नेताहरुका लागि चुनावसँग जोडिएको यसपालिको विशेष दसैं



काठमाडौं,१७ असोज । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन डेढ महिना बाँकी रहदा नेताहरु दशैंसँगै गाउ केन्द्रीत भएका छन् । सधैजसो शहरमै दशैं मनाउने नेताहश्र पनि यस पटक चनावी रन्कोका कारण गाउ छिरेका हुन । चुनावको समयमा मात्रै आफ्नो निर्वाचन क्षेत्र टेक्ने नेताहरु समेत दशैंको निह पारेर जनतासँग भेटघाटलाई बाक्लो बनाउन थालेको स्थानहरुको भनाइ छ ।

प्रतिनिधिसभा र सातै प्रदेशसभाका लागि ८ सय २५ जनप्रतिनिधि छनोट हुने निर्वाचनमा राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवार आइतबार टुंग्याएका छन् । समानुपातिक उम्मेदवारको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएसँगै दलहरू प्रतिनिधिसभाको उम्मेदवार चयन गर्न अन्तिम तयारीमा लागेका छन् । यो सँगै दसैंको अवसरमा गाउँ गएका मतदातालाई आफ्नो पक्षमा पार्न प्रतिनिधिसभाका सम्भावित उम्मेदवारहरू आआफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् ।

दसैं मनाउन सहरबाट गाउँ गएका मतदाताहरुसँग उनीहरूले भेटघाट र शुभकामना आदानप्रदान गर्ने र चुनावी माहोल बनाउने अवसरका रुपमा लिएका छन् । आइतबार दलहरूले बुझाएको बन्दसूची नै लगभग अन्तिम हुनेछ । बन्दसूचीमा नाम रहेको सम्बन्धित व्यक्तिले फिर्ता लिने र उम्मेदवारविरुद्ध उजुरी परेर छानबिन गर्दा नाम हट्नेबाहेक दलले बुझाएको नाममा हेरफेर नहुने निर्वाचन आयोगले जनाएको छ । यही सूचीलाई आयोगले असोज २२ मा प्रकाशन गर्नेछ ।

समानुपातिकको निर्वाचन कार्यक्रमअनुसार बन्दसूचीमा नाम रहेका उम्मेदवारले सोमबार १२ बजेसम्म आफ्नो नाम फिर्ता लिन निवेदन दिन सक्नेछन् । आयोगले बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएको जानकारी सोमबार ३ बजेसम्म सम्बन्धित दललाई दिनुपर्ने हुन्छ । मंगलबार, बुधबार मात्रै निर्वाचनसम्बन्धी कुनै कार्यक्रम छैन । असोज २० देखि २२ सम्म उम्मेदवारको नाम फिर्ता लिएका कारण रिक्त हुन आएको स्थानमा त्यही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनीत उम्मेदवारको नामावली राजनीतिक दलले आयोगमा पेस गर्नुपर्ने हुन्छ । निर्वाचन आयोग टीकाको दिन पनि खुला हुने आयोगले जनाएको छ ।

असोज २३ मा प्रत्यक्षतर्फकै उम्मेदवारी दर्ता गर्नुपर्ने हुन्छ । उम्मेदवारी दर्ता गर्ने कार्यालय शनिबारदेखि खुल्न थालेका छन् । टीकाको भोलिपल्टसम्म १ सय ६५ निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय खुलिसक्ने आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

आयोगले हरेक निर्वाचन क्षेत्रलाई पायक पर्ने स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै छ । राजनीतिक दलका नेताहरुले यो दशैंलाई विशेष दशैंका रुपमा लिएका छन् । दशैंकै सन्दर्भमा विभिन्न शहरबाट गाउ फर्केका मतदाताहरुसँग साक्षत्कार गर्ने उचित समयका रुपमा यो दशैंलाई लिन सकिने नेताहरुको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्