प्रधानमन्त्री र मन्त्रीहरुले चुनावी प्रचारमा जान नपाउने प्रावधानमा लचकता अपनाइयोस : कांग्रेस



काठमाडौँ।

निर्वाचन आयोगले यसपटक जारी गरेको आचार संहिता अब्यबहारिक भएको गुनासो सर्वत्र आएको भन्दै यसलाई लचिलो बनाउन नेपाली कांग्रेसले आयोगको ध्यानाकर्षण गरेको छ । पार्टी प्रवक्ता डा प्रकाशशरण महतले पार्टी कार्यालयमा मंगलबार पत्रकार सम्मेलनमार्फत आयोगलाई आग्रह गर्नु भएको हो ।

गठबन्धनका दलहरुसहित प्रतिपक्षी दलले समेत प्रधानमन्त्री र मन्त्रीहरुले प्रचारमा जान नपाउने प्रावधान व्यवहारिक भएन भनेको कुरालाई डा महतले स्मरण गराउनुभयो । उहाँले भन्नुभयो– ‘प्रधानमन्त्री देशको कार्यकारी प्रमुख भएकोले उहाँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उहाँका दैनिक भ्रमण हुने गर्दछन् । प्रधानमन्त्री हाम्रो पार्टीको पनि सभापति हुनुहुन्छ, मन्त्रीहरु पनि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा हुनुभएको हुँदा आफ्नो पार्टीका पक्षमा जनमत बनाउन हिड्न नपाउने भन्ने कुरा व्यवहारिक छैन । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत हेरेर यसलाई लचिलो बनाउने हामीले विश्वास लिएका छौ ।’

समानुपातिक बन्द सूचीमा पर्नुभएका डा. महतले आफू प्रत्यक्षतर्फ नै निर्वाचन लड्न चाहेको बताउनुभएको छ । आफू प्रत्यक्षतर्फ चुनाव लड्न चाहेको भन्दै महतले भन्नुभयो– ‘मेरो नाम समानुपातिक सूचीमा समावेश भएपछि विभिन्न कोणबाट कुराहरु आइरहेका छन् । जहाँसम्म मेरो व्यक्तिगत कुरा हो । म प्रत्यक्ष निर्वाचन नै लड्न चाहेको छु । त्यो कुरा मैले नेतृत्व तहसँग स्पष्ट ढंगबाट पटक–पटक बताएको छु । समानुपातिकमा बस्ने मेरो इच्छा होइन् ।’

काठमाडौं वा नुवाकोटबाट निर्वाचन लड्ने चर्चा भइरहेको सन्दर्भमा पार्टीले निर्वाचन आयोगमा पठाएको समानुपातिकको बन्दसूचीमा महतको नाम ४ नम्बरमा राखिएको छ । २०७४ को निर्वाचनमा काठमाडौं ५ मा एमाले उम्मेदवार ईश्वर पोखरेलसँग पराजित हुनुभएका महत आगामी मंसिर ४ मा हुने निर्वाचनमा जहाँबाट पाएपनि चुनाव लड्ने मनस्थितिमा हुनुहुन्छ ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीप्रति असन्तुष्टि र प्रत्यक्षतर्फ टिकट वितरणमा आशंका गर्दै डा. शेखर कोइराला पक्षले गरेको खबरदारी अनावश्यक भएको महतले टिप्पणी गर्नुभयो । पार्टीले एकपक्षीय हिसावले निर्णय नगरेको भन्दै महतले सबै पदाधिकारी, संसदीय समिति, पूर्व पदाधिकारीरुको सर्वसहमतिमा उक्त सूची पठाइएको उहाँको भनाइ छ ।

गठबन्धनबाट सिट बाँडफाँट नटुंगिसकेको अवस्थामा कतिपय साथीहरुलाई समावेश गर्नुपर्ने कारणले सूची पठाइएको र त्यो परिमार्जन हुनसक्ने प्रवक्ता महतले बताउनुभयो । सोमबार मात्रै शेखर पक्षका नेताहरुले १२ गते १२ बजे पार्टी कार्यालयमा शान्तिपूर्ण धर्ना र १३ गते विरोध स्वरुप चियापान कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्