सत्य धर्मको बलले नै लोकतन्त्र फस्टाउँछ



धर्मको सन्दर्भमा चर्चा गर्नुपर्दा यसको अर्थ र महत्वलाई प्रकाशित गर्न अति जरुरी छ । धर्मको विभिन्नार्थ छ । धर्म भन्ने शब्द ‘धर’ र ‘म’ भन्ने दुई शब्दविन्यास अक्षरहरूले बनेको छ ।

‘धर’ले पृथ्वी, भौतिक वा स्थुल शरीर भन्ने जनाउँछ भने ‘म’ले सूक्ष्म जगत् वा आत्मा भन्ने बुझाउँछ । यसको अर्थ त्यो आत्मा वा प्राण जसले पृथ्वी वा भौतिक जगत् वा शरीरलाई धारण गरेको छ अर्थात् अड्याएको वा शक्ति प्रदान गरेको छ त्यही धर्म हो । अर्को अर्थमा धर्म भनेको आचार, विचार र चरित्र हो । अनुशासनमा रहनु नै धर्म हो । धर्म मानिसको शील, स्वभाव र गुण हो । अरु सबै कुरा छुटेर केही हुनेवाला छैन । तर शील, स्वभाव र गुण छुट्यो भने सबै छुट्छ । कुनै मन्दिरमा पूजा गरेको कर्मलाई धेरैले धर्म गरेको सम्झन्छन् । पूजा गर्नु मात्र धर्म होइन । पूजा त कसैको सम्मान मात्र हो । जहाँ सम्मान र मर्यादा हुन्छ त्यहाँ धर्म हुन्छ ।

आजकल सनातन वैदिक धर्मदेखि राजनीति डराएको छ । हिन्दू इतरका मानिसहरु डराएका छन् । धर्मदेखि भाग्नु वा डराउनु भनेको आफ्नै शरीरको अंग देखेर आफैं डराउनुजस्तै हो । सनातन धर्मको मूलसार– ‘आपूm निस्वार्थपूर्वक बाँच र अरुलाई बचाऊ, अरुको बाँच्ने आधारलाई आपूmले केही त्यागेर भए पनि बाँच्न देऊ’ भन्ने नै छ । ब्रह्माले पनि भन्नुभएको छ– ‘मैले त्यागबाट तिम्रो उत्पत्ति गरें, तिमीले पनि दोस्राको लागि त्याग गर, यही जीवन जिउने सिद्धान्त हो ।’ जन्मले कोही ठूलो मान्छे नभए पनि कर्मले मानिस अवश्य पनि ठूलो हुन्छ ।

जन्मको आधारमा कोही ठूलो वा सानो हुँदैन । व्यक्तिको चिन्तन, प्रवृत्ति र व्यवहार ठूलो हुने हो । व्यक्तिमा शील, आचरण, ज्ञान नभएमा ऊ नीच हुन्छ । हजारौं वर्षअघिको सनातन धर्म शिक्षा कति वैज्ञानिक र क्रान्तिकारी छ । जसलाई आज हामी अपनाउन सकिराखेका छैनौं । समानताको आधारमावैदिक दर्शनलाई समाजमा लागू गर्ने हो भने समृद्धिका लागि कराउँदै हिँड्न नपर्ला । लोकतन्त्रका लागि कसैलाई केही भन्न नपर्ला ।भगवान् बुद्धले मूर्खहरुको संगत नगर्नु, बुद्धिमान र शीलवानहरुसँग सत्संग गर्नु, सुरक्षित स्थानमा निवास गर्नु, कुशल कर्ममा लाग्नु, धेरै ज्ञानहरु आर्जन गर्नु, शिल्पज्ञान आर्जन गर्नु, व्यवहार कुशल एवं विनम्र बन्नु, विवेकशील बन्नु, असल वक्ता हुनु, माता–पिताको सेवा र परिवारको पालन–पोषण गर्नु, खराब कर्महरु नगर्नु, कुनै अपेक्षा नलिईकन दान दिनुजस्ता धर्म सन्देशहरु दिएका छन् ।

त्यसै गरी उनले धर्मको आचरण गर्नु, इष्टमित्रहरुको आदर–सत्कार गर्नु, मन–बचन–कर्मले परपीड़क नबन्नु, नशालु पदार्थहरुको सेवन नगर्नु, पूर्णरूपले सन्तुष्ट हुनु, कृतज्ञता कायम राख्नु, धर्म चर्चा गर्नु, क्षमाशील र आज्ञाकारी हुनु, सन्त तथा योगी पुरुषहरुसँग सत्संग गर्नु, मनलाई एकाग्र र निर्मल बनाइराख्नु, सधैँ जागरूक रहनु, शीलको पालना र ज्ञान पाउने कार्य गर्नु, चिन्ता र शोकबाट बच्नु, लाभ–हानि, यश–अपयश, सुख–दुःख, जय–पराजयबाट विचलित नभई जीवन निर्वाह गर्नु आदि महत्वपूर्ण धर्म सन्देशहरु दिएका छन् । के यी सन्देशहरु लोकतन्त्रका लागि उपयोगी हुन्न र ! जुन धर्म बचन हरेक तप्काका मानिसहरुले पालना गर्न सकेमा आ–आफ्नो क्षेत्रमा चरित्र निर्माण हुन्छ । चरित्रको निर्माणबाट राजनीतिक व्यवस्था स्थिर र सहज चल्छ, सामाजिक व्यवहार राम्रो बन्छ र आर्थिक अनुशासन सदा कायम हुँदै जान्छ । यिनै गुणहरुको विकास समाजमा गर्न सके मात्र लोकतन्त्र फस्टाउँछ । नत्र लोकतन्त्र–लोकतन्त्र भनेर भाषण गर्नुको कुनै अर्थ रहन्न ।

विश्वप्रसिद्ध भौतिकवादी चिन्तकहरू कार्लमाक्र्स, लेलिन, एंगेल, माओसेतुङले धर्मलाई गहिराइमा बुझ्ने कोशिश नगरेका कारण धर्मको खुलेर विरोध गरे । त्यही प्रभावले होला आजकल लोकतन्त्रको दुहाइ दिने राजनीतिज्ञहरू पनि धर्मदेखि ज्यादै परपर भाग्न खोज्दै छन् । भागेर कहाँ जानु ? जसरी कुनै मानिस आफ्नो छायालाई देखेर जति भागे पनि त्यो छाया उसबाट छुट्दैन त्यस्तै धर्मबाट मानिस जति भागे पनि यो छुट्नेवाला होइन । भाग्नु धर्म होइन । कायर, डरपोक तथा कमजोर दिल वा मन भएका मानिसहरू सत्यदेखि भाग्छन् । दुर्भाग्यको कुरा, आजकल नेपालमा धर्मदेखि राजनीतिक नेताहरु भागेको देखेर अन्य विद्वान् वर्गहरू पनि भाग्न खोज्दै छन् । कायर, डरपोक र कमजोर मनस्थितिहरू भाग्छन् । भाग्नु जीवन होइन र सत्यता पनि होइन । चुनौतीका साथ जीवन जिउनु सत्य हो । कुनै पनि कुराको यथार्थ सत्यस्वरुपलाई सोही रुपमा आत्मसात् गर्नु धर्म हो । सत्य र स्वतन्त्रताको लागि जीवनदान गर्नु धर्म हो ।

तब हामीले खोजेको राजनीतिक व्यवस्था लोकतन्त्र बलियो हुन्छ, सामाजिक व्यवस्था राम्रो हुन्छ । लोकतन्त्र भनेको के हो त भने लोक स्वःस्फूर्तरुपमा अनुशासित, मयार्दित, व्यवस्थित र चरित्रवान् हुनु हो । हृदयमा धर्म, नैतिकता र चरित्र राम्रो छ भने मात्र लोकतन्त्रको मर्म स्थापित हुन्छ । नभए लोकतन्त्र पनि निरंकुश तन्त्रजस्तै बन्छ ।अतिवादबाट टाढा रहनु, मिथ्यावादलाई लिँदै नलिनु र हीनवादमा नजानु नै मध्यमार्ग हो । विश्वदृष्टिकोणको वकालत गर्दा कम्युनिस्टहरू साम्यवाद र गैरकम्युनिस्टहरू प्रजातान्त्रिक समाजवादको कुरा गर्छन् । यसका अतिरिक्त विश्वमा अन्य थुप्रै वाद, सिद्धान्त र विचारहरू पनि छन् । तर ती वाद र सिद्धान्तवादीहरुले अतिवाद र मिथ्यावादलाई अपनाएको कारण आज विश्व जर्जर र अशान्तिमा फस्दै गएको छ । नेपालको राजनीतिमा पनि ज्यादै अतिवादले काम गर्दै आएको छ । अतिवाद मात्र भएको भए त केही हदसम्म सहन सकिन्थ्यो । तर मिथ्यावादले गाँजिसकेको हुँदा राजनीति डामाडोल हुँदै गएको छ । समकालीन विश्वमा नैतिकता र चरित्रको आधारमा हेर्दा लोकतान्त्रिक मध्यमार्गको कुनै विकल्प छैन । मध्यमार्गमा वैज्ञानिकता, प्राकृतिक, मानव केन्द्रित, समाज र मानवतावादी दर्शन पाइन्छ । प्राचीन महर्षिहरुलाई धर्मको आँखाले मात्र हेरियो भने त्यहाँ उनीहरुप्रति न्याय हुँदैन ।

उनीहरुले धर्म मात्र भनेनन्, उनीहरुले न्यायपूर्ण समाजको दृष्टिकोण र मानव चरित्र निर्माणका विचार दिएका छन् । ऋषिहरुको शिक्षामा समानता, एकता, समाजवाद र समतामूलक विचारधारासँग धेरै मेल खान्छ । हुन त सनातन शिक्षालाई सर्वत्र लागू गर्नुपर्छ भन्ने होइन । यसका आधारभूत पक्षलाई सबैले अनुभूत गर्नुपर्छ भन्ने नै हो । सनातन वैदिक दर्शन वादहरूको वाद, दर्शनहरूको दर्शन, विज्ञानहरूको विज्ञान र शिक्षाहरूको पनि शिखर शिक्षाको रूपमा सबैले स्वीकार गर्नै पर्दछ भन्ने पनि होइन । समाजको लागि जति आवश्यक छ त्यति शिक्षालाई अपनाउन सक्नुपर्छ भन्ने नै लेखको आशय हो ।

युगौंयुगको तपस्याका बाबजुद नेपाललाई विश्व जगत्ले धर्म र शान्तिप्रिय देशको रुपमा चिन्दै आएको हो । नेपाल र नेपाली जनताको आदर्श पनि मानवता, मनुष्यता, प्रजातन्त्र, स्वतन्त्रता र स्वाधीनता नै टिकेको छ । वैदिक कालदेखि ऋषिमुनीहरुको तप र ओजशक्ति नेपालीमा निहित रहेको छ । त्यही ओज र तपोर्जाले नै नेपाललाई विश्वसामु उचाइ प्रदान गरेको छ । कुनै पनि देशको मानव धर्म, संस्कृति एवं राजनीतिक व्यवस्थालाई अग्रपंक्तिमा धकेल्ने ऊर्जा उच्चतम् ज्ञान र आदर्शबाट मात्र प्राप्त हुन्छ । त्यो आदर्श र ज्ञान सत्य धर्मको पालनाबाट मिल्ने हो । त्यसैले अब देशका राजनीतिक शक्ति, बुद्धिजीवी, पत्रकार, साधु–सन्त, समाजसेवक, उद्योगी व्यवसायीहरु सबै मिली मुलुकको राष्ट्रिय अखण्डता, एकता र पहिचानलाई जोगाउँदै लोकतन्त्रलाई सबल र व्यवहारमुखी बनाउन सत्य र धर्मप्रति सबै सजग हुनै पर्दछ ।

नेपाल जुन आदर्श र मान्यताले निर्माण भएको छ, यसको जति गहिराइ छ, त्यत्ति नै उच्चता र सत्यताले परिपूर्ण पनि छ । सत्य धर्मको सम्प्रभुसत्ताले प्रतिष्ठित रहेको नेपाल भूमिमा लोकतन्त्रलाई सबल बनाउने आधार धर्म र संस्कृतिभित्र छिपेको छ । त्यसलाई राजनीतिक नेतृत्वले बुझ्न जरुरी छ । त्यसैले सत्य र धर्मको मेलमिलापपूर्ण वातावरणमा मात्र लोकतान्त्रिक व्यवस्था फस्टाउन सक्छ ।धर्म, दर्शन र संस्कारित शिक्षा प्रणालीको अलिकति भए पनि विकास गर्न सके परिवर्तन सम्भव छ । कानुनले मात्र विभेदको अन्त्य हुन सक्दैन । करकाप, डरत्रास र जबर्जस्तीको परिवर्तन दिगो हुँदैन । मानिसको गुण, शील, प्रज्ञा र आत्मा परिवर्तनले रूपान्तरण सम्भव छ । बाह्यरुपको परिवर्तनले विभेदलाई अन्त्य गर्न सकिन्न । विभेदको जरालाई उखेलेर फाल्ने विधि चाहिन्छ । बुद्धको शिक्षा पनि गुण, शील, प्रज्ञा, मानवता, भ्रातृत्व, समानता, प्रेम र शान्तिमा आधारित छ । अन्धविश्वास, रुढिवाद र कुसंस्कारलाई रोपेर समाजवाद र समृद्धिको फल खोजेर कहाँ पाइन्छ ।

जहाँ जातिपाती, संंस्कृति, सम्प्रदाय तथा समूहदेखि माथि उठेर कार्य गरिन्छ, त्यहाँ मानवीय चरित्र, सचेतना र सत्गुणको आधार बलियो हुँदै जान्छ । नेपालको राजनीति, धार्मिक र सामाजिक क्षेत्रमा यही चेतनाको कमी छ । जसले गर्दा हरेक क्षेत्रमा असफलता देखिन्छ । मानिसमा शील, स्वभाव र चरित्र राम्रो भएमा आमूल परिवर्तन सम्भव हुन्छ । बाह्य र आन्तरिक परिवर्तनले मात्र व्यक्तिको चरित्र निर्माण हुन्छ ।राज्यमा अरुलाई अनुशासित बनाउन साधारण जनता र कार्यकर्ताभन्दा नेताहरुमा सरल जीवन, उच्च विचार, धार्मिक स्वभाव र साधारण पहिरन हुनै पर्दछ । यही त लोकतन्त्र र समाजवादी विचार हो ।

जबसम्म यो शिक्षालाई जीवन र व्यवहारमा पूर्णरूपमा लागू गर्दैनौं तबसम्म राजनीतिको जिम्मेवारी पूरा हुँदैन । राजनीतिमा स्थिरता हुन सक्दैन । राजनीतिक नेताहरुले आफ्नो मूल्यांकन आफैँले गर्न सिक्नुपर्छ । अतिवादले देश हार्छ र व्यक्तिले जित्छ । मिथ्यावादले भ्रष्टाचार, अनाचार र शोषण बढ्छ । हीनवादले विकास रोकिन्छ । त्यसैले राजनीतिकर्मी चरित्रवान् भए भने जनताले चरित्रशीलतालाई पछ्याउँछन् । चरित्रको निर्माण धर्मले गर्छ । त्यसकारण डरपोक, कायर र कमजोर दिल भएकाहरु धर्मदेखि भाग्छन् । भाग्नु धर्म होइन, जाग्नु धर्म हो । जाग्नु र जगाउनु राजनीतिकर्मीको कर्तव्य हो, तब लोकतन्त्र फस्टाउँछ ।

प्रतिक्रिया दिनुहोस्