नेपाली समाजमा विकृति फैलाउँदै टिकटक



समाजको वातावरण खलल पार्न र जनसमुदायमा विकृति फैलाउने खालका क्रियाकलाप कुनै पनि नागरिकले गर्न पाउँदैनन् । भड्किलो, उत्तेजना फैलाउने र अवाञ्छित गतिविधि गर्न कानुनले नै बन्देज लगाएको छ । तर, कानुनको धजिया उडाएर समुदायको ख्याल नै नगरीकन टिकटक बनाउने क्रम बढेको छ । समाजले पचाउन नसक्ने खालका टिकटक अहिले छ्याप्छ्याप्ती बजारमा आएका छन् । अश्लील भिडियो तथा शब्दहरुको प्रयोग गरेर टिकटक बनाउने, आफ्नो शारीरिक प्रदर्शन गर्नेजस्ता हर्कत टिकटकमा बढेको छ । विश्व प्रख्यात चिनियाँ एप टिकटकले नेपालमा बेथितिको बाढी ल्याएको छ ।

सकारात्मकभन्दा नकारात्मक सामग्रीहरु बढी टिकटकमा पाइन्छ । टिकटक बनाउने क्रममा कतिपयको ज्यानसमेत गएको छ । घरपरिवारबीच दरार आएको छ । टिकटकमा जथाभावी भिडियो हाल्दा यसले गलत प्रचार गरिरहेको छ । यता, टिकटक नेपाली बनाउँछन् तर फाइदा भने चीनले मात्र लिइरहेको छ । नेपालीहरु आफ्नो अमूल्य समय खेर फालेर टिकटक बनाउनेमै व्यस्त छन् । सिर्जनशील ठाउँमा दिमाग लगाउनुपर्ने युवाहरु टिकटकमै झुत्तिएका छन् । पछिल्लो समय भुरादेखि बूढासम्म सबैजना टिकटकमै व्यस्त देखिन्छन् । आफ्नो कामधन्दा छोडेर टिकटक बनाउने र समय खेर फाल्ने कामले हाम्रो समाजमा व्यापकता पाएको छ ।

पढाइतिर ध्यान हुनुपर्ने बालबालिका पनि अहिले टिकटकमै केन्द्रित छन् । भोलिका भविष्यका कर्णधारहरु पढ्न छोडेर टिकटक बनाउनतिर लागेपछि मुलुकको रुप कसरी फेरिएला ? टिकटकले नेपाली जनतालाई बिगारेको छ । चीन र भारतले टिकटकमा प्रतिबन्ध लगाइसक्दा नेपाल सरकार भने यसलाई छाडा छोडेर तमासा हेरी बसिरहेको छ । चीनले एप बनायो तर त्यो एपले हामीलाई बिगा¥यो । टिकटकले यत्रो विकृति फैलाइरहँदा गृह मन्त्रालयको यसतर्फ ध्यान गएको छैन । टिकटकले सम्बन्ध लथालिंग पारेको, समाजमा विकृति ल्याएको देख्दा पनि सरकार मौन छ ।

समाजमा अश्लीलता फैलाउने व्यक्तिलाई कारबाही गर्नका निम्ति गृहमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिएका छैनन् । हालमात्रै टिकटकमा ऋषि धमलाकी पत्नी एलिजा गौतमको ‘डगी डान्स’ अत्यन्तै भाइरल बन्यो । समाजले पचाउन सक्दैन भन्ने थाहा हुँदाहुँदै पनि तीजको समयमा एलिजाले रमिता देखाइन् । उनको सिको गर्दै राष्ट्रसेवक भनिने सरकारी कर्मचारीहरुले समेत कार्यालयको पोशाकमै उक्त नाच देखाए । अहिले टिकटकभरि रातो सारी भिरेर कालो चश्मा लगाएका महिलाहरुले उक्त डान्स गरिरहेको देखिन्छ ।

आफ्नो मानमर्यादा र संस्कृति बिर्सेर यस्तो खालको क्रियाकलाप गर्नाले समाजलाई कतातिर लगिरहेको कसैलाई चासो छैन । एकछिन्को रमाइलोको लागि अरुलाई कति असर पारिरहेको भनेर कसैले सोचविचार गरेका छैनन् । धेरै लाइक र कमेन्टको चक्करमा जथाभावी भिडियो हाल्नेलाई सरकारले कारबाही गर्नुपर्छ । समाजको वातावरण खलल पार्ने हक कसैलाई पनि छैन । टिकटकमा जथाभावी बोल्ने र नाच्नेविरुद्ध साइबर ब्युरो कानुनी उपचारमा जानुपर्छ । टिकटकमा भएको अश्लीलता हेर्न नसकेर टिकटक प्रतिबन्धको माग उठेको छ ।

टिकटकको विरोधमा यतिखेर चौतर्फी माग उठे पनि सरकारले किन सुनुवाइ गर्दैन ? टिकटकले गर्दा यत्रो विकृति फैलिँदा पनि सरकार किन आँखा चिम्लिएर बसेको छ ? कि त सरकार नै नेपाल नै बदनाम गराउन जुटेको छ ? टिकटकमा नेपालीले हालेको अश्लील भिडियो विश्वभर प्रदर्शन भइरहेको छ । उनीहरुले बोलेका शब्द सबैले सुनिरहेका छन् । उनीहरुको यस्तो हर्कतको मुलुकको शानमाथि गम्भीर दाग लागेको छ । नेपालीहरु नै नेपालको बेइज्जत गर्नमा तुलिएका छन् । बनाउन पायो भन्दैमा जे पनि बनाउन त मिल्दैन नि ।

आफ्नो घरपरिवार, सम्बन्ध, नातागोता र समाजको ख्याल नै नगरी टिकटक बनाउनुले ठूलो क्षति निम्त्याएको छ । जसले गर्दा कि टिकटक तत्कालै बन्द गर्नुपर्छ, कि त कडा कानुन बनाउनुपर्छ । आफू चर्चामा आउनका लागि समाज बिर्सिन मिल्दैन । समाजलाई सभ्य बनाउने हो भने पहिले टिकटकमा कडा कानुन लागू गर्नुपर्छ । टिकटकले ल्याएको अश्लीलता रोक्नुपर्छ । समाजमा उत्तेजना फैलाउने क्रियाकलाप गर्नलाई सरकारले छुट दिएको छ ? जे मन लाग्यो त्यही गर्नलाई कानुनले दिन्छ ?

यो त सानालाई ऐन र ठूलालाई चैनजस्तो भएन र ? आफ्नो घरपरिवारभित्र के भइरहेको घरका ठूलाबडाले हेर्नुप¥यो । उनीहरुलाई सही ट्रयाकमा ल्याउन घरको ठूलाले भूमिका निभाउनुपर्छ । घरका ठूलाले सक्दैनन् भने सरकार एक्सनमा आउनुप¥यो । पुराना ऐन–कानुनमा कारबाही गर्नु, विषय उल्लेख छैन भने संशोधन गरेर नयाँ बनाऊ । तर, समाज भड्काउने काम बन्द गरौं । समाजले राम्रो होइन, नराम्रो कुरा मात्र सिकिरहेको छ । सभ्य बन्नुपर्ने जनता असभ्य बन्दै गइरहेका छन् । मुलुक उकालोतिर नभई ओरोलो लागिरहेको छ । टिकटकमा शारीरिक प्रदर्शन गरिरहँदा महिलाहरु थप असुरक्षित भइरहेका छन् ।

शरीर त प्रदर्शन गर्नका लागि होइन । विकासमा लाग्नुपर्ने युवाहरु टिकटकमा झुत्तिँदा मुलुक कसरी उँभो लाग्छ । पछिल्लो समय बलात्कारका घटना घट्नुमा टिकटकको ठूलो हात छ । हाम्रो समाज अझै पनि असुरक्षित छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि अंग प्रदर्शन गरिन्छ । पहिले–पहिले नेपालमा बलात्कारका घटनाहरु शायदै सुनिन्थ्यो होला । तर, अहिले दिनहुँजसो बलात्कारका घटनाहरु सार्वजनिक भइरहेका छन् । पछिल्लो समय आएका गीत, भिडियो र सामाजिक सञ्जालले यस्ता क्रियाकलापलाई थप टेवा दिइरहेको छ । भूसमा आगो फैलिएसरह नकारात्मक गतिविधि छिन्मा फैलिइरहेको छ ।

यसमा नेपाली कलाकार र गायक–गायिकाको पनि ठूलो हात छ । कलाकारहरु केही सोचविचार नै नगरी फिल्म खेल्छन् । गायक–गायिकाहरु फोहोरी शब्दको प्रयोग नगरीकन गीत गाउनै सक्दैनन् । यसअघि कोमल वलीले ‘पोइला जान पाऊँ’ भन्दै गीत गाइन् । उनलाई नेकपा एमालेले सांसद बनाइदियो । यस्तो गीत गाएर समाजमा विकृति फैलाउनेलाई कारबाही गर्नुपथ्र्यो तर सीधै सांसद बनाइयो । फोहोरी गीत गायो र अश्लील भिडियो बनायो भने चर्चामा आइन्छ भन्ने मानसिकता भएको व्यक्तिहरु भएको समाज कसरी अघि बढ्छ ?

नेपाल संविधानले स्वतन्त्रता दिएको छ तर आफ्नो स्वतन्त्रता प्रयोग गर्दा अरुको हनन नहोस् भनेर स्पष्टरुपमा लेखेको पनि छ । पढेलेखेकैबाट कानुन मिच्ने काम भएको छ । अशिक्षित जनताले त अवश्य पनि टिकटक चलाउन जान्दैनन् । शिक्षितहरु नै टिकटकतिर झुन्डिएपछि देश र समाजले के आशा गर्ने ? टिकटक बनाउनका लागि मात्र शिक्षाको उपयोग भएको छ । यत्रो लगानी गरेर राज्यले पढाएको टिकटक बनाउनका निमित्त अवश्य पनि होइन होला । पढेलेखेका जनतालाई त कानुनको विषयमा अलिकति भए पनि जानकारी हुनुपर्ने हो ? समाजमा बसेपछि के गर्न हुने र गर्न नहुने छुट्याउन सक्नुपर्ने हो । तर, यति पनि छुट्याउन नसक्नेलाई कसरी शिक्षित भन्ने ?

पछिल्लो समय महिलाहरुले आफ्नो संस्कृति बिर्सिएका छन् । टिकटक चलाएर जनताले के सिके ? समाजलाई यसले के फाइदा पु¥यायो ? टिकटकमा राम्रोले होइन, नराम्रो सामग्रीले प्राथमिकता पायो । टिकटकमा भएको बेथिति रोक्न सरकारको तत्कालै ध्यान जानुपर्छ । विकृति–विसंतिलाई बढावा दिने काम कसैले पनि नगरौं । आजको रमाइलोले भोलि ठूलो दुर्घटना निम्त्याउन सक्छ । जनतालाई टिकटकको लत लागिसकेको छ ।
– अनुसा थापा ।

प्रतिक्रिया दिनुहोस्