दैलेखमा दसैँको समयमा खाद्य अभाव, पहुँचवालाहरुको मनपरि



दैलेख।

नेपालीहरुको महानपर्वको रुपमा रहेको दशैँ यतिवेला नजिकिदै छ । गाउँ होस या शहरमा घर पोत्ने र रंग्याएर चिटिक्क पार्ने काम चलिरहेको छ । वर्षदिनको चाड दशैँको दिनमा एक छाक भएपनि मिठो खाने रमाउने चाहना सबैको हुन्छ । दुर्गम र ग्रामिण क्षेत्रमा रहेका विपन्न र गरिबहरुका लागि त्यो सपनाको विषय बस्तु हो । हरेक साल त्यस्तै सपनामा दशैँ र विभिन्न चाडपर्वहरु वितिरहेका हुन्छन । चाडपर्वहरुले कसैलाई सानो ठुलो त भन्दैन तर पनि वाध्यता र विवसताको दासी सबैले हुनैपर्छ ।

दसैं आइसक्यो अब २-४ दिन मात्र बाँकी छ तर घरमा अन्न नभएपछि गरिबहरुको दशैँ नामको मात्र भएको छ । खेतमा भएको धान पाकेको छैन बजारक्षेत्रमा यतिवेला चामल लगाएत खाद्यान्न महंगो छ । सरकारले ग्रामिणक्षेत्र तथा विपन्नहरु माझ सहुलियत रुपमा खाद्यान्न व्यवस्थापनको लागि खाद्य डिपो सञ्चालन गरेपनि त्यो हुनेखानेहरु र पहुँचवालाहरुका लागिमात्र सिमित बनिरहेको छ ।

दैलेख जिल्लामा एउटा खाद्य शाखा र चारवटा विक्रीकेन्द्र रहेका छन् । दैलेख शदरमुकाममा रहेको खाद्य संस्थानको शाखाबाट अहिले सम्म सहुलियत दरको चामल विक्री वितरण भईरहेको भएपनि सबैले पाउन भने सहज छैन । दैलेखको खाद्य संस्थानको डिपो रुपमा २०७६ सालमा स्थापनामा भएका क्षेत्र नं.१ का नौमुले गाउँपालिका र भगवतीमाई गाउँपालिकाका तथा क्षेत्र २ को ठाटीकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकाका खाद्य डिपो झण्डै ३ बर्षदेखी रित्तै छन् सञ्चालनमा आउन सकिरहेका छैनन् ।

जहाँबाट करिब २ दिनको बाटो हिँडेर ५०० देखि १०० रुपियाँ गाडी भाडा तिरेरै भएपनि एक प्याक चामल लिन जिल्ला सदरमुकाम पुगेका स्थानियहरु रित्तोहात घर फर्किनुपर्दा निरास बनेका छन । उनीहरुले अहिलेसम्म सहुलियत दरको खाद्यान्न पाउन सकेका छैनन् भने चाडपर्व र दशैमा समेत सहुलियत दरको चामल नपाउँदा स्थानीय पसलबाट महँगो चामल किन्न बाध्य भएका छन् ।

दैलेख दुल्लू नगरपालिकाका –८ का ६५ बर्षिय दुर्गा प्रसाद उपाध्याय सहुलियत दरको चामल लिन ४५० रुपियाँ भाँडा तिरेर जिल्ला सदरमुकाम पुग्नुभयो , दिनभरि लाईनमा बस्नुभयो तर बेलुका रित्तो हात घर फर्किनु पर्दा दुखित हुनुभयो । उहाँले भन्नुभयो “दुल्लुमा खाद्य डिपो छैन, सरकारले हरेक पालिकामा खाद्य डिपो राखिदिएको भए सहज हुन्थ्यो, जिल्लामा आएर पनि हामिजस्तो पावर पहुँच नहुनेले चामल पाउन सक्दैनौ, दुःख मात्रै पाइयो ।”

दुल्लुका दुर्गा उपाध्याय मात्र होइन ,नारायण नगरपालिकाका धनबहादुर खड्का पनि दशैका लागि जिरा मसिनो चामल लिन बस भाँडा तिरेर डिपोमा आए उपाध्यायको झँै दिनभरि लाईनमै बसे बेलुका पख रित्तो हात फर्किए । उनको गुनासो थियो “के गर्नु हजुर हामी जस्तो गरिबहरुका लागी रहेनछ जो ठुलाबडा छन पावरमा छन उनीहरुकै लागि रहेछ , हाम्रा लागि त के चाडवाड उही महंगिको मार खेप्नुपर्ने, धिक्कार रहेछ यो सब ।”

उता चामुण्डाबिन्द्रासैनी १ का हर्क विकको आफ्नै कथा थियो , उहाँपनि चामल पाइएला र घरमा लिएर दशैँमा रमाउला अनि केटाकेटिहरुलाई मसिनो चामलको भात खुवाउँला भनेर लाइनमै हुनुहुन्थ्यो । अकस्मात चामल नभएको उत्तर आएपछि निरास बन्दै फर्किनुभयो । उहाँले भन्नुभयो “ चामुण्डाबिन्द्रासैनीमा खाद्य डिपो छैन त्यि कारण १ दिन लगाएर जिल्ला आइयो तर रित्तो हात फर्किनु पर्यो , यो सरकारको कमजोरी हो , किनकि हामी जस्तो गरिब र विपन्नहरुको नाम बेचेर ठुलाबडाहरु र हुनेखानेहरु नै मोटाएका छन । ”

जिल्लामा भएको खाद्य संस्थानले लक्षित वर्गका लागि भनिएको सहुलियत दरको चामल अझै सम्म गाउँमा पुगाउन सकेको छैन । यतिवेला दशैँको मुखमा आएर संस्थानले ढिलो टेण्डर आब्हान गरेकाले ग्रामिण भेगका बासिन्दाले त्यो चामल पाउन नसक्ने बताइएको छ । खाद्य संस्थान जिल्ला शाखाको डिपोमा सहुलियत दरको मसिनो चामल नभएको मात्र होइन मोटो चामलको समेत अभाव नभएको खाद्य संस्थान दैलेखले जनाएको छ ।

खाद्य संस्थान दैलेखका प्रमुख रबिन कुमार रेग्मीले भन्नुभयो “मसिनो चामल केहि मात्रामा थियो सबै सकियो आशा छ केहि दिनमा आउने छ र उपलव्ध गराउने छौँ ,आशा छ यस भन्दा माथिको डिपोले हामीलाई माग बमोजिम उपलव्ध गराउने छ ।”

दैलेखमा कृषकहरुले लगाएको धान खेतीले उत्पादन राम्रो भएमा ४ महिना मात्र खान पुग्ने गर्छ । एकातिर पर्याप्त सिचाई छैन भने अर्कोतिर मल अभावमा खाद्यान्नका लागि बाहिरी जिल्लाकै भर पर्नुपर्छ ।

जिल्लाका सुगम स्थानका आमनागरिकहरुलाई खाद्य संस्थान कार्यालय र डिपो मार्फत् सस्तो दरमा चामल विक्री वितरण गर्ने गरिए पनि चाडबाडकै बेला दुगर्मबाट दुःख गरेर संस्थान पुग्ने स्थानीयले अभाव खेप्नुको विकल्प छैन । जसको कारण उनीहरुका चाडपर्वहरु सधैँ खल्लो हुनेगर्दछन । पावर पहुँचवालाहरुको मनपरि र हरेक वर्ष हुने खरिद प्रक्रिया साथै ढुवानीमा ढिलासुस्तीले दुर्गम पहाडी क्षेत्रका बासिन्दाले यस्तै सास्ती खेप्नु परिरहेको छ । यो अभाव कहिले अन्त्य हुन्छ अनि सबैका लागि अधिकार बराबर हुन्छ एक प्रश्न सदाबहार रहिरहेको छ । यस तर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जावस ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्