कर्णालीका मान्छे नेपालगञ्जमा, जहाज पर्यटन बोक्न पोखरातिर



बाँके।

मुगुका अंकबहादुर बुढा नेपालगञ्ज विमानस्थलमा भौतारिरहनु भएको छ । जनकपुरमा काम गर्ने बुढा दशैं मान्न घर जाँदै हुनुहुन्छ । जहाजको टिकट नपाएपछि बुढा विमानस्थल नजिककै होटलमा बसिरहनु भएको छ ।

‘पाँच दिनदेखि होटलमा बसिरहेको छु । मुगु जाने टिकट पाएको छैन, बुढाले भन्नुभयो, घरमा गएर दशैं मान्ने पैसा यही होटलमा बस्दा बस्दै सकिन थालिसक्यो ।’

हुम्लाका सलिन ठकुरी १३ दिनदेखि नेपालगञ्ज विमानस्थलमा धाइरहनुभएको छ । तीन वर्षपछि घर जान थाल्नु भएका ठकुरीको होटलमा बस्दा र खाँदा दैनिक दुई हजार रुपियाँ खर्च भइरहेको छ । ‘बिहान पाँचै बजे विमानस्थलमा आउँछु । टिकटको लागि कुरा गर्छु । हुन्छजस्तो कुरा गर्छन् । हामी त्यही बसिरहेका हुन्छौं, हामीलाई टिकट दिदैनन्, पावर भएका व्यक्तिले टिकट पाउँछन्, ठकुरीले भन्नुभयो, पैसा सकिन थालिसक्यो । अब काठमाडौं नै फिर्ता हुन पर्लाजस्तो छ ।’

विद्यार्थी ठकुरीले चुनावको बेलामा नेताहरूले घर जान्नभन्दा पनि तानेर भोट खसाल्न लैजाने गरेको स्मरण गर्दै अहिले फोन गर्दा वास्ता नै नगरेको बताउनुभयो ।

हुम्लाका सुशीलविक्रम विश्वकर्मा, दिपेन्द्र रोकायको अवस्था पनि त्यस्तै छ । विश्वकर्मा र रोकाय पनि दिनभर विमानस्थलमा आएर कराउने र बेलुका भएपछि होटलमा गएर बस्ने गर्नुभएको छ ।

नेपालगञ्ज विमानस्थलबाट कर्णालीका विभिन्न जिल्लामा समिट, तारा र सीता एयरले जहाज पठाउँछन् । समिट र सीताका चार/चार वटा र ताराका तीन वटा विमान छन् । अरू बेला नेपालगञ्जमै बस्ने यी एयरका जहाज यतिबेला पर्यटन बोक्न पोखरातिर लागेका छन् ।

तारा एयरको तीन वटै विमान दश दिनअघिसम्म नेपालगञ्जमै थियो । अहिले हप्तामा दुई वटा आएर उडान गरिरहेको छ । उसको प्राथमिकता पोखरा–जोमसोङतिर पर्यटन बोक्ने रहेको छ । समिटका चार वटामध्ये एउटा जहाज नेपालगञ्जमै बसिरहेको छ । समिटले कर्णालीमा दैनिक ५ वटा उडान गरिरहेको छ । सीता एयरका चार वटै विमान यहाँ छैनन् । सीताको तीन वटा विमान बिग्रेको छ । एउटा चालु अवस्थामा रहेको छ । त्यो पनि नेपालगञ्जमा छैन ।

कर्णाली मान्छेले चाडबाडमा दु:ख पाएपछि नेपालगञ्ज विमानस्थलमै एउटा/एउटा जहाज राख्नु पर्ने नियम बनाइएको थियो । यो नियमलाई ‘माथि’को आदेशमा हटाइएपछि एयरलाइन्सले मनोमानी गरिरहेका छन् । ‘मानसरोवरको सिजनमा सबै जहाज नेपालगञ्जमा हुन्छन् । पोखरा र काठमाडौंको अफसिजनमा पनि प्राय: जहाज नेपालगञ्जमा हुन्छन्, दशैंको बेलामा घर जाने कर्णालीका मानिसलाई अलपत्र पारेर सबै जहाज पर्यटन बोक्न पोखरातिर गएका छन्, एयरलाइन्ससम्बद्धको भनाइ छ ।

नेपालगञ्ज विमानस्थलका प्रमुख सुरेश खनालले तीन वटै जहाजको नेपालगञ्जमा बेस नहुँदा दुई हप्तादेखि यात्रुले सास्ती व्यहोर्नु परेको बताउनुभयो । नेपालगञ्जमा बस्ने जहाजलाई पाँच दिनपछि मात्रै अन्यत्र लगिदिएको यस्तो समस्या आउदैनथ्यो भन्नुहुन्छ, विमानस्थल प्रमुख खनाल ।
कर्णालीमा पर्यटन जाने सिजनमा नेपालगञ्जमा थुप्रिने जहाज दशैंको बेलामा अन्यत्र गएपछि कर्णालीका मानिस आक्रोशित छन् । नेपालगञ्ज विमानस्थलका प्रमुख खनालले यो समस्या प्रधान कार्यालयमा लेखि पठाएको जानकारी दिनुभयो ।

कर्णालीको भाडा करिव पाँच वर्षदेखि एउटै हुँदा पनि जहाजको रोजाई नहुने गरेको बताइन्छ । प्रतिलिटिर तेलको मूल्य सय रुपैया हुँदा कायम रहेको भाडा एक सय ९० रुपैया तेल पुग्दा पनि एउटै रहेको जानकारहरु बताउँछन् ।

विमानस्थल नजिक होटल सञ्चालन गरिरहनु भएका कुलबहादुर कार्कीले नियमित उडान नहुँदा धेरै जना अलपत्र परेकाले सरकारले उडानको व्यवस्था मिलाउनु पर्ने बताउनुभयो । उहाँले उडान नहुँदा विद्यार्थी, भारतबाट काम गरेर फर्किए, उपचारमा गराउन आएका व्यक्ति दशैंको बेलामा नेपालगञ्जमा अलपत्र परेको बताउनुभयो । कर्णालीका विभिन्न जिल्लामा जाने मानिस प्राय: कार्कीको होटलमा बस्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्