गठबन्धनले मधेस प्रदेशमा कांग्रेसलाई धक्का



काठमाडौं।

आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरेर जाने भएपछि मधेस प्रदेशमा गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई धक्का लाग्ने भएको छ । कांग्रेसको राम्रो संगठन भएको मधेस प्रदेशमा गठबन्धनको भागबण्डाले पार्टीभित्र असन्तुष्टि चुलिँदै गएपछि आन्तरिक पार्टी संगठनमा धक्का पुग्ने मधेसका नेताहरूले बताएका हुन् ।

गठबन्धनका नाममा कांग्रेसको बलियो संगठन भएका क्षेत्रहरूसमेत अन्य दलहरूलाई दिने हो भने मधेस प्रदेशमा आगामी राजनीति गर्न कांग्रेसलाई निकै गाह्रो हुने नेताहरूको भनाइ छ । गठबन्धन दलहरूबीच सिट बाँडफाँटमा मधेस प्रदेशमा जनता समाजवादी पार्टी, नेकपा माओवादी र एकीकृत समाजवादीलाई बढी सिट दिनुपर्दा कांग्रेसले कम सिटमा चित्त बुझाउनुपर्नेछ । लामो इतिहास बोकेका र पार्टीमा लगानी गरेका साथीहरूलाई अवसर दिने बेलामा अरू दलहरूलाई जोडेर ल्याउनु पार्टीका लागि नै घात हुने कांग्रेसका नेता डा. चन्द्रमोहन यादवले बताउनुभयो । उहाँले भन्नुभयो– ‘गठबन्धनले समग्र देशकै कांग्रेसको संगठनमा धक्का पुग्ने देखिन्छ । अझ मधेस प्रदेशको सन्दर्भमा हेर्दा पार्टीलाई गठबन्धनले ठूलो क्षति हुने अवस्था आउँदै छ ।’

पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्न छाडेर गठबन्धन जोगाउन मात्रै जोडबल गर्नु संगठनको हितमा नभएको उहाँले बताउनुभयो । ‘पार्टी नेतृत्व भने अहिले सिट संख्या कम लिएरै पनि गठबन्धन नगरी नछाड्ने पक्षमा छ । यो कुरा नेतृत्वको बेकारीपना हो’ –यादवले नेपाल समाचारपत्रसँग भन्नुभयो । सबैभन्दा राम्रो संगठन कांग्रेसको भनेर भनिरहेको अवस्थामा मधेसमा माओवादीलगायत दलहरूलाई जिम्मा लगाउँदा पार्टीभित्र पहिरो जाने अवस्था रहेकाले सुझबुझका साथ निर्णय गर्न पार्टी नेतृत्वलाई यादवले आग्रहसमेत गर्नुभयो । आफू समानुपातिकमा बस्न नचाहेको भन्दै उहाँले प्रत्यक्ष निर्वाचनमा भाग लिने गरी तयारी गरिरहेको समेत बताउनुभयो । यादव समानुपातिकको बन्द सूचीमा पर्नुभएको छ ।

गठबन्धनको औचित्य पुष्टि हुने गरी स्थानीय कार्यकर्तादेखि नागरिक स्तरसम्मलाई बुझाउन नसकेका कारण मतदाताहरूमा समेत विभाजन देखिन थालेको स्थानीय नेताहरू बताउँछन् । वडा, गाउँ, क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रमा जानुपर्नेमा सबै पार्टीका केन्द्रीय नेताहरूको व्यक्तिगत स्वार्थपूर्तिका लागि केन्द्रबाट गरिएको गठबन्धन भएकाले त्यसको औचित्यमाथि प्रश्न उठेको तराई मधेसका नेताहरूको भनाइ छ । भूगोलका कार्यकर्ताको मन दुखाएर केन्द्रमा गरिएको गठबन्धनलाई चुनाव जित्न सजिलो नहुने उनीहरूले नेतृत्व तहलाई चेतावनीसमेत दिएका छन् ।

धनुषा क्षेत्र नम्बर–१ का पूर्व क्षेत्रीय सभापति रामकृष्ण मण्डल केन्द्रबाट गरिएको गठबन्धनले गाउँका जनताको प्रतिनिधित्व नगर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘कार्यकर्ताहरूमा असन्तुष्टि बढेको छ । केन्द्रका नेताहरूको निर्णय भएकाले गठबन्धनका नाममा आएका कांग्रेसबाहेकका उम्मेदवारलाई जबरजस्ती भोट हाल्नुपर्छ भन्ने दबाब कोही कार्यकर्ताले मान्दैनन् । जनताले त मान्ने कुरै भएन ।’ गठबन्धनको निर्णय गरेका नेताहरूले मधेस प्रदेशमा कांग्रेसको संगठनमाथि प्रहार गरेको उहाँको भनाइ छ । गठबन्धनमा आम नागरिकले भोट हाल्ने अवस्था नरहेको बताउँदै उहाँले भन्नुभयो– ‘जीवनभर गाछीमा भोट हालेका बूढाबूढीहरूले अन्त भोट हाल्न नसक्ने बताइरहेका छन् ।’ मधेसमा ३२ क्षेत्रमध्ये एकल चुनाव लड्दा २० क्षेत्र जित्ने दाबी मधेस प्रदेशका नेताहरूले गरेका छन् ।
नेपाली कांग्रेससहितका सत्ता सहयात्री पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरेर जाने निर्णयले केही नेताहरुलाई फाइदा पुगे पनि आम जनता र पार्टीलाई फाइन नहुने चौतर्फी आवाजहरु आइरहेका छन् ।

सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने भनेर भागवण्डाको छलफल चलिरहँदा तराईमा फरक मत प्रकट भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूबीच सिट बाँडफाँटको सहमतिका लागि दैनिकजसो बैठक बसिरहेको अवस्थामा मधेस प्रदेशमा गठबन्धन गरेर अरू दलहरूलाई उम्मेदवार बनाउँदा कांग्रेस पार्टीलाई हानि गर्ने नेताहरूले बताउँदै आएका छन् । मधेस प्रदेशका युवा नेता अर्विन्द महतो गठबन्धनका कारण मधेसमा कांग्रेस जोगिन्छ कि जोगिँदैन भन्ने चिन्ता रहेको बताउनुहुन्छ । नेपाली कांग्रेस नेतृत्वको सरकारले गराएको चुनाव स्वभाव त कांग्रेस र सिंगो देशलाई फाइदा पुग्ने हुनुपर्छ भन्ने आम कार्यकर्ताको भावना हो । त्यही भावना आफूभित्र पनि रहेको महतोले बताउनुभयो । गठबन्धनका कारण सिंगो मधेस प्रदेशमा आफ्नो पार्टी कमजोर हुने निष्कर्षसहित शीर्ष नेताहरूलाई उनीहरूले संकेत गरिसकेका छन् ।

नेपाली कांग्रेसको राम्रो संगठन रहेको मधेसमा त्यहाँका नेताहरूले गठबन्धन आवश्यक नभएको बताए । कांग्रेस एक्लै चुनाव लड्दा पहिलो पार्टी बन्ने निश्चित भए पनि केन्द्रीय नेताहरूले व्यक्तिगत स्वार्थपूर्तिका लागि गठबन्धन गरेरै जाने ढिपी गर्न नहुने महतोले बताउनुभयो । मधेस प्रदेशमा कांग्रेस कसैसँग गठबन्धन नगरी एक्लाएक्लै भिड्ने हो भने सजिलै पहिलो पार्टी बन्ने स्थानीयले दाबी गरेका छन् । एमालेलाई रोक्न चुनावी तालमेल गरेको गठबन्धका नेताहरूले स्थानीय नागरिकहरूको भावना नबुझी तराईमा गठबन्धन गर्दा त्यसले उल्टो परिणाम दिने अवस्थामा सिर्जना हुने उनीहरूले बताए । ‘मधेस प्रदेशमा कांग्रेसले गठबन्धन गर्नु औचित्यहीन देखेको छु’, महतोले भन्नुभयो– ‘यसले पार्टीलाई फाइदा होइन घाटा पुग्छ । पाँच दलीय गठबन्धनका नेताहरू धेरैलाई चुनाव जित्न मुस्किल पर्छ ।’

०७४ सालको निर्वाचनमा एमाले माओवादी केन्द्रबीचको गठबन्धनले कम मतले धेरै ठाउँमा चुनाव जितेको भए पनि अहिले सबै पार्टीहरू एक्लाएक्लै भिड्दा सबैभन्दा बढी सिट कांग्रेसले नै ल्याउने अवस्था रहेकाले गठबन्धन मधेसका कार्यकर्ताले स्वीकार गर्न नमान्ने उहाँले बताउनुभयो । यस प्रदेशमा ४९ वटा स्थानीय तह कांग्रेसले जितेको छ । गठबन्धनका नाममा जनमत नै नभएका दलका नेताहरूलाई टिकट दिँदा कार्यकर्तामा असन्तृष्टि चुलिने र गठबन्धनलाई घाटा पुग्ने नेताहरूको जिकिर छ । तराईका नेताहरूको मनोभावनाअनुसार गठबन्धनका शीर्ष नेताहरूले समेत स्थानीय तहको निर्वाचनमा जस्तै गठबन्धन नमिलेका क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा गर्न सकिने मधेस प्रदेशका नेताहरूले विकल्पका रूपमा छलफल गर्न नेतृत्वलाई सुझाव दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्