सर्बिया र स्पेनको जित



एजेन्सी।

यूईएफए नेसन्स लिगमा सर्बिया र स्पेनले जितको नतिजा निकालेको छ ।
सर्बियाले नर्वेलाई उसकै मैदानमा २–० गोलअन्तरको सहज जित निकालेको हो । सर्बियाको जितमा डुसान भ्लाहोभिच र एलेक्सान्डर मित्रोभिकले गोल गरे । सर्वियाले पहिलो र दोस्रो हाफमा समान एक गोल गर्दै सहज जित निकालेको हो । ओस्लोमा मंगलबार राति भएको खेलको ४२औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए । उनले फिलिप कोस्टिकको पासमा गोल गर्न सफल भएका थिए ।

खेलको ५४औं मिनेटमा एलेक्सान्डर मित्रोभिकले गोल गर्दै सर्बियाको अग्रता दोब्बर पारे । उनले इभानको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा सबिर्वया विजयी हुन सफल भयो । यस जितसँगै सर्बिया लिग ‘बी’ ग्रुप ४ मा १३ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित नर्वे १० अंक जोडेर दोस्रो स्थानमा रह्यो । यही समूहको अर्काे खेलमा स्वीडेन र स्लोभेनियाले १–१ गोलको बराबरी खेलेका छन् । स्लोभेनियाका बेन्जामिन सेस्कोले गोल गर्दा स्विडेनका इमिल फोसवर्गले बराबरी गोल फर्काए ।

त्यसैगरी, पोर्चुगलमाथि झिनो गोलअन्तरको जित निकाल्दै स्पेन यूईएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेका छन् । स्पेनले घरेलु टोलीलाई १–० ले पराजित गर्दै फाइनल फोरमा स्थान पक्का गरेको हो । यसअघि, क्रोएसिया, नेदरल्यान्ड्स र इटालीले फाइनल फोरमा स्थान बनाएका छन् । स्पेनको जितमा खेलको अन्तिम समयमा अल्भारो मोराटाले गरेको गोल नै निर्णायक बन्यो । उनले ८८औं मिनेटमा निको विलियम्सको पासमा गोल गर्न सफल भएका थिए ।
स्टेडियो म्युन्सिपल ब्रागामा मंगलबार राति भएको खेलमा घरेलु टोलीविरुद्ध बल पोजिसन राख्दै दबाब बढाएपनि स्पेनले गोलको लागि खेलको अन्तिम समयसम्म कुर्नुपरेको थियो । खेलको २१औं मिनेटमा डिएगो जोटाबाट आएको पासमा रोनाल्डोले मिलाइदिएको पासमा कार्भाल्होको प्रहारले पोस्टको दिशा लिन सकेन ।

३७औं मिनेटमा ब्रुनो फर्नान्डेसको प्रहारले पनि पोस्टको दिशा लिन सकेन । खेलको ४७औं मिनेटमा रोनाल्डोको चलाखीपूर्ण पासमा जोटाको प्रहारलाई स्पेनका गोलरक्षकले नियन्त्रणमा लिन सफल भए । ७०औं मिनेटमा कार्भाल्होको फ्रिकिकमा रुवेन डियासको प्रहारले गोलरक्षक सिमोन बिट भएपनि ड्यानी कार्भाजलले बचाए ।

खेलको ८८औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाए । उनले निको विलियम्सको पासलाई सदुपयोग गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए । ९०औं मिनेटमा रोनाल्डोले बराबरीको सुवर्ण अवसर पाएपनि उनको प्रयासलाई गोलरक्षक सिमोनले बचाए ।

यस जितसँगै स्पेन नेसन्स लिग ‘ए’ ग्रुप २ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित पोर्चुगल १० अंक जोडेर दोस्रो स्थानमा रहँदा स्विट्जरल्यान्डले ९ तथा चेक रिपब्लिकले ४ अंक जोड्यो । यही समूहको अर्काे खेलमा स्विट्जरल्यान्डले पनि चेक रिपब्लिकलाई २–१ ले पराजित ग¥यो ।
स्विट्जरल्यान्डका रेमो फ्रुउलेर र ब्रिल इम्वोलोले गोल गर्दा चेक रिपब्लिकका प्याट्रिक सिकले एक गोल फर्काए । हारसँगै चेक रिपब्लिक रेलिगेसनमा समेत परेको छ । त्यस्तै, अन्य खेलमा आयरल्यान्डले अर्मेनियालाई ३–२ ले ग्रीसले नर्दन आयरल्यान्ड ३–१ ले, कोसोभोले साइप्रसलाई ५–१ पराजित गर्दा युक्रेन र स्कटल्यान्ड तथा अल्वानिया र आइसल्यान्डले १–१ गोलअन्तरको बराबरी खेले ।

फाइनल्स फोरको टुंगो

यूईएफए नेसन्स लिग फुटबलको फाइनल्स पुग्ने चार टोलीको टुंगो लागेको छ । मंगलबार राति पोर्चुगललाई हराएर स्पेनले फाइनल्समा स्थान बनाएसँगै ४ टोलीको टुंगो लागेको हो ।नेसन्स लिगको फाइनल्समा यस पटक स्पेनसँगै इटाली, नेदरल्यान्ड्स र क्रोएसियाले खेल्नेछन् ।

पहिलो संस्करणको विजेता पोर्चुगल र साविक विजेता फ्रान्सले यस पटक फाइनल्समा स्थान बनाउन सकेनन् । लिग‘ए’ को समूह १ बाट क्रोएसियाले फाइनल्समा स्थान बनाएको हो । स्पेनले समूह २, इटालीले समूह ३ र नेदरल्यान्ड्सले समूह ४ बाट फाइनल्समा स्थान बनाएको हो । नेसन्स लिगको फाइनल्स खेलहरू २०२३ को जुनमा हुनेछ । खेलस्थल भने अझै तय भएको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्