बनेपाका नीजि बद्यशाला ‘गुणस्तरहिन’



काभ्रे।

जिल्ला स्तरीय बजार अनुगमन समिति, नगर स्तरीय बजार अनुगमन समिति तथा सरोकारवाला निकायहरुको सहभागितामा बनेपामा राँगा ताथ भैँसी काट्ने पसल लगायतका ३३ वटा पसलहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा उपभोक्ताहरुले सेवन गर्न भैँसी तथा राँगा काट्ने स्थान अस्वस्थ भएको अनुगमन समितिले निस्कर्ष निकालेको छ ।

‘हरेक वर्ष नीजि रुपमा संचालन भएका बद्यशाला सुधारका लागि सुझाव दिदै आएका थियौं’–जिल्ला स्तरीय बजार अनुगमन समितिका संयोजक समेत रहनु भएका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले भन्नुभयो–‘उहाँहरु सुध्रने भन्दा दिएको निर्देशन अटेर गरेर बसिरहेको देखियो । पशुहरुको बद्य गर्दा अपनाउनु पर्ने स्वास्थ्यका मापदण्ड पालना नगरेको, जिउँदा पशुहरु बाँधेको स्थानमा काटिएको मासुका थुप्राहरु राखेको, बद्य गर्ने स्थान पनि फोहोर भएको, मासु निर्यात गर्दा खुल्ला निर्यात गरिएको फेला परेको छ ।’

नगर स्तरीय अनुगमन समितिका संयोजक बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा दाहालले बजार स्वस्थ राख्न उत्पादित सामानहरु नै स्वस्थ बनाउनु पर्ने बताउँदै बनेपा नगरपालिका वडा नम्वर ९ मा रहेका बद्यशाला आवश्यक कानूनी प्रकृया पुरा गरी उपभोक्ताहरुको गुणस्तरमा ध्यान दिने गरी निर्देशन दिएको बताउनु भयो ।

बद्यशालाका संचालक र माछा र मासु पसलका संचालकहरुलाई भेटेरिनरी अस्पतालमा आयोजित छलफल कार्यक्रममा कानूनी प्रकृया र सजायँ, मापदण्ड पालना तथा दण्ड जरिवनाका बारेमा जानकारी गराईएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताउनु भयो । ब्यवसायीहरु मध्ये केहिलाई अनुगमनका क्रममा जरिवाना तोकिएको उहाँले बताउनु भयो ।

बनेपामा गरिएको अनुगमनका क्रममा ७ वटा मासु पसल, माछा मासु पसल ३ वटा, राँगा तथा भैँसी काट्ने पसल ७ वटा, खाद्यान्न पसल ९ वटा, होटल ४ वटा, फेन्सि पसल १ वटा, तरकारी पसल २ वटा गरी ३३ वटा पसल अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा किराना पसलमा केराउमा मुसा मार्ने औषधी फेला परेको थियो । अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय, प्रहरी तथा काभ्रे उद्योग बाणिज्य सघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्