । उनले प्रहरीलाई बन्दुक चलाउने निर्देशन दिएपछि कुखुरा मारेजसरी जनता मार्ने काम भयो ।

बानेश्वर, त्रिपुरेश्वर, कंलकीलगायतका स्थानमा सबैभन्दा धेरैको मृत्यु भयो । उनको निर्देशनले गर्दा प्रहरीले मकै भुट्ेको जसरी गोली चलायो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापालाई मकवानपुरबाट टिकट दिएका छन् । तर, बीसौं वर्ष पार्टीमा लागेर योगदान पु-याएको एमालेको नेताले टिकट पाएनन् । थापालाई टिकट दिनुहुँदैन भनेर मकवानपुरस्थित एमालेको पार्टी कार्यालयमा ताल्चा लगाइयो । केपी ओलीले विचार र सिद्धान्त छोडिसकेको एमाले नेता तथा कार्यकर्ताहरुको आरोप छ । ओलीले राजतन्त्र फर्काउनका लागि भित्रभित्रै योजना बुनेको बताइन्छ ।

केही गरी एमाले सत्तामा फर्कियो भने राजतन्त्र फर्किन्छ र संघीयता खारेज हुन्छ भन्ने कुरा स्पष्टरुपमा बुझ्नुपर्छ । ओली हिजो पनि राजतन्त्र चाहिन्छ भन्थे, आज पनि उनको मनमा त्यही छ । उनले बाहिरी रुपमा खुलस्त पार्न नसकेको पस्ष्ट हुन्छ ।
ओली ‘राजावादी’ हुन् भन्दा पनि केही फरक नपर्ला । अब आउने चुनावमा एमालेले बढीमा सात सिट जित्छ । ओलीले आउने चुनावमा झापा ५ बाट चुनाव हार्छन् । त्यत्रो आन्दोलन गरेर ल्याएको व्यवस्था बदल्न खोज्नेहरु भित्तामा पुग्नेछन् । राजनीति परिवर्तन गर्न कतिले ज्यान फालेका छन् ? कति पीडा खेपेका छन् ? ओलीलाई थाहा छ । ओलीलाई जसरी पनि पराजय गर्नुपर्छ ।

एक गुट भएका राजावादीहरुलाई जनताले ठीक ठाउँमा ल्याउने निश्चित छ । राजावादीहरुको गुटले जति कोशिश गरे पनि जनताले राजतन्त्र फर्काउन दिने छैनन् । घरघरबाट जनता सडकमा उत्रिन्छन् । आज ओली राजनीतिका ठूल्ठूला भाषण गर्छन् तर उनले राजनीतिक परिवर्तनका लागि के गरेका छन् ? २०२८ सालमा खाना खान लागेको व्यक्तिलाई च्वाटै काटेर १४ वर्ष जेल बसे । अनि बाहिर निस्केर राजनीतिका कारण जेल बसेको भन्न लाज लाग्दैन ? राजनीतिका लागि उनी एकदिन पनि जेल बसेका छैनन् ।

अपराध गरेपछि सजाय काट्नु स्वाभाविकै हो । ओलीकै कारण मुलुकमा अप्ठ्यारो पर्ने देखिन्छ । अहिले चलिरहेको व्यवस्था नै संकटमा पर्ने देखिन्छ । चुनाव हारुन् कि जितुन्, उनले राजतन्त्र फर्काउने हरेक कोशिश गर्नेछन् । लिङ्देन र थापाले जे भन्यो ओलीले त्यही मान्छन् ।

राजावादी सोच भएकाहरुले अहिलेको व्यवस्था मनपराउँदैनन् । पहिल्यैदेखि गणतन्त्र र लोकतन्त्रका विरोधीहरुले अब आफ्नो भाषा ओलीको मुखबाट भन्छन् । ओली पनि तिनकै इशारामा नाच्ने देखिन्छ । यहाँ दोहोरो भिडन्त हुनेछ । जनता र अन्य राजनीतिक दलहरु हिन्दूराज्य चाहिँदैन, संघीयता खारेज गर्नुहुँदैन भनेर सडकमा आउँछन् । यता, राजावादीको गुट पनि आन्दोलनमा उत्रिन्छन् ।

पछिल्लो समय नेपालमा विदेशी हस्तक्षेप बढिरहेको छ । किनकि राजनीतिक दलहरु निकै कमजोर देखिएका छन् । राजा ज्ञानेन्द्र शाहले बेलाबखत नेपालमाथि मडारिएको खतराको व्याख्या विश्लेषण गर्ने गरेका छन् । एमसीसी पारित र नागरिकता विधेयकका कारण नेपाल विदेशी हस्तक्षेपमा परेको उनको वक्तव्यले प्रस्ट हुन्छ । यता, नेपालीलाई भेडाबाख्राझैं विदेश पठाउने क्रमले मुलुक संकटमा परेको छ ।

राजाले समेत देशमा आफ्नो आवश्यकता परेको बताउँदै आएका छन् । तर, हिजो राजाले जनता दबाउन नखोजेको भए आज आफैँ दबिनुपर्दैनथ्यो । तर, जति नै भए पनि जनताले राजतन्त्र फर्काउने छैनन् । जनतालाई राजतन्त्र चाहिएको छैन । राजाको सपोर्टमा सयजना माइतीघर मण्डलामा ओर्लिंदैमा राजतन्त्र फर्किन्छ ? हिन्दू राज्य आउँछ ? सयजनाले केही उखल्नेछैनन् ।
राजाले पालिरहेका ओली, थापा र लिङदेन पक्षका केही व्यक्ति सडकमा आउलान् । तर सर्वसाधारणचाहिँ मरे पनि आउने छैनन् । यिनीहरुको भविष्य संकटमा परेको छ ।

आगामी निर्वाचनपछि राप्रपाबाट उठेका उम्मेदवारहरुको कन्तबिजोग हुन्छ । केपी ओली र कमल थापामाथि पनि कालो बादल मडारिएको छ । २०७४ सालमा काठमाडौं क्षेत्र नम्बर १ बाट उठेका रवीन्द्र मिश्रले नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई चुनौती दिएका थिए । थोरै मतले मात्र उनी पराजय भएका थिए । यसअघिको चुनावमा ११ हजार बढी मत ल्याएको मिश्रले अब त्यसको एक तिहाइ पनि ल्याउँदैनन् । उनी राप्रपामा जानु भनेको आफ्नो खुट्टामा आफैंले बन्चरो हान्नु हो । किनकि राप्रपाको इतिहास सबैलाई थाहा छ । राप्रपामा कस्ता नेता थिए र तिनले के काम गरे ? यो हरेक जनताले राम्रोसँग स्मरण गरेका छन् ।

बरु, जनताको काम गरेको भए मिश्रको जित्ने सम्भावना धेरै हुन्थ्यो । मंसिर ४ गतेपछि राप्रपालाई दिउँसै बत्ती बालेर खोज्नुपर्ने अवस्था आउँछ । निवर्तमान कानुनमन्त्री गोविन्द शर्माले सांसदको अवधि लम्ब्याउने भनेर प्रस्ताव गरेका थिए । चुनावको अघिल्लो दिनसम्म सांसदको कार्यकाल रहने भनिएको थियो । तर, लिङदेनले म्याद थप्न नहुने भन्दै राजीनामा घोषणा गरेका थिए ।

उनले आफ्नो पार्टीलाई थप बलियो बनाएर संसद् प्रवेश गराउने भाषण ठोकेर राजीनामा दिए । अब उनी आफैं त संसद् छिर्न पाउने हो कि होइन, भर छैन । आफ्नो पार्टीलाई दरो बनाएर छिराउँछु भन्नु दिउँसै सपना देख्नु मात्र हो । आफू उभिन नसक्ने भन्दै ओलीले कुर्सीमा बसेर घण्टौं भाषण गरेका थिए । अब उनले यति धेरै दुःख गर्नुपर्दैन । संसद् नै छिर्न नपाएपछि उठेर होस् कि बसेर भाषण गर्नुपर्दैन ।

प्रतिक्रिया दिनुहोस्