आगामी चुनावपछि ओलीको हालत के होला ?



केपी ओलीले आफ्नो पार्टी एमालेमा बीसौं वर्ष जनताको हितमा वा पार्टीको हितमा काम गरेका मानिसलाई टिकट दिएनन् तर ओलीले राप्रपाका दर्जनौं नेताहरुलाई टिकट दिए । यसबाट ओली राजावादी रहेछन् भनेर अब जनताले बुझ्नुपर्छ । यदि एमाले पार्टीले चुनाव जितेमा अब देशमा राजतन्त्र आउँछ र हिन्दू राज्य हुन्छ भनेर जनताले बुझ्नुपर्छ ।

ओलीले आफ्नो पार्टीका लागि संघर्ष गरेका र आन्दोलनसमेत गरेका नेताहरुलाई टिकट दिएनन् तर राप्रपाका नेताहरुलाई धमाधम टिकट दिए । यसबाट के बुझ्ने त जनताले ? एमाले पार्टीलाई जनताले भोट दिनु भनेको हाम्रो लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको अन्त्य गर्नु र राजावादी सिद्धान्त ब्युताउनु हो । जनताले यदि एमालेलाई भोट दिएर जिताएमा देशमा संघीय लोकतन्त्र गणतन्त्र रहँदैन ।

राजतन्त्र र हिन्दूराष्ट्र ब्युँताउन नै ओलीले दुईपटक संसद् विघटन गरे । जनताले एमाले पार्टीलाई त्यस बेला बहुमत दिए पनि ओलीले देशमा राजतन्त्र ल्याउन पटक–पटक संसद् विघटन गरिराखे । झापा क्षेत्र नम्बर ५ का जनताले केपी ओलीलाई मतदान गर्दा १० पटक सोच्नुपर्छ, किनभन्दा ओली राजावादी हुन् र उनी राजाकै झोला बोकेर हिँडिरहेका छन् ।
ओली देशको प्रधानमन्त्री रहँदा उनले २०७७÷९÷५ गते पहिलोपटक संसद् विघटन गरेका थिए तर फेरि पनि अदालतले उनलाई ब्युँतायो र अदालतले ब्युँताएको संसद् उनले फेरि पनि २०७८÷२÷८ गते विघटन गरे । अब फेरि पनि जनताले यस्तो व्यक्तिलाई भोट दिएर जिताउन हुन्छ ? अब जनताले एमालेलाई भोट दिनुहुँदैन, किन भन्दा एमालेसँग न त सिद्धान्त नै छ, न त विचार नै ।

एमाले पार्टी ओलीको निजी कम्पनी हो र एमाले पार्टीले कहिल्यै पनि जनता र राष्ट्रको हितमा काम गर्नेछैन । एमालेमा बीसौं वर्ष पार्टी र जनताको हितमा काम गर्नेले टिकट पाउँदैन र अघिल्लो दिनसम्म राप्रपाको झोला बोक्न र भोलिपल्ट एमालेमा छिरेर नाच्ने र गाउनेले टिकट पाउँछन् । नाच्ने र गाउनेलाई एमालेले टिकट दिए पनि मसिंर ४ गतेको चुनावमा जनताले यिनीहरुलाई हराउँछन् ।

एमाले पार्टी त पार्टी नै होइन भनेर जनता भन्छन् । कोही भन्छन्, कलाकारहरु नाच्ने र गाउने ठाउँ त कोही भन्छन्, ओलीको निजी कम्पनी । के यस्तो निजी कम्पनीलाई पनि अब जनताले भोट दिनुहुन्छ । मंसिर ४ गतेभन्दा पछाडि केपी ओली र अहिले टिकट पाउनेहरुको हाल बेहाल हुनेछ भनेर जनता नै बताउँछन् । आगामी चुनावमा एमालेले थोरै सिट मात्र जित्छ भनेर विज्ञहरु बताउँछन् ।

अहिले जनताले थाहा पाइसकेका छन्, एमाले पार्टी राजावादी हो । अब त्यसैले पनि जनताले एमालेलाई भोट दिँदैनन् । राजेन्द्र लिङ्देन, कमल थापासँग गठबन्धन गर्ने ओली वा एमालेलाई पनि अब जनताले भोट दिन्छन् त ? हामी नेपाली जनताले अब एमाले पार्टीलाई भोट दिने बेला धेरै सोच्नुपर्छ । यदि एमाले पार्टीकै कार्यकर्ता भए पनि हामीले पहिला हामी नेपाली नागरिक हौँ भनेर सोच्नुपर्छ, अनि मात्र मतदान गर्नुपर्छ ।

ओलीको दुई तिहाइको सरकार हुँदाहुँदै पनि उनले पार्टी मिलाउन सकेनन् र पार्टी नै टुक्राटुक्रा भयो । एमालेको सबै प्रदेशमा सरकार थियो तर अहिले सबै प्रदेशका सरकारहरु ढले । जनताको मतबाट चुनिएर आएका सांसदले मन्त्री पाएनन् तर एउटा सरकारी कर्मचारी डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाइयो । ओली देशको प्रधानमन्त्री रहँदा उनले देश र जनताको लागि एउटा सिन्को पनि भाँचेनन् । तर जनताले तिरेको करबाटै तलब भत्ता खाए, सरकारी गाडी चढे, उपचार गर्न देशविदेश घुमे र भात खाएर बालुवाटार बसे । यता पार्टीको बैठकमा पनि पार्टी कार्यालयमा जान सकेनन् र पार्टीको बैठक पनि बालुवाटारमै राखे । उता प्रधानमन्त्री भएर सिंहदरबार पनि जान सकेनन् र मन्त्री परिषद्को बैठक पनि बालुवाटारमै राखे । साथै देशको नक्साको केक बनाएर जन्मदिनसमेत मनाए ।

प्रधानमन्त्री भएर देश र जनताको हितमा काम नगरी बाँसुरी बजाएर बसे । नेपालमा कोरोना बढ्दा देशमा लकडाउन गरे तर जनता खाना नपाएर आ–आफ्ना गाउँघरमा खुट्टामा फोका उठाई–उठाई १५ दिनको बाटोसमेत हिँडेर जाँदा ओलीले उनीहरुको दुःख–कष्ट देखेनन् । साथै सञ्चारकर्मीहरुले त्यस्ता समाचारहरु बाहिर ल्याउँदा पनि ओलीलाई त्यस बेला जनताको माया लागेन । उल्टै त्यस्ता समाचारहरु बाहिर ल्याउने सञ्चारकर्मीहरुलाई धम्क्याए वा खिल्ली उठाए । ओलीले त्यस्तो ठाउँमा पनि सञ्चारकर्मी पुगे भनेर सञ्चारकर्मीकै खिल्लीसमेत उडाए । आफ्नो पार्टीको बारेमा राम्रो समाचार लेख्ने मिडियालाई सरकारी विज्ञापन धमाधम दिने तर आफ्नो पार्टीको बारेमा नराम्रो लेख्ने मिडियालाई सरकारी विज्ञापन नै नदिने । साथै यता केपी ओली वा गोकुल बास्कोटाको विरोधमा बोल्ने पत्रकारको जागिर नै खाइदिने ।

देशमा एमालेको सरकार रहँदा वा गोकुल बास्कोटा सूचना तथा सञ्चारमन्त्री रहँदा एउटा पत्रकारले गोकुल बास्कोटासँग अन्तर्वार्ता लिएका थिए र पत्रकारले बास्कोटालाई तपाईंको निजी सम्पत्ति कति छ भनेर सोधेका थिए । यही सोधेको आधारमा बास्कोटाले त्यो पत्रकारको जागिर पनि खाइदिए र त्यो कार्यक्रम पनि बन्द गरिदिए । के यस्तालाई पनि अब जनताले भोट दिनुहुन्छ त, विचार गरौँ । ओली प्रधानमन्त्री रहँदा जनता र राष्ट्रको हितमा केही काम नगर्ने र आफ्नो नजिकको मानिसलाई बालुवाटारमा बोलाएर भोजभतेर लगाउने । अनि यता आफ्नो पार्टीबाट चुनाव जितेर आएका सांसदहरुलाई भनेचाहिँ विपक्षले विरोध गरेमा कालो अरिँगालजसरी टोक्नु भनेर निर्दैशन दिने । देशको प्रधानमन्त्री नै कुर्सीमा मात्र बस्ने अनि विपक्षको बारेमा नै यस्तो भन्ने ।

आफू नै काम केही नगर्ने अनि मिडियाले राम्रो लेखेन भनेर गुनासो गर्ने । साथै सबै मिडियाका सम्पादकहरुलाई आफ्नो विरोधमा नलेखाउन वा फकाउन हप्ता–हप्तामा बालुवाटार बोलाउने अनि खाजा खुवाउने । यता भनेचाहिँ आफ्नो राम्रो कामका बारेमा कुनै पनि मिडियाले नलेखेको भनेर गुनासो गर्ने तर काम गरेको भए पो मिडियाले पनि लेख्नु त । एमाले पार्टीबाटै दुर्गम जिल्लाबाट चुनाव जितेर आएका सांसदले कहिल्यै ओलीलाई भेट्न नपाउने र मेहश बस्नेत र गोकुल बास्कोटाले ओलीलाई घेरेर राख्ने । किन भन्दा एमाले पार्टी जनता र राष्ट्रको लागि नभई केपी ओलीको निजी कम्पनी हो ।

अब पनि ओलीको उखान टुक्कामा जनता लाग्ने कि ? ओलीले आफ्नो नाममा रहेको घरजग्गा वा सम्पत्ति सबै सरकारको नाममा पास गरेको भनेका छन् तर तेह्रथुमको हो कि, झापाको हो कि, भक्तपुरको बालकोटको नै हो ? यसको जवाफ त अब जनतालाई पनि चाहियो । ओली आफूसँग उपचार गर्नेसमेत पैसा छैन भनेर भाषण गर्छन् तर बजारमा जनता भन्छन्– ओलीको विदेशी बैंकमा २२ अर्ब पैसा रहेको छ । अब हामीले ओलीको कुरामा विश्वास गर्ने कि जनताको ? अहिले पनि पैसा हुनेले एमालेमा टिकट पाएको भनेर निकै चर्चा रहेको छ र मनोनीत सांसदको टिकटका लागि ३ करोड र प्रत्यक्ष सांसदका लागि १० करोड भनेर सुनिन्छ । यता पैसा नभएर टिकट नपाएको गुनासो पनि सुनिन्छ ।

एमाले पार्टीसँग जनता र राष्ट्रको हितमा काम गर्ने क्षमता रहेको छैन र जनताले पनि एमालेलाई भोट दिनुहुँदैन । अहिले चुनाव लड्न पार्टीबाट टिकट नपाएपछि कति मानिसहरुले स्वतन्त्रबाट नै उम्मेदवारी दर्ता गरेका छन् त कति पार्टी नै त्याग गरेर घरमा बसेका छन् । अहिले पनि केपी ओलीको विरोधमा जनता बोल्न सक्दैनन् र सञ्चारकर्मी कलम चलाउन सक्दैनन् । यता कार्यकर्ताको त कुरै छोडिदिँदा हुन्छ । त्यसैले आगामी चुनावपछि केपी ओली पक्षको बेहाल हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्