दुई वडाबाट २२ लाखको खसीबोका



हेटौंडा।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पूर्वी मकवानपुरको वागमती गाउँपालिकाबाट पहिलोपटक खसीबोका खरिद गरेको छ । दशैंमा उपत्यकामा मासुको आपूर्ति सहज गर्न खाद्यले पालिकाको वडा नम्बर–६ र ८ बाट १ सय १ वटा खसीबोका खरिद गरेको हो ।

खाद्यले बजार मूल्य नियन्त्रण तथा किसानले उचित मूल्य पाउन् भन्ने उद्देश्यले २५ केजी भन्दामाथिका खसीबोकाको मूल्य प्रतिकिलो ६ सय १० रुपियाँका दरले खरिद गरेको हो । जसअनुसार १ सय १ वटा खसीबोका बिक्रीबाट त्यहाँका किसानले २२ लाख ७९ हजार १ सय ३७ रुपियाँ प्राप्त गरेको बाख्रा व्यावसायिक महासंघ मकवानपुर अध्यक्ष विवेक सुवेदीले बताउनुभयो ।

पहिलोपटक जिउँदा खसीबोका बिक्री भएपछि किसान खुशी छन् । वडा नम्बर–६ का श्याम राईले १६ वटा खसीबोका बिक्री गरेबापत् ३ लाख ६९ हजार ९ सय ६५ रुपियाँ पाउनुभयो । उहाँका १६ वटामध्ये एउटा खसी ५२.५ किलोको थियो । खसी बिक्रीपछि राईले पहिलोपटक सरकारी निकायलाई जिउँदा खसी बिक्री गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभयो ।

हरेक वर्ष खाद्यले मकवानपुरका विभिन्न स्थानबाट खसीबोका खरिद गर्ने गरेको छ । तर, पहिलोपटक खाद्यले वागमती गाउँपालिकाबाट खसीबोका खरिद गरेको पालिका पशुपक्षी विकास शाखा प्रमुख राजेन्द्र गोलेले बताउनुभयो । उहाँका अनुसार पालिकाका किसान विशेषतः पशुपालनमा अग्रसर रहेकाले यसपटक खाद्यलाई स्थानीयका खसीबोका खरिद गर्न आग्रह गरिएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्