बलात्कार : गम्भीर अपराध, हल्का बहस



१७ वर्षीया एक किशोरीले क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्ध गत भदौमा जबरजस्ती करणीको कसुरमा किटानी जाहेरी दिएपछि क्यानले उनलाई क्रिकेट टोलीका कप्तानबाट निलम्बन ग¥यो । घटना भएको करिब दुई सातापछि मात्र पीडित किशोरी जाहेरी दिन प्रहरीमा पुगेकी थिइन् । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरका लाई करणी गरेमा जबरजस्ती करणी गरेको ठहर्ने छ । संहितामा १६ देखि १८ वर्ष उमेरका नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको पुष्टि भएमा १० देखि १२ वर्षसम्मको कैद सजाय हुृने व्यवस्था छ ।

ग्लोबल स्टारका छवि बनाएका सन्दीप आफूमाथि जघन्य अपराधको आरोप लागेपछि लगत्तै स्वदेश फर्किएर अनुसन्धानलाई सघाउनुपर्नेमा लामो समय सम्पर्कविहीन बने । प्रहरीमा जाहेरी परेदेखि नै उनले आफू निर्दोष रहेको र कानुनी लडाइँका लागि सहयोग गर्न आग्रह गरेका थिए । आफ्नो इज्जत र चरित्रमा आँच आउने गरी आफूमाथि झुटा आरोपसहित जाहेरी दिएकाले आफू मानसिकरुपमा विक्षिप्त भएको बताएका छन् । आफू बिरामी परेर उपचार गराइरहेकाले झुटा उजुरीको डटेर सामना गर्न आफू चाँडै नेपाल फर्किने तयारीमा रहेको हालै उनले बताएका छन् ।

विदेशमा क्रिकेट खेल खेलिरहेकै अवस्थामा उनीमाथि दिइएको जाहेरीको समाचार खुल्लंखुला बाहिर ल्याउनुभन्दा गोप्य सूचनाका आधारमा उनलाई नेपाल झिकाएर मात्र प्रक्रिया अघि बढाउनुपथ्र्यो । उनको मन, मान र मस्तिष्कमा यो घटनाले ठूलो चोट पु¥याएको छ । बलात्कारविरुद्ध प्रहरीमा जाहेरी पर्नेबित्तिकै अपराधी साबित गर्ने मानसिकता बसिसकेको नेपाली समाजमा हाल सन्दीप त्यसको ज्वलन्त उदाहरण बनेका छन् ।

विशिष्ट र विशेष व्यक्तित्वलाई फसाउने उत्तम अस्त्र बनाइने गरेको बलात्कारको विषय सन्दीप लामिछानेसँग मुछिएको मुद्दामा अझ गम्भीर अध्ययन–अनुसन्धान हुनुपर्छ । उनी निर्दोष ठहरिएमा झुटा आरोप लगाई लामो समय मानसिक हिंसामा तड्पाउने नाबालिग भनिएकी जाहेरीकर्तालाई पनि उम्कन दिनुहुँदैन । ताकि आगामी दिनमा सन्दीपजस्ता हाम्रा अन्य लाखौँ दाजुभाइमाथि मिथ्या आरोप थोपर्ने हिम्मत कोही कसैले नगरोस् ।

सन्दीपमाथि लागेको आरोप र अनुसन्धान प्रक्रियाले छोरीमात्र होइन छोरा पनि सचेत रहनुपर्छ भन्ने सन्देश मजबुतरुपमा बाहिरिएको छ । सन्दीपबाट बालिका बलात्कारको मुद्दामा उठिरहेको आवाज दुई खेमामा विभाजन भए पनि उनको राष्ट्रिय व्यक्तित्व र किशोरीको क्रियाकलापलाई लिएर उनीप्रति सहानुभूति र विश्वास राख्नेको जमात ठूलै छ ।

म बलात्कृत भएँ भन्नेकै गल्ती कमजोरी औंल्याउँदै किशोरी किन सन्दीपसँग घुम्न गइन् र होटेलमा सँगै बास बस्न पुगिन् भन्ने प्रश्नसँगै उनकै चरित्रमाथि औँला ठड्याउनेको जमात पनि कम छैन । सन्दीपलाई फसाउनकै लागि उनले यो सब हर्कत गरेकी हुन् कि भन्ने आशंका पनि अर्कोतिर छँदै छ । जे होस्, पितृवादी परम्पराले नियन्त्रण गरेको यो समाज कानुनी राज्यभन्दा निकै जब्बर छ । महिलाका व्यक्तिगत स्वतन्त्रताभित्र पर्ने पहिरन र हाउभाउलाई दोष देखाएर कोही–कसैले बलात्कारीको अपराधलाई सही साबित गर्ने दुश्चेष्टा नगरोस् ।

नेपालमा बलात्कारपछि गर्भ रहन गएमा वा कटुता बढेमा मात्र बलात्कारका घटना बाहिर ल्याउन जाहेरी दिने गरेको देखिन्छ । बलात्कारपछि पनि बलात्कारीले विवाह गर्ने सर्त राखेमा, ठूलै रकम दिएर मिलापत्र गरेमा वा डर धम्की दिएमा पीडितले उजुरी नै दिँदैनन् । बलात्कारपछि गर्भ रहेमा वा घटना बाहिरिएमा पीडितले पीडा र उपेक्षाका अनेकौँ चाङ पहेल्नुपर्ने हुन्छ । बलात्कार प्रमाणित भएमा बलात्कारी थुनिदैमा र पीडितलाई केही रकम थमाउँदैमा तिनको शारीरिक आघातसँगै जीवनभरको मानसिक पीडा र प्रताडना कम हुँदैन । तर राहतको अनुभूति अवश्य हुन्छ । बलात्कारविरुद्ध न्याय खोज्ने प्रयास र परिणाम दुवैले बलात्कृत महिलालाई थप पीडित र उपेक्षित नबनाओस् भन्नेमा सरोकारवालाहरु सचेत रहनै पर्छ ।

यौनशोषण गम्भीर अपराध भए पनि यसबारे हल्का बहस हुने गरेको छ । पक्ष–विपक्षमा उत्रिएर दुवैलाई थप प्रताडित बनाउनुभन्दा यस्ता कर्ममा नलाग्न आफ्ना छोराहरुलाई हरेक परिवारले सानैदेखि घरपरिवारबाटै सचेत गराउनुपर्छ । प्रेमको बहानामा किशोरीहरुमाथि यौनशोषण गर्ने र विवाह गर्छु भन्दै भाग्ने पुरुषहरु पछि लुकेर गर्भपतन गर्न धम्क्याउँछन् वा गर्भपतन नगरे मार्नेसम्मका धम्की दिन्छन् । ललाइ–फकाइ एकैजनाले दर्जनौं बालिका बलात्कार गर्ने र समाजमा निर्धक्क हिँड्ने थुप्रै छन् ।

यता किशोरी र महिला यौन हिंसामा परेर आत्महत्या गरेका घटना कैयौँ छन् । पछिल्लो समय बाहिरिएका पल साह र सन्दीप लामिछानेमाथिको जाहेरीले हरेक किशोरीलाई झस्काएको हुनुपर्ने हो । हाल बलात्कृत भएका कुल संख्यामध्ये ४० प्रतिशत नाबालिक नै रहेको तथ्य देखिन्छ । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८÷७९ मा १५६० जना नाबालिक बलात्कारका सिकार भएका छन् । निरन्तरको खबरदारी र प्रतिरोधका बाबजुद पनि नाबालिग बलात्कारको यो डरलाग्दो तथ्यांक किन ? सोचनीय विषय हो यो ।

डर, धम्की र चरित्रहत्याबाट बलात्कार पीडितलाई नै दोषी प्रमाणित गर्ने दुष्कार्य बढिरहेको छ । अपराधीलाई लुकाउने, फरार गराउने र नक्कली बलात्कारी खडा गरी न्यायमाथि नांगो हस्तक्षेप गर्ने गलत अभ्यास दोहोरिइरहेको छ । बलात्कारीकै संरक्षणमा उत्रनु हिंसाविरुद्धको सामाजिक दृष्टिकोणको कुरुप तस्वीर हो । शक्ति र सामथ्र्यका अगाडि कानुन नतमस्तक भएको योभन्दा ठूलो प्रमाण अरु के चाहिन्छ ? विवाह गर्ने आश्वासन दिएर बलात्कारको मुद्दा फिर्ता गराउने र भाग्ने बलात्कारीको जमात पनि ठूलै छ ।

किशोरीहरु पुरुषहरुसँग सजग र संयमित हुनुभन्दा उनीहरुको आश्वासनमा बहकिने र यौनसम्बन्धपछि गर्भ रहेमा, पीडित भागे वा वास्ता नगरे मात्र बलात्कारको मुद्दा दर्ता गर्ने प्रवृत्तिले हाल पीडकभन्दा पीडितलाई नै दोष दिने कार्य बढेको हो । यौन हिंसाको शारीरिक असर सर्वप्रथम महिलालाई पर्ने हो । मानसिक असर पनि उसैलाई थोपरिन्छ । यता बलात्कारीचाहिँ कठघरामा उभिँदा पनि आफ्नो गल्तीप्रति रत्तिभर प्रायश्चित्त नगरी शानका साथ उम्किन खोजिरहेको हुन्छ ।

गैरसरकारी संस्थाको हाकिमबाट आफू यौन दुव्र्यवहारमा परेको जाहेरी निकै पछि मात्र एक महिलाले खोलिन् । पुष्टि गर्न कठिन यो आरोपको खुलासा उनले पछि मात्र किन गरिन् भन्ने प्रश्नको उत्तर गम्भीर छ । हामीले हाम्रा छोरीचेलीलाई हिंसाविरुद्ध उत्रन होइन सहन, लुकाउन र स्वीकार्न सिकाएका छौँ । महिलाको इज्जत र चरित्रसँग जोडिने यौनशोषणका हिंसा त झन् बाहिर ल्याउनै हुँदैन भनेर तर्साएका छौँ । हिंसापीडितलाई इज्जतको डर देखाएर झन् डरपोक र कमजोर बनाएका छौँ । हिंसाविरुद्ध उत्रन खोज्ने आफ्नै छोरी–बुहारीलाई उपेक्षित गरी थप पीडित बनाउँदै आएका छौँ । इज्जत जोगाउने नाउँमा यौन हिंसा गर्नेसँग नै मिलापत्र गर्ने वा आफ्ना छोरीचेली जिम्मा लगाउन हतारिने गरेका छौँ ।

पछिल्ला समय शैक्षिक संस्थाहरुमा शिक्षक तथा प्रधानाध्यापकबाटै विद्यार्थीहरु यौन हिंसामा पर्ने गरेका घटना बाहिरिएका छन् । कार्यस्थलमा समेत यौन दुव्र्यवहारको घटना बढिरहेको तथ्यांकले देखाएको छ । सुन्दरी प्रतियोगिताकी प्रतियोगीले, विद्यालयकी छात्राले, कर्मचारीले, वृद्धाले र लेखक–पत्रकारले समेत यौन दुव्र्यवहारका घटना एकपछि अर्को सार्वजनिक गरिरहेको तथ्यले हाम्रो समाज कता गइरहेको छ भन्ने प्रश्न उब्जाएको छ । बलात्कार पीडितले साहस गरेर समयमै जाहेरी दिए पनि बलात्कारका मुद्दा समयमै दर्ता गर्न हिच्किचाउने, कारबाही गर्न आनाकानी गर्ने र महिलाकै चरित्रप्रति दोष देखाएर अपराधलाई सामान्यीकरण गर्ने प्रवृत्ति बढ्दै छ । राजनीतिक तथा सामाजिक संरक्षण गरी बलात्कारीको मनोबल उकास्ने प्रवृत्तिले एउटै व्यक्ति पटक–पटक बलात्कारमा उद्यत् भएको देखिन्छ ।

संसारभर नै बलात्कारलाई जघन्य अपराध मानिने हुनाले राज्यले नै पीडितलाई न्याय र पीडकलाई सजायको व्यवस्था गरेको हुन्छ । मनोवैज्ञानिक परामर्श र आर्थिक सहयोगविना पीडकलाई जेल हालेर मात्र नेपालका सन्दर्भमा यौन हिंसाविरुद्ध न्यायप्राप्तिको अनुभूति हुँदैन । कडा कानुनी व्यवस्थाका कारण बलात्कारीको मनोबल गिराएर यौन हिंसाका घटनालाई निरुत्साहित गर्नुपर्छ । अभियुक्तलाई संरक्षण गर्ने, घटनालाई सामान्यीकरण गर्ने र पुरुषबाट प्रशंसा पाउन महिलाले नै महिलालार्ई दोष देखाउने प्रवृत्ति पनि बेला–बेलामा देखिएकै छ ।

जाहेरी दिने हदम्याद बढाउँदा महिलाका प्रतिशोधमा परेका निर्दोष पुरुष दण्ड सजायको भागी हुनसक्ने जिकिर पुरुषहरुको मात्र नभई महिलाहरुकै पनि देखिन्छ । राजनीतिक तथा आर्थिक शक्तिको बलमा बलात्कारीले सफाइको सुविधा पाइरहेका घटना थुप्रै छन् । आइन्दा पीडकको दबाब र प्रलोभनमा परेर अदालतमा बयान फेर्ने र मिलेमतो गर्ने कार्य हटाइनुपर्छ । मुलतः समाज, परिवार र राज्यका सम्पूर्ण अंगहरुमा रहेको जब्बर पितृसत्ताको अन्त्य हुनुपर्छ । कठोर कानुनी प्रक्रियासँगै महिलाको आर्थिक, सामाजिक सशक्तीकरण र सामाजिक, सांस्कृतिक दृष्टिकोणमा परिवर्तन नगरी यौन हिंसाका घटनामा कमी ल्याउन सकिँदैन ।

महिलाले जुनसुकै प्रकारको हिंसाविरुद्ध सुरक्षा, सम्मान र न्याय माग्न आउँदा राज्यले तिम्रो साथमा म छु भन्नुप¥यो । समाजले पनि न्याय दिलाउन हामी सदा तिमै्र साथमा छौँ भन्नुप¥यो । पीडित महिलाले त्यसको गुन्जायस अब तत्काल पाउनुपर्छ । वास्तवमा यौन हिंसा पितृृसत्तात्मक समाज र सोचको उपज पनि हो । राजनीतिक अस्थिरताका कारण सधैँ राज्य संरचना नै कमजोर हुँदा र सामाजिक मूल्य–मान्यताको बन्धन भत्किँदै जाँदाको दुष्परिणाम पनि हो बलात्कारका घटनाहरु । महिलाहरुको फेरिएको जीवनशैली, खुलापन र सामाजिक सञ्जालले बढाएको स्वार्थी सम्बन्धले समेत यसैलाई मलजल गरिरहेको छ । त्यसैले बलात्कारविरुद्धको अनुसन्धानलाई तीव्र र निष्पक्ष बनाउँदै समाजमा खुलापनले ल्याएको विकृति र अपराध नियन्त्रणतर्फ पनि सरकारको ध्यान खिचिनु जरुरी छ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्