मुटुरोगप्रति चेतना बढ्दैछ



  • डा. ओममूर्ति अनिल

मुटुरोगको रोकथाममा व्यक्ति र समाजको भूमिकालाई प्रभावकारी बनाउनुपर्छ भन्ने उद्देश्यका साथ सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट जनचेतना जगाउन लामो सयमदेखि मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल क्रियाशील हुनुहुन्छ ।

वैज्ञानिक र प्रमाणित तथ्यलाई सबै वर्ग, क्षेत्र, समुदायले बुझ्ने गरी सरल भाषामा मानिसको दैनिकी तथा जीवनशैलीसँग जोडेर मुटुरोगको रोकथामका निम्ति गर्न सकिने उपायलाई हरेक दिनजस्तै आफ्नो फेसबुक पेजमार्फत डा. अनिलले सचेतनामूलक ‘हेल्थ टिप्स’ दिँदै आउनुभएको छ ।

उहाँको यस अभियानले मुटुरोगको रोकथामका निम्ति मानिसमा स्वास्थ्य चेतनाको स्तरवृद्धि हुँदै गएको तथ्य डा. अनिलले दिने ‘हेल्थ टिप्स्’प्रति दर्शकले दिने लाइक, कमेन्ट, शेयर तथा भ्युजले प्रमाणित गर्दछ । २३ जुलाई २०२२ मा अमिलो, पीरो, गुलियो, चिल्लो र मसलासम्बन्धी डा. अनिलले पोस्ट गर्नुभएको आठ मिनेट लामो एउटा भिडियोलाई १ लाख जनाभन्दा बढीले लाइक गरेका छन् ।

त्यस्तै, ४ हजारभन्दा बढीको कमेन्ट, ३४ हजारभन्दा बढी शेयर र करिब ३० लाख जनाले भिडियो हेरेका छन् । डा. अनिल आफैंले निर्माण गरेका तथा विभिन्न सञ्चारमाध्यमले उहाँसँग सम्बन्धित रहेर बनाएका गरी २५ हजारभन्दा बढी भिडियो इन्टरनेटमा छन् । तीमध्ये प्रायः सबै मुटुरोगको रोकथामप्रति केन्द्रित छन् । यस अर्थमा मुटुरोगको रोकथामका निम्ति डा. अनिलले ‘सामाजिक क्रान्ति’को शुरुआत गर्नुभएको मान्न सकिन्छ ।

रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु उत्तम विकल्प हो । रोग लागिहालेमा के गर्ने ? भन्ने चाहिँ दोस्रो विकल्प हो । दुवै विकल्पका निम्ति मानिसले आफ्नो जीवनशैली र व्यावहारमा परिवर्तन गर्न जरुरी रहेकाले कसरी बढीभन्दा बढी मानिससम्म स्वास्थ्य चेतना पु¥याउन सकिन्छ भनेर क्रियाशील रहँदै आएको डा. अनिलको भनाइ छ । आफ्ना १२ लाखभन्दा बढी फ्लोर्स र उनीहरूका माध्यमबाट स्वदेश–विदेश, गाउँ–शहरका लाखौं मानिससमक्ष स्वस्थ मुटुको महाअभियानमा क्रियाशील मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलसँग विश्व मुटु दिवस–२०२२ का सन्दर्भमा नेपाल समाचारपत्रका लागि राजु श्रेष्ठले गर्नुभएको कुराकानी ।

डाक्टरसाबले सामाजिक सञ्जालमार्फत ‘हेल्थ टिप्स’ दिँदै आउनुभएको छ । यसरी दिनुका कारण के होला साथै ‘हेल्थ टिप्स’ को विषय छनोट कसरी गर्नुहुन्छ ?

समाजमा छिटो सन्देश प्रवाह गर्ने प्रभावकारी माध्यम सामाजिक सञ्जाल हो । हाम्रो समाज, जीवनशैली, आनीबानी र व्यवहारका कारण मुटुरोगको समस्या जटिल बन्दै गएको छ । यसलाई नियन्त्रण गर्न मानिसमा स्वास्थ्य चेतना जगाउनुपर्छ भनेर यो माध्यम रोजेको हुँ ।
त्यहाँमा समावेश गरिने विषयवस्तु मैले दैनिकरूपमा भेट्ने बिमारीबाट लिने गरेको छु । बिरामी जाँच्ने क्रममा उहाँहरूमा देखिने स्वास्थ्य समस्या, रोगप्रतिको बुझाइ, खानपान, जीवनशैलीलगायत समाजमा खड्किरहेको विषय के हो भन्ने पहिचान गरी त्यसलाई समेटेर सबैले बुझ्नेगरी सरल भाषामा आफ्नो प्रस्तुति दिने गरेको छु ।

यसको प्रभावकारिता कस्तो पाउनुभएको छ ?

समाजमा निक्कै ठूलो परिवर्तन ल्याएको मैले महसुस गरेको छु । मुटुरोगप्रति आममानिसको सचेतना बढेको छ । मैले ११ वर्ष अघि यस अभियान शुरू गर्दाको अवस्था र अहिले मानिसमा आफ्नो स्वास्थ्यप्रतिको जागरुकता बढ्दै गएको छ । जीवनशैलीमा परिवर्तन, आनीबानीमा सुधार तथा नियमित स्वास्थ्य परीक्षण, उच्च रक्तचापप्रतिको होसियारी, नियमित औषधि सेवन गर्नुपर्छ भन्ने चेतना बढेको छ । त्यतिमात्र होइन हृदयघातको शंका लागेमा तत्काल कुन औषधि प्रयोग गर्न सकिन्छ, भनेर फेसबुकमा प्रश्न सोध्यांै भने ४÷५ हजार जनाबाट ‘एस्प्रिन’ भन्ने जवाफ आउँछ, यो महत्वपूर्ण उपलब्धि हो । यसमा सञ्चारमाध्यम तथा स्वास्थ्यका क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीहरूको पनि निक्कै ठूलो साथ छ ।

तपाईं निक्कै व्यस्त चिकित्सक हुनुहुन्छ, स्वास्थ्य सचेतनाका निम्ति कसरी समय व्यवस्थापन गर्नुहुन्छ, कहिलेकाहीं होस् भो भन्ने लाग्दैन ?

सामान्यतया मुटुरोग ४० देखि ७० वर्ष उमेर समूहका मानिसमा लाग्ने गरेको पाइन्छ । त्यो उमेरका प्रायः मानिस परिवारको मुख्य सदस्य हुन्छन् । यदि, घरमुलीमा यस्तो समस्या देखाप¥यो भने त्यो घरमा आइपर्ने आर्थिकलगायतको जटिला कस्तो होला । हाम्रो सानो प्रयासले जटिलता कम गर्न सक्यौं भने आफ्नो व्यक्तिगत कठिनता सामान्य हुन् ।
मुटु, मस्तिष्क तथा मृगौलालाई उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल जस्ता समस्याले असर पु¥याउँछ । त्यो समस्याको पहिचान र नियमित स्वास्थ्य परीक्षण गरी चिकित्सकको सल्लाह बमोजिम आफ्नो जीवनशैली खानपानमा परिवर्तन गर्न सकेमा हुनसक्ने जटिलता तथा दुर्घटनाबाट बच्न वा न्यूनीकरण गर्न सकिन्छ ।
जनस्वास्थ्यका सवालमा सरकार मात्र होइन व्यक्ति तथा समाज पनि गम्भीर बन्नुपर्छ । त्यसका निम्ति स्वास्थ्य शिक्षासहितको जनचेतना आवश्यकता छ । हो, म दैनिक ११÷१२ घण्टा बिमारीको सेवामा सक्रिय रहन्छु । तथापि, मैले स्वास्थ्य सचेतनासम्बन्धी प्रस्तुति दिँदै आएको हुन्छु । आफ्नो व्यक्तिगत समय, परिवारलाई दिनुपर्ने समय, आफन्तहरूलाई दिनुपर्ने समयलाई कटाएर स्वास्थ्य सचेतना जगाउन लागेको हुन्छु । यो कठिन छ तर समाजमा ल्याएको परिवर्तनबाट सन्तुष्टि मिल्छ ।

नेपालमा मुटुरोगको अवस्था चाहिँ कस्तो छ ?

मुटुरोगको समस्या धनी राष्ट्रमा भन्दा गरिब राष्ट्रमा बढी छ । नेपालको सन्दर्भमा मुटुरोगको समस्या गम्भीर नै छ । स्तरीय उपचारको कमी, भौगोलिक जटिलता, पर्याप्त स्वास्थ्य बीमा नहुनु, चेतनाको कमीलगायतका कारणले गर्दा नेपालमा मुटुरोगको अवस्था गम्भीर भएको हो ।
सन् २०१९ को एउटा अध्ययनअनुसार नेपालका करिब २५ प्रतिशत जनतामा उच्च रक्तचापको समस्या छ । आफूलाई उच्च रक्तचाप भएको थाहा नै नपाउने ५५ प्रतिशत छन् ।
समस्याको पहिचानपछि चिकित्सकले औषधि सेवन गर्न सल्लाह दिँदा पनि औषधि खान नमान्ने ५५ प्रतिशतभन्दा बढी नेपालीले ढिलागरी औषधि स्वीकार गर्दा मुटुका साथै मृगौला, मस्तिष्कमा समेत असर पु¥याएको पाइन्छ ।
त्यस्तै, ७३ प्रतिशतले आफूमा मधुमेहको समस्या भएको थाहा नपाएरै बसिरहेको अवस्था छ । उच्च कोलेस्ट्रोल ११ प्रतिशत मानिसमा देखिएको छ भने करिब ९८ प्रतिशतलाई कोलेस्ट्रोल भएको थाहा नै छैन । शरीरका अन्य भागमा जटिल समस्या पारेपछि मात्र परीक्षण र उपचारको थालनी गर्ने स्थिति रहेको छ । गम्भीर समस्या उत्पन्न भएपछि गरिने उपचारबाट आउने परिणामभन्दा पीडा बढी हुने अवस्था छ ।

 यहाँले केही समय अघि गुलियो, नुनिलो, मसलेदार खानाका बारेमा एउटा प्रस्तुति दिनुभएको थियो । त्यो निक्कै प्रभावकारी देखिएको छ, यो किन दिनुभएको हो ?

प्रायः नेपालीका खानामा गुलियो, चिल्लो, नुनिलो, मसलेदार र पीरो हुन्छ । अझ दशैंका बेला यस्ता खानेकुरा बढी हुन्छन् ।
मानव स्वास्थ्यका लागि सबैभन्दा हानिकारक गुलियो पदार्थ हो । त्यसपछि नुनिलो, चिल्लो र मसलेदार खाना हानिकारक हुन् । अमिलो र पीरो राम्रोमध्ये पर्छ । यी कुरा हाम्रो दैनिक खानपिनसँग सम्बन्धित हुन् ।
खानपिन, बानी–व्यवहार र जीवनशैलीले मुटुरोग लाग्ने÷नलाग्ने धेरै हदसम्म निर्धारण गर्छ । आफ्नो जीवनशैलीलाई प्रभाव पार्ने यस्ता जानकारीले मुटुरोगबाट बच्ने उपाय जनमानससमक्ष पुग्छ । यसले अदृश्यरूपमा स्वास्थ्य समस्या हुनबाट जोगाइराखेको हुन्छ ।

 अन्त्यमा हाम्रा पाठकलाई थप केही भन्न चाहनुहुन्छ ?

कतिपयलाई मुटुरोगको लक्षण थाहा नपाउँदा ग्यास्ट्रिकको औषधि सेवन गरेर बस्ने वा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसक्ने अवस्था छ । अर्कोतिर समस्या पहिचान भएर पनि ढिलो उपचार पाउँदा दुःखद घटना हुने गरेका छन् । त्यसैले नियमित स्वास्थ्य परीक्षण गर्न जरुरी छ । कतिपयले यसलाई अनावश्यक वित्तीय भारका रूपमा लिने गरेको पनि पाइन्छ । तर, समयमा उपचार नहुँदा हुन सक्ने दुर्घटनाका अगाडि त्यो सामान्य हो ।

मुटुरोगले स्वास्थ्यबाहेक आर्थिक, सामाजिक एवं परिवारमा पार्ने असरका बारेमा सचेत हुनुपर्छ । हृदयघातको उपचार महँगो पनि छ । साथै जीवन नै जानसक्ने खतरा पनि भएकाले नियमित स्वास्थ्य परीक्षण, स्वच्छ तथा स्वस्थ आहार, नियमित व्यायाम, मदिरा र सुर्तीजन्य पदार्थबाट टाढा रहँदै मानसिकरूपमा आराम उत्तम उपाय हो ।

बढ्दो उमेरसँगै आउने स्वास्थ्य जटिलतालाई कम गर्न खानपानबारे सचेतना बढाउनु अहिलेको आवश्यकता र चुनौती दुवै छ । मानव शरीर प्राकृतिक भएकाले अप्राकृतिकरूपमा बनाइएका चिजले शरीरलाई बेफाइदा गर्छ । निस्क्रिय जीवन जिउने, खानपानमा ध्यान नदिने, चिकित्सकको सल्लाह नमान्ने गर्दा मानिसले आफूले मात्र दुःख पाउने होइन । घरपरिवार, समाज र देशलाई नै नोक्सानी पु¥याएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्