खानपान तथा जीवनशैली नै मुटुरोगको प्रमुख कारण



  • डा.चन्द्रमणी अधिकारी

आज विश्व मुटु दिवस हिन्दुहरुको महान चाड दशै तिहारले पनि छोपीसकेको छ । चाडपर्व हरेकबर्ष आउँछ र मानव शरिरलाई सधैभरि स्वस्थ राख्न खानपान र व्यायामलाई महत्व दिनुपर्छ । चाडपर्वमा धेरै पोषिलो तथा चिल्लो खानेकुरा खानुपर्छ भन्ने परम्परागत मान्यतालाई हैन आफ्नो शरिर तथा मुटुलाई सुरक्षित गर्नेतर्फ ध्यान दिउँ । परिवार र आफन्तले पनि कतै चाडपर्वको नाममा कर गरी धेरै खाने र खुवाउँने होडबाजीमा मुटु, उच्च रक्तचा, मधुमेह,कोलेस्टोर, मृगौलाको समस्या त निम्त्याउँदै हुनुहुन्न ? चाडपर्वका नाममा मानव शरिरले धान्नै नसक्ने खानेकुरा खानु हुन्छ या हुदैन र मुटुरोगबाट कसरी बच्ने भन्ने बिषयमा गंगालाल हृदय केद्रका कार्यकारी निर्देशक डा.चन्द्रमणी अधिकारीसँग नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले गरेको कुराकानीको सारसंक्षेप :

विश्व मुटु दिवस र नजिकदै गरेको दशै तिहारमा आम नागरिकका लागि मुटु सुरक्षित राखेर चाडपर्व कसरी मनाउँने ?

दशैं तिहार र चाडपर्व हरेक बर्ष आउँछ । मानव शरिर प्राकृतिक रुपमा बनेको हुनाले आर्टिफिसियल जस्तो गरि चाडपर्वमा कुनै कुरा धेरै खाएर शरिरलाई उच्च जोखिममा पार्नुहुन्न । स्वास्थ्यले चाडपर्व भनेर जे पनि गर्न छुट दिँदैन । मुटुरोग लाग्न नदिन र मुटुरोगबाट बच्नका लागि अपनाउनुपर्ने उपायहरु चाडपर्व हुँदा या नहुँदा सबै बेलामा लागु गर्नुपर्छ । चाडपर्वमा धेरै खानुपर्छ भन्ने परम्परा गलत हो ।
गंगालाल हृदय केन्द्रले नयाँ के के गर्दैछ ?

यो बर्ष विश्व मुटु दिवसका दिन गंगालालले पदयात्रा र जनचेतनामूलक छलफल कार्यक्रम राखेका छौं । यो कार्यक्रममा विगतमा गरिएका र अहिले अपनाउँनुपर्ने सुरक्षाका बिषयमा पनि जानकारी गराउँछौ ।
मुटुरोग कति प्रकारका हुन्छन् र मुटुरोग लाग्नबाटै बच्ने उपाय के के छन् ?

मुटुरोग धेरै प्रकारका हुन्छन् । जन्मजात गर्भमै हुने मुटुरोग लाग्न नदिन बाबु आमालेनै ध्यान दिनुपर्छ । बंशाणुगत समस्या पनि हुन सक्छ । अर्को गर्भवती हुँदा आवश्यक चिकित्सकको सल्लाह वेगर औषधि खानु हुन्न । रक्सी, चुरोट, विकिरणबाट टाढा बस्नुपर्छ । बाथ मुटुरोग अज्ञानता, शिक्षाको कमीले स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्दाका कारणले गर्दा हुन्छ । मुटुको बाथ समयमै पत्ता लाग्यो भने धेरैहदसम्म नियन्त्रण गर्न सकिन्छ । यो रोग नेपाल जस्ता मुलुकमा जनचेतनाको कमी, आर्थिक अभाव, बासस्थान सुरक्षित नहुनु, स्वास्थ्य सुरक्षामा नागरिकको पहुँच नहुनु जस्ता कारणले यो समस्या शहरको दाजोमा ग्रामिण भेगमा धेरै छ ।

बाथ मुटुरोग नियन्त्रणका लागि के के गर्नुपर्छ ?

जनस्वास्थ्य सम्बन्धी शिक्षामा सबैको पहुँच पुर्याउन जोड दिनुपर्छ । आर्थिक अवस्था कमजोर भै वासस्थान असुरक्षित भएकालाई आर्थिक उपार्जनको व्यवस्थाका साथै सुरक्षित वासस्थानको वातावरण बनाउँनु जरुरीछ । यतिमात्र नभै आवश्यकता अनुसार उपचारको राम्रो प्रवन्ध हुनु जरुरीछ । यो रोग धनी मुलुकका नागरिकमा लाग्दैन । कमि ल्याउँन हरेक व्यक्ति तथा सरोकारवाला निकाय गम्भिर हुनु जरुरीछ ।
मुटुरोगको समस्या छ कि छैन भनेर गर्भमै परिक्षण गर्न मिल्छकि ?

महत्वपूर्ण प्रश्न गर्नुभयो, अहिले १८ देखि २० हप्ताको गर्भको बच्चाको शारिरीक बनोट अर्थात् मुटुको अवस्थाका बारेमा फिटोलिको कार्डियोग्राम बिधिबाट आमाको पेटभित्रै बच्चामा मुटुरोग छ कि छैन भनेर परिक्षण गरिन्छ । परिक्षण गर्दा मुटुको समस्या देखिएमा बच्चा कस्तो जन्मन्छ र जन्मिएपछि के के गर्नुपर्छ भन्ने बारेमा बच्चा जन्मनु अगाडिनै जानकारी हुन्छ ।

मुटुरोग भनेको के हो र यसको रोकथामका लागि के गर्नुपर्छ ?

हृदयघात, उच्च रक्तचाप, कोलेस्टोर मुटुको रोगका माध्यम हुन् । यो मानिसको खानपान, व्यायाम, जीवनशैलीमा आएको परिवर्तनले गर्दा हुने गम्भिर स्वास्थ्य समस्या हो । स्वास्थ्यगत जीवनशैलीका बारेमा ज्ञान लिने र दिने गर्नुपर्छ । स्वास्थ्य नै मेरो जीवनको मूल मन्त्र हो भन्ने कुरा हरेक व्यक्तिले लिएर अघि बढेको खण्डमा धेरै हदसम्म मुटुरोग लाग्नबाटै बच्न सकिन्छ । विशेष गरि युवाहरुले यी कुरामा ध्यान दिनेहो भने हृदयघात, उच्च रक्तचाप, मधुमेहबाट भविष्यमा बच्न सकिन्छ ।

पहिला पहिला ४० बर्षपछि हृदय घातका लक्षणहरु देखिन्थे अहिले युवा अवस्थामानै बढ्नुको कारणहरु के होला ?

हो यीनै बिषयलाई लिएर गंगालाल हृदय केन्द्रमा विभिन्न खाले अध्ययन अनुसन्धान भएकोछ । त्यसमा १० देखि १२ प्रतिशत ४५ बर्ष मुनीका मानिसमा हृदयघात भएको पाईएकोछ । पछिल्लो समय युवा बिरामीको संख्या बढेको देखिन्छ । आजभोली २१ बर्ष देखि २७ बर्षका युवामा समेत हृदयघातका समस्याले दैनिक जसो उपचारमा आउँछन् । हिजो मात्र २७ बर्षको युवामा हृदयघात भएर ल्याएको थियो । यसको प्रमुख कारणहरुमा जीवनशैलीमा आएको परिवर्तन, सूर्तीजन्य पदार्थ र मादक पदार्थको सेवन, निस्कृय जीवन शैली, चिन्तायुक्त जीवन यापननै प्रमुख कारण हुन् । यसलाई जनचेतना र युवा रोजगारीका माध्यमबाट सुधार ल्याई युवाको महत्वलाई समयमै समबोधन गर्नसके युवा अवस्थाको हृदयघातमा सुधार ल्याउन र नियन्त्रण गर्न सकिन्छ ।

हृदयघात भयो भन्ने कतिले थाहा पाउँछन् ?

अहिलेको मुख्य समस्या भनेको हृदयघातको लक्षण नचिन्ने र समयमा उपचारको पहुँचमा पुग्न नसक्नुनै छ । गंगालालले विगतमा गरेको अनुसन्धानको रिपोर्ट अनुसार ४० प्रतिशत मानिस मात्र हृदयघातको समस्यालाई लिएर उपचारका लागि समयमै अस्पताल पुग्छन् र उनीहरुले मात्र आवश्यक उपचार पाएका छन् ।

समयमै हृदयघातको पहिचान कसरी गर्ने र उपचारको पहुँचमा पुग्न के गर्नुपर्छ ?

हृदयघातका बारेमा ठूलो संख्यामा जनचेतना जगाउनु आवश्यक छ । हृदयघातका प्रमुख लक्षण छाति दुख्नु हो, यस्तो अवस्थामा छिटोभन्दा छिटो नजिकैको अस्पतालमा गएर चिकित्सकको सल्लाह लिनुपर्छ । यसो गर्दा हृदयघातको लक्षण देखिएको १२ घण्टाभित्र गर्नुपर्ने प्राईमरी एनजिओप्लास्ट विधिबाट उपचार विधि अपनाएर उपचार गर्न सकिन्छ । लक्षण देखिनासाथ उपचार गराउन सके हृदयघातको उपचार हुन्छ र जिवन बचाउन सकिन्छ । विगतमा यो विधिबाट उपचार अत्यन्तै कम हुन्थ्यो । अहिले प्रत्येक महिना ६० देखि ७० जनाको उपचार यहि विधिबाट गरिन्छ । यो संख्या प्रत्येक बर्ष बढ्दोछ बर्षमा ६ सय देखि ७ सयको हाराहारीमा हुन्छ, यो ठूलो संख्या हो । यो तथ्यांकले हृदयघात नियन्त्रण गर्ने उपाय जनमानसमा बुझाउन नसकेकै प्रमाणित हुन्छ । यो संख्या उपचारको पँहुचमा पुग्नेको मात्र हो । त्यसैले जनचेतनामा नै जोड दिनु जरुरी छ ।

मुटुरोग लागेका बच्चालाई सरकारले के के सुविधा दिन्छ ?

नेपाल सरकारले गरिब तथा विपन्न नागरिकलाई प्राईमरी एनजीओप्लाष्टिक सेवा नेपाली नागरिकको हकमा प्राय नि:शुल्क रुपमा दिएकोछ । यसैले उपचारमा आउँने बालबालिकाको संख्या बढेकोछ ।

सार्वजनिक खरिद ऐनले गुणस्तरिय औषधि, उपकरण खरिदमा समेत अंकुश लगाएको छ भनिन्छ नि ?

यो एकदमै गाह्रो प्रश्न हो । म आफै डाक्टर पनि हु र प्रशासक पनि । डाक्टर भएर कुरागर्दा मुटुरोगीका लागि नभैनहुने कतिपय औषधि नेपालमा खरिद गर्नै सकेका छैनौ । यसको सुधारका लागि एउटा व्यक्तिले गरेर हुन्न । पाईला पाईलामा अप्ठ्यारो छ । नेपालको नीति नियममा जब सम्म परिवर्तन ल्याईन्न तब सम्म मुटुका रोगीका लागि आवश्यक गुणस्तरिय औषधि पाउन सकिन्न । विश्वले प्रमाणित गरेका औषधि नेपालमा सर्वसाधारणको पहुँचमा ल्याउनै गाह्रो छ । यसको प्रमुख कारण सार्वजनिक खरिद ऐनले पारेको समस्या हो । यो ऐनमा निमार्णको टेण्डर गरेझै सस्तोमा खरिद गर्नुपर्ने बाध्यता छ, गुणस्तरिय औषधि खरिद गर्न खोज्यो भने मूल्य बढी पर्छ । बढी मूल्यमा खरिद गर्न कानून र अख्तियारले समात्छ । यसलाई सहज बनाउन सार्वजनिक खरिद ऐनमै सुधार ल्याउनुको विकल्प छैन । विश्वले प्रमाणित गरेको औषधि नेपालमा प्रयोग गर्न पाउने हो भने मुटुरोगीको मृत्युदरलाई २० प्रतिशत घटाउन सकिन्छ । भारत सरकारले त्यहि औषधि प्रयोग गर्छ । नेपालमा भित्रिएकै छैन । औषधि बुझेका र आर्थिक अवस्था सवल भएका बिरामीले भारतमै गएर ती औषधि किनेर ल्याउने र प्रयोग गर्ने गरेको पाइन्छ । त्यो औषधि महगो भएका कारण सर्वसाधारणले सिधै खरिद गर्न गाह्रो छ । नेपाल सरकारले नै खरिद गरेर सहुलियत मूल्यमा सर्वसाधारणलाई उपलब्ध गराउँन सके धेरै राम्रो हुने थियो । सरोकारवाला निकायका सबैपक्ष बसेर यसको निकास निकालिएन भने निकै गाह्रो अवस्था आउँछ ।

नेपालमै यस्ता औषधि उत्पादन हुन सरकारले कच्चा पदार्थमा सहुलियत गर्नु उचित होलान नि ?

म कार्डियो सोसाईटी अफ नेपालको महासचिव पनि हु र हामीले यो बिषयलाई बैठकमा उठाएका थियौ । कतिपय औषधिहरु विभिन्न समस्याका कारण नेपालमा बन्दैनन् । त्यस्तो अवस्थामा विदेशसँग निर्भर हुन बाध्य छौ । कुनै कारणले विदेशबाट औषधि नपठाउने वित्तिकै हामीसँग औषधि पनि छैन अर्को उपाय पनि छैन । त्यतिबेला नेपालका खरिद प्रकृया झण्झटिलो छ । ८० प्रतिशत कच्चा पदार्थ चीनमा बन्ने र कोरोनाको समयमा झण्डै १ बर्ष सबै उत्पादक कम्पनीहरु बन्द रहे । अलि अलि उत्पादन भएको पनि पैसा तिर्न सक्ने मुलुकले लगे नेपालमा त आएन । यस्ता समस्याले गर्दा कतिपय सामानको आपूर्ति बन्दछ । नेपालमा पहिला देखि आपूर्ति भएको मुटुको चाल गडबड हुँदा प्रयोग गर्ने औषधिको राम्रोे कम्पनीले अब नेपाल र भारतमानै औषधि आपूर्ति गर्न नसक्ने भयो । अब अरु कम्पनीको औषधि लिनुपर्नेहुन्छ यस्तो अवस्थामा अन्य कम्पनीका औषधि कति प्रभावकारी छन भन्ने परिक्षण गर्ने मेकानिजम नेपालमा छैन । नाम चलेको विश्वसनीय कम्पनीले औषधि नै आपूर्ति नगर्ने अवस्थामा समस्याको समाधान गर्न नेपाल औषधि व्यवस्था विभागले समयमै ध्यान दिनुपर्ने हुन्छ ।

अब के गर्दा समस्याको समाधान होला त ?

नेपाल सरकारले आफै इम्पोर्ट गर्ने अनि जहाँ चाहिन्छ त्यहा सप्लाई गर्ने बिषयमा बृहत छलफल गरेर निकास निकाल्नुपर्छ । कार्डियो सोसाईटी अफ नेपाल मुटुरोग विशेषज्ञहरुको समाजले स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग लगायतका सरोकारवाला निकायसँग बसेर अन्तरक्रिया गरेका थियौ । यसरी निकास ननिकाल्ने हो भने पछिल्ला दिनमा गाह्रो हुन्छ । यतिबेला एकले अर्कोलाई दोषारोपण गर्ने भन्दा पनि भोलीका दिनमा आउँन सक्ने समस्याको समयमै समाधान तथा निकास खोज्नुपर्छ ।

तपाईले कार्यकारी निर्देशकको पद सम्हालेको ३ बर्षको अवधिमा देखा परेका जटिल समस्या के के छन् ?

म नियुक्त भएको एक महिनापछि देखि नै कोरोना शुरु भयो र डेढ बर्ष समस्या मै चल्नुपर्यो । तर पनि गंगालालमा उपचार दिने सन्दर्भमा केही नयाँ उपचारहरुको शुरु गर्यो । यही अवधिमा नेपालमा पहिलो मुटुको अप्रेशन नगरि मुटुको भल्ब प्रत्यारोपण (टाबि) गरियो । यो विधिबाट पहिलो प्रत्यारोपण २०२२ को फेब्रुअरि २८ तारिकमा गरेका थियौ र दोस्रो पटक २०२२ को अगष्ट २३ तारिखका दिन ३ वटा मुटुको भल्ब प्रत्यारोपण गर्न सफल भयौ । यहि अवधिमा बुढानिलकण्ठ नगरपालिकाका १२ हजार बालबालिकाको मुटुको बाथरोग र जन्मजात मुटुरोग कति प्रतिशतलाई छ भने र अध्ययन अनुसन्धानका रुपमा शुरु गयौं र १० हजार भन्दा बढीमा परिक्षण कार्य सम्पन्न भैसक्यो । अब एक महिना भित्रमा थप २ हजारको नि:शुल्क परिक्षण सक्छौ । ६ महिना अवधि तोकेर यो काम शुरु गरेका थियौ । त्यस्तै एन्फासँग सहकार्य गरेर ५ सय जना फुटबल खेलाडीको मुटुको रोगको स्क्रिनिङ गर्याै केहीलाई मुटुको रोग देखियो र उपचार पनि भयो । मुटुरोग लागेका मानिसलाई उपचार मात्र नभै कसैको मृगौला बिग्रीएर डायलाईसिस गर्नुपर्ने भएमा डायलासिस समेत गर्ने तयारीका साथ नेपाल सरकारको सहयोगमा डायलासिस मेशिन भित्र्याएका छौ ।

यसका साथै ३ वटा मल्टी सेन्टर आरसीडीमा सहभागी भयौ र योसँगै थप अर्को एउटा पनि संचालनमा आएको छ । आईभिभीएस (इनभिक्ट्रस ट्रायन) यूरोपियन सोसाईटीमा त्यसको रिजर्ट प्रस्तुत भएको थियो । यस्ता खोजीका लागि अध्ययन अनुसन्धानमा पनि गंगालाल हृदय केन्द्र सक्रिय रुपमा लागेकोछ । नयाँ नयाँ उपचार प्रविधि गंगालालमा भित्र्याउने क्रममा छौ । पहिला पहिला मुटुको भल्ब फेर्न चिर्नुपथ्र्यो अहिले नचिरि उपचार गराउने विधि भित्र्याएका छौ । एएसटीक डिभाईस एस्पोडर एक बर्षमा २ सय ५० वटा गर्छौ । छाति चिरेर गर्ने शल्यक्रिया बर्षमा १ हजार ८ सय जनाको गरिरहेका छौ । हृदयघात भएर आएका बिरामीलाई ३ सय ६५ दिन २४ सै घण्टा सेवा दिन्छौ । नविनतम प्रविधिहरुलाई प्रयोग गरेर देशमा नभएको मुटुरोगको उपचार गर्न हामी तल्लीन छौ ।

इङल्याण्डबाट आएको कार्डियाक सर्जरी गर्ने ग्रुपले सघाउँदै आएको थियो । त्यसरीनै कोरियाबाट आएको टीमले बच्चाको अप्रेशन गरेको थियो भने युएईबाट पनि टीम आएर सहकार्य गर्यौ । समय समयमा विदेशबाट आउँने नयाँ ग्रुपले नयाँ नयाँ प्रविधिका बारेमा ज्ञान र सीप आदान प्रदान गर्दै आएका छन् । यसरीनै विश्वमा भएका नयाँ प्रविधिलाई नेपालमा शुरु गर्न सफल भएका छौ । हाम्रो उदेश्य अनुसन्धान र उपचारमा केन्दीत छ ।

नेपालकै एउटा मात्र मुटुको स्पेशल अस्पताल भएका कारण बिरामीले पालो कुर्नुपर्ने, यहाँ भएका उपकरण, जनशक्ति र बेडले कति धान्ने अवस्था छ ?

आकस्मिकलाई पर्खिनुपर्दैन, मुटुको प्वाल भएको व्यक्तिको दुईदिन ढिलो गर्दा केही फरक नपर्ने अवस्थामा पर्खाइ हुन्छ । त्यस्तै अर्को इपिमा अलि लामो प्रकृया लाग्छ त्यसमा पर्खिनुपर्छ । यी दुईटा बाहेक अन्यमा लामो पर्खाई बस्नुपर्ने अवस्था छैन । सर्जरी र इलेक्ट्रो फिजियोलोजी स्टडिमा केही पर्खिनुपर्ने अवस्था छ । बेड पनि बढाईरहेका छौ । यो भन्दा अघि सिसियूको बेड १२ देखि १४ थियो अहिले ४० भन्दा बढी बेडमा संचालन गरिसक्यौ, बेडहरु थप्दै छौ । सर्जिकल आईसियूको बेड बढाउने अन्तिम तयारीमा छौ । अप्रेशन थियटर पनि थप्ने प्रकृयामा छौ । यो सबै तयारी हुन केही समय लाग्छ । जनशक्ति, भौतिक संरचनाका बिषयमा पनि योजना बनाउँदै २ सय बेडको बालमुटुरोगको डिजाईनको काम सकेका छौ । नेपाल सरकार समक्ष बजेटको सुनिश्चितताका लागि पठाईसकेका छौ । नेपाल सरकारको सहयोग प्राप्त हुनासाथै २ सय बेडको बाल मुटुरोग विभागको संचालन गर्न सक्छौ । यो कार्यका लागि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयमा फाईल छ काम सरासर भयो भने छिटै संचालनमा आउँछ ।

राज्यबाट के के गर्यो भने गंगालालमा आउँने बिरामीले समयमै उपचार पाउछन् ?

यो अस्पतालका लागि चाहिने सहयोग इन्फाएक्सटक्टर डेभलपमा, सबैभन्दा मुख्य खड्किएको बिषय भनेको शहिद गंगालाललाई प्रतिष्ठानको रुपमा विकास गर्यो भने सबै पाटोमा सक्षम छौ । पूर्वाधारहरु पुगेकोछ, जनशक्ति पनि छ । शहिद गंगालाई हृदय केन्द्रलाई हृदयरोग प्रतिष्ठान डेभलप गरेर त्यहि अनुसारको काम गरिदिनेहो भने हामीले धेरै हदसम्म जनशक्ति विस्तार, शैक्षिक केन्द्र बनाउने वातावरण हुन्थ्यो । यो बिषयमा सरकार समक्ष धेरै पहिला देखिनै अनुरोध गरेका छौ । अहिले सम्म हृदयरोगसँग सम्बन्धीत कुनैपनि प्रतिष्ठान नभएको हुनाले देशको लागि यो आवश्यक पनि हो । यो कुरा गर्न सक्यो भने धेरै कुराहरु त्यसैभित्रबाट समाधान गर्न सकिन्छ ।

यो अस्पतालका जिल्लामा शाखा पनि छ कि ?

जनकपुरमा एउटा शाखा छ । अन्य स्थानमा मुटुरोग रोकथामका बिषयमा अपनाउनुपर्ने तरिकाका बिषयमा स्वास्थ्य शिविर गर्छ । त्यहाँ पत्ता लागेका मुटुका रोगीलाई केन्द्रमा ल्याएर उपचार गर्छौ । नेपाल सरकारको सहयोगमा १५ बर्ष मुनीका बालबालिकालाई नि:शुल्क उपचार, भल्भ फेर्ने, ७५ बर्ष माथिका नागरिकलाई नि:शुल्क उपचार गर्ने, सरकारले तोकेको लक्षित वर्गलाई पनि नि:शुल्क उपचार गर्दैछौ । गरिब तथा विपन्न बर्गलाई १ लाख रुपैया उपचारका लागि उपलब्ध हुन्छ । आन्तरिक स्रोतबाट पनि गरिब तथा विपन्न बर्गको उपचारमा सहयोग गर्दै आएका छौ ।

नेपालमा कुल मुटुरोग विशेषज्ञ कति हुनुहुन्छ ?

धेरैजना कार्डियाक सोसाईटी अफ नेपालमा आबद्ध हुनुहुन्छ । त्यो संस्थामा मुटुरोगसँग सम्बन्धीत विशेषज्ञ, शल्य चिकित्कस, फिजिसियन, एनेस्थेसिया गरि कुल २ सय ५० जनाको संख्यामा हुनुहुन्छ । नेपाल सरकारले विभिन्न छेत्रमा खटाए अनुसार शहरमा मात्र नभै ग्रामिण भेगमा पनि हुनुहुन्छ । नेपालका मुटुरोग विशेषज्ञ मध्येका १ सय जनाको हाराहारी विशेषज्ञहरु गंगालालमा कार्यरत हुनुहुन्छ ।

मुटुको माथीपटी कोठामा हुने प्वाल (एसटी) को पनि उपचार गरिन्छ ?

एसटी सन् २००६ देखि हाल सम्म १ हजार ५ सयको उपचार सम्पन्न भैसकेको छ । सन् २०१४ सम्म जम्मा १ सय ३५ जनाको गरिएको थियो । त्यसपछि प्रत्येक बर्ष २ सय देखि २ सय ५० जनाको शल्यक्रिया गर्दै आएका छौ । कोरोनाको समयमा कम भएको थियो ।
तपाई आफै युवा जोशजागरका साथ संस्थाको

नेतृत्व गर्दै हुनुहुन्छ, नेपालमा उत्पादित युवा चिकित्सक जनशक्तिलाई स्वदेशमै राख्न के गर्नुपर्छ ?

मुटुरोगका चिकित्सकलाई स्वदेशमै जिम्मेवारी दिनका लागि उहाँहरुले चाहेको जस्तो व्यवस्था गर्न राज्यले सहयोग गर्नुपर्छ । गंगालाल स्वायत्त संस्था हो । सरकारी अस्पतालमा पनि मुटुरोगको उपचार सेवा विस्तार गर्दै दरबन्दी बढाएर गाउँ गाउँ सम्म सेवा विस्तार गर्नुपर्छ । यसो गर्दा आफ्नै देशमा सेवा गर्ने अवसर पाएमा युवाहरु पलायन हुने क्रम कम हुन्छ । नेपाल सरकारले सेवा सुविधामा ध्यान दिनुनै उचित उपाय हो ।

हृदयघात भएर आएकालाई प्राथमिकता, १० हजारलाई स्क्रीनीङगरिएको छ, नेपालमै सस्तोमा टामीको उपचार शुरु गरियो, १ सय २० वटा अन्तराष्ट्रिय लेभलको अध्ययन अनुसन्धान गरियो । नेपाल सरकारले प्रतिष्ठानका रुपमा विकास गर्नुपर्ने, बर्षमै १ हजार ८ सय जनाको सर्जरी गरिन्छ । छाति नचिरी गरिने इन्टरभेन्सन कार्डियोलोजी सेवा एक स्टेप अगाडिनै बढेका छौ।

प्रतिक्रिया दिनुहोस्