समुदायमा पुनर्स्थापित हुँदै एचआइभी सङ्क्रमित

दुई युवा चालक भए, १० महिला आमा बने 



काभ्रे। 

काभ्रेपलाञ्चोक जिल्लामा एचआइभी सङ्क्रमण दर घट्दै गएको तथ्याङ्क सार्वजनिक गरिएको छ । सङ्क्रमित भएकाहरुले नियमित औषधि सेवन गर्दा अन्य व्यक्तिलाई एचआइभी नसर्ने भएकाले त्यस्ता ब्यक्तिहरुबाट जन्मिएका सन्तान पनि स्वस्थ हुने गरेको सक्रिय प्लस नेपाल काभ्रेका अध्यक्ष अमिर खड्काले जानकारी दिनु भयो ।
एचआइभी सङ्क्रमित व्यक्तिहरू बिस्तारै समाजमा पुनर्स्थापित हुन थालेका छन् । जस मध्ये दुई युवा चालक बने भने १० महिला आमा बनेर स्वस्थ बच्चा जन्माए । २०६३ सालमा एचआइभी सङ्क्रमितहरूको हक र अधिकारको लागि काम गरिरहेको छ । जिल्ला समन्वय समितिको बैठकमा जिल्लामा रहेका सङ्क्रमित तथा धुलिखेल अस्पतालबाट सेवा लिईरहेका सङ्क्रमितहरूको अवस्थाका बारेमा जानकारी गराइएको थियो ।

एचआइभी सङ्क्रमित भएर नियमित औषधी सेवन गरिरहेका मध्ये १० जना महिलाहरूले एचआइभी नेगेटिभ बच्चा जन्माएको अध्यक्ष खड्काले जानकारी दिनु भयो । नेगेटिभ पुरुष वा महिलाले पोजेटिभ महिला वा पुरुषसँग विवाह गरेको अवस्थामा नियमित औषधी सेवन गर्दा उनीहरूबाट जन्मने सन्तान नेगेटिभ भएको उहाँले बताउनु भयो ।

एचआइभी एड्स भएकाहरुबाट डराउनु पर्ने र असुरक्षित हुने अवस्था घट्दै गएको उहाँले बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्लामा १ सय ५५ जना सङ्क्रमितहरू मध्ये नियमित एआरभी औषधी लिनेहरुको संख्या ८५ रहेको छ । २६ जनाको निधन भइसकेको छ भने ३ जना भारत गएका छन् । ४१ जनाले अन्य जिल्लाबाट औषधी लिईरहेको तथ्याङ्क छ ।

जसमध्ये एक जना बालिका १५ महिना देखि नियमित औषधी सेवन गरिरहेकी छिन् । उनी ५ वर्षकी भइन् । १२ केजी तौल रहेकी बालिकाको स्वास्थ्य ठिक रहेको उहाँले बताउनु भयो । २४ घण्टामा एक पटक सेवन गर्दा हुने एआरभी औषधीको अन्य कुनै असर देखिएको छैन । सरकारले निःशुल्क औषधी र स्वास्थ्य बिमा उपलब्ध गराएको भए पनि बिमा अनुसारको सेवा प्राप्त हुन नसकेको बिमा अभिकर्ता पुजा हुमागाईले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख डिएसपी रेसम बोहराले एचआइभी सङ्क्रमितबाट बच्न र सङ्क्रमितहरूले नियमित एआरभी औषधी सेवन गर्दा सुरक्षित हुने सन्देश सार्वजनिक स्थलहरुमा पनि राख्न समन्वय गर्न सुझाव दिनु भयो । आवश्यक समन्वय र सहयोग प्रहरीले पनि गर्ने भएकाले सक्रिय प्लस नेपालले योजना निर्माण गर्न डिएसपी बोहराले अनुरोध गर्नु भयो । वडा अध्यक्ष हिटलर शाक्यले नगरपालिकाले गर्ने विभिन्न कार्यक्रम अन्तर्गत सहयोग पु¥याउने बताउनु भयो ।

नगरपालिकाका प्रशासकीय अधिकृत धुव्रराज नेपालले सक्रिय प्लसले एचआइभी सङ्क्रमितहरूका लागि गरिरहेको कामको प्रशंसा गर्नु भयो । छलफल कार्यक्रममा धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल, कृष्णप्रसाद अस्पताल, नेपाल परिवार नियोजन संघ, रेडक्रस तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सक्रिय प्लस नेपालले कोभिडका समयमा एचआइभी सङ्क्रमितहरूलाई घर घरमै एआरभी पु¥याउँदै आएको थियो भने अहिले पनि विभिन्न जनचेतनामूलक कार्यक्रम, समन्वय, परामर्श र पैरवी गरिरहेको छ ।

एचआइभी पोजेटिभ भएका दुई युवा अहिले टिपर चलाउँदै आएका छन् । आत्मनिर्भरका लागि समस्या भईरहेका बेला युवाहरूको जोस र जाँगरले निरन्तरता पाएको अध्यक्ष खड्काले बताउनु भयो । सरकारले औषधी उपचारसँगै आत्मनिर्भर हुने कार्यक्रममा सहयोग गरिदिनु पर्ने अध्यक्ष खड्काले बताउनु भयो । बच्चा देखि औषधी सेवन गरेका बालबालिकाहरूको हकमा ठुलो भए पछि एचआइभी भएको थाहा पाउँदा मानसिक असन्तुलन भएको, विवाहका लागि समस्या देखिएको, समुदायले अझै पनि फरक दृष्टिकोणले हेर्ने लगायतका समस्या रहेको अध्यक्ष खड्काले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्