सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वत: खारेज



बाँके
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वत: खारेज हुने बताउनुभएको छ ।
नेपालगन्जमा आयोजित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको प्रशिक्षणमा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले उम्मेदवारले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य हुँ भन्न नपाउने बताउनुभयो ।

प्रतिनिधि सभाको म्याद सकिँदा समेत सभामुखजस्तो गरिमामय पद ओगटेर विवादमा मुछिएका अग्निप्रसाद सापकोटाप्रति लक्षित गर्दै प्रमुख निर्वाचन अधिकृत थपलियाले भन्नुभयो– ‘कसैले पनि कात्तिक २४ गतेदेखि प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य हुँ र उम्मेदवार पनि हुँ भन्न पाउँदैनन् । त्यतिबेला सार्वजनिक र उम्मेदवारी दुवैतिरको पद खारेज हुन्छ ।’

आयोगले निर्वाचन आचार संहिता लागु गरिसकेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचार संहिता पालना भए नभएको अनुगमन गर्न विशेष अनुगमन टोली नै गठन गर्ने बताउनुभयो । उहाँले तिनै तहका कर्मचारीलाई गोप्य ढंगले परिचालन र यस्तो टोलीले दिएको प्रतिवेदनका आधारमा उम्मेदवारलाई कारबाही गर्ने बताउनुभयो ।

यसपालि आयोगले उम्मेदवारी दर्ता भएकै दिनमा खर्च विवरण ३० दिनभित्र बुझाउँछु भनी दस्तखस्त गर्न लगाउने भएको छ । गएको स्थानीय तहको निर्वाचनमा उम्मेदवारले समयमै खर्च विवरण नबुझाउँदा ठूलो संख्या जरिवानाको सूचीमा परेका छन् । आयोगले यसपालि दल र उम्मेदवार भएकाको मात्रै चुनाव चिह्न राख्ने जनाएको छ । यसो गर्दा मत बदर संख्या घट्ने र मतदान पनि छिटो हुने आयोगले विश्वास लिएको छ । कतै पनि निर्वाचन दोहोर्‍याएर गर्नुपर्ने अवस्था आउन नदिन सुुरक्षाको व्यवस्था मिलाउने आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सकिएको ४८ घण्टाभित्रै मतगणना सम्पन्न गर्ने मुख्य निर्वाचन अधिकृतलाई पुरस्कार दिने खुलासा गर्नुभयो । ‘मतदान भएको ४८ घण्टाभित्रै मतगणना सक्ने मुख्य निर्वाचन अधिकृतलाई निर्वाचन दिवसका दिन निर्वाचन अवार्ड दिने सोचेका छौं’, तीन प्रदेशका मुख्य निर्वाचन अधिकृत सम्मिलित कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत थपलियाले भन्नुभयो– ‘अवार्ड दिने विषयमा निर्णय गर्न बाँकी छ ।’

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र र अनुसन्धान विभागका प्रमुखको सहभागिता रहेको छ । प्रशिक्षण दुई दिनसम्म चल्नेछ ।

दलहरू उम्मेदवारी टुंग्याउने प्रक्रियामा लागिरहँदा निर्वाचन आयोग निर्वाचनको व्यवस्थापनमा जुटेको छ । निर्वाचन आयोगले १ सय ६५ निर्वाचन क्षेत्रमै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू खटाएसँगै र उम्मेदवारी तय भइसकेका उम्मेदवारहरूले घरदैलो शुरू गरिसक्दा मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको माहोल बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्