झलनाथको विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद



काठमाडौँ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले लेखेको विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद शीर्षकको पुस्तक शुक्रबार सार्वजनिक भएको छ ।

‘नेपालको कम्युनिष्ट आन्दोलन, पुँजीवादी तथा जनवादी क्रान्तिको सफलता देखाउने र आगामी समाजवादको रुपरेखा कोर्ने उद्देश्यले मैले यो पुस्तक लेखेको हुँ’ पूर्व प्रधानमन्त्री पनि रहिसकेका खनालले किताब विमोचनका क्रममा भन्नुभयो ।

नेपाल समाचारपत्र दैनिकका सम्पादक कपिल काफ्लेलगायत राष्ट्रिय दैनिकका सम्पादक तथा नेकपा एकीकृत समाजवादीका नेताहरुले संयुक्त रुपमा विमोजन गरेको विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवादले २०६२–६३ सालको जनआन्दालनले नेपालमा पुँजीवादी तथा जनवादी क्रान्ति सफल बनाएको र त्यसलाई २०७२ सालको नेपालको संविधानले औपचारिकता प्रदान गरेको विश्लेषण गर्दै नेकपा एमालेलाई दुईतिहाइ बहुमत प्रदान गरेर संघीय संसदमा ल्याएको र सातमध्ये ६ प्रदेशमा सरकार बनाउने अवस्था दिलाएको सन्दर्भलाई नेपालको कम्युनिष्ट आन्दोलनको उच्च सफलताका रुपमा लिइएको छ ।

‘खड्गप्रसाद ओलीले प्रधानमन्त्री तथा पार्टी अध्यक्षका रुपमा अधिनायकवादी तथा प्रतिगामी कदम चाल्दै दुई–दुई पटक संसद विघटन गर्ने र पार्टीभित्र ओली गुटलाई मात्र लिएर अघिबढ्ने चरित्र देखाएपछि नै त्यस सफलतामा विराम लागेको हो’ लेखक खनालले भन्नुभयो ।

२००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएपछि नै कम्युनिष्ट आन्दोलन शुरु भएको,पहिलो दशकमा सही ढंगले आन्दोलन अघि बढे पनि दोस्रो दशकमा दक्षिणपन्थी अवसरवादले आन्दोलनलाई अवरोध पुर्‍याएको लेखक खनालको विश्लेषण छ ।

२०२० को दशक फुटको दशक भएको, २०३२ मा कोअर्डिनेशन कमिटी गठन र २०३५ मा नेकपा मालेको जन्म भएको विवरणका साथ लेखिएको विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवादमा भनिएको छ, ‘कुनै पनि देशको क्रान्ति माक्र्सवाद लेनिनवादको प्रकाशमा त्यो देशको विशेषताअनुरुप सही क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तहरूको विकास नभै अघि बढ्न सक्दैन ।’

२०४५ सालसम्म पुग्दा नेपाली जनवादी क्रान्तिका सही कार्यदिशा, नीति र सिद्धान्तहरूको श्रृङ्खला नै विकसित भएको व्याख्या गर्दै विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवादमा २०५० को दशकमा आउँदा जनआन्दोलनको धारा र सशस्त्र सङ्घर्षको धारा बीच कडा टक्कर सिर्जना भएको तर २०६० को दशक लाग्ने वित्तिकै १२ बुँदे सहमतिका साथ सम्पूर्ण कम्युनिष्टहरू र लोकतान्त्रिक शक्तिहरू एक भई राजतन्त्र र त्यसका तानाशाही हर्कतका विरुद्ध एकजुट भई सडक सङ्घर्षद्धारा अघि बढ्ने स्थिति पैदा भएको विश्लेषण पनि लेखकको छ ।

संयुक्त सङ्घर्षको परिणाम स्वरुप नेपालमा २०६२–०६३ मा ऐतिहासिक रुपले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको विश्लेषण गर्ने खनालले राजतन्त्रात्मक शासन सदाका निम्ति अन्त्य भएको र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु नै नेपाली समाज प्रारम्भिक स्तरको पुँजीवादी समाजमा
रुपान्तरित भएको,नेपाली समाज वस्तुगत रुपले समाजवादी क्रान्ति र रुपान्तरणको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्नुभएको छ ।

‘नेपालको संविधानले नै मुलुकलाई समाजवाद उन्मुख भनेको अवस्था छ, समाजवादी व्यवस्थामा के हुनुपर्छ भन्ने जानकारी दिलाउन पनि यो पुस्तक लेखिएको हो’ नेता खनालले भन्नुभयो– समाजवादमा स्वास्थ्य र शिक्षा निशुल्क हुनुपर्छ, बजार व्यवस्था पुँजी केन्द्रित नभई आमनागरिक केन्द्रित हुनुपर्छ, सीमित पुँजीपतिका लागि होइन आम नागरिकको लागि अर्थव्यवस्था परिचालित हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्