गस्ती गर्ने आमालाई टर्च



हेटौंडा।

समाज सुधारको अभियान लिएर रात्रि गस्तीमा हिड्ने हेटौंडा–९ को पुष्पाञ्जलि आमा समूहलाई वडा कार्यालयले बिभिन्न सामग्री सहयोग गरेको छ ।
गस्तीमा हिड्ने क्रममा सहयोग पुर्‍याउने उद्धेश्यले हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडा कार्यालयले राति हि“ड्न सहज गराउन ज्याकेट, जुत्ता, टर्च, सिटीसहित सामान्य उपचार सामग्रीसहित बक्स हस्तान्तरण गरेको हो ।

वडा कार्यालयले महिला समूहका लागि खरिद गरेको सामग्री हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले महिला समूह अध्यक्ष कल्पना थापा मगरसहित समूहमा आवद्ध ४० जनालाई हस्तान्तरण गर्नुभयो । महिला समूहले प्रत्येक राति वडा क्षेत्रमा गस्ती गर्ने गरेको छ ।

महिला समूहलाई सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख लामाले समाजसुधारका लागि महिला समूहले देखिएको तत्परताको प्रशंसा गर्नुभयो । उहाँले उपमहानगरका सबै वडामा यस्तो अभियान चलाउनु जरुरी रहेको बताउँदै लामो समयदेखि नियमित र निरन्तर गरेको अभियानले समाज सुधारमा महत्वपूर्ण काम भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वडाध्यक्ष सुकराम केसीले आमा समूहको कामले वडामा रात्रियात्रामा सहज भएको बताउनुभयो । उहाँले वडामा रहेको बेतिथिलाई आमा समूहको गस्ती अभियानले रोकेको जानकारी दिनुभयो । सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य वीरेन्द्र लामा, सुनिता दर्नाल, वडा सदस्य कमला पौडेल, नगर स्वास्थ्य समिति सदस्य बेगम बराललगायतको आतिथ्यता थियो ।

प्रतिक्रिया दिनुहोस्