कालीगण्डकी करिडोरको पर्वत खण्ड निर्माण सुस्त

समयमा काम सक्न अध्यक्ष तिमिल्सिनाको निर्देशन



पर्वत।

भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोर अन्तर्गत पर्वत खण्डमा निर्माणको काम पछिल्ला दिनमा सुस्त भएको छ । पर्वतको रानीपानीदेखि कुर्घा हुँदै फलेवास सम्मको २३ किलोमिटर सडक खण्डमा बिगत छ महिना देखि निर्माण कार्य सुस्त भएको हो ।

पर्वतको ‘लाईफर्लाइन’को रुपमा हेरिएको लोकमार्गको पर्वत खण्डमा सेतीबेणी देखि फलेबास सम्म कालोपत्रेको काम भैरहेको छ भने फलेबास देखि अर्मादी सम्म ट्रयाक ओपनको काम भैरहेको छ । कालोपत्रेको काम यसै बर्ष सम्पन्न हुनुपर्ने हो भने ट्रयाक ओपनको काम तीन बर्ष अघि नै सकिनुपर्नेमा म्याद थप्ने काम भैरहेको छ ।

करिडोरको निर्माण कार्य सुस्त भएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थलगत अनुगमन गर्दै समयमा काम सक्न निर्देशन दिनुभयो ।
सडकको काममा गुणस्तर कायम गर्न र बजेट तथा अन्य काममा समस्या आएमा समाधानका लागि आफ्नो तर्फबाट निरन्तर पहल हुने राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले प्राबिधिक सहित करिडोरको गैडाकोटदेखि फलेबास सम्म स्थलगत अनुगमन गर्नुभएको हो ।

करिडोरको पर्वत खण्डमा सेतीबेनी देखि रानीपानी खण्डको ७ किलोमिटरमा समेत कालोपत्रे गर्ने काम भैरहेको छ भने रानीपानीदेखि बर्राचौरको खहरे सम्म सडक कालोपत्रे भैसकेको छ ।

पर्वत जिल्लाको बिहादी गाउँपालिका–३ रानीपानीदेखि फलेवाससम्म २३ किलोमिटरमा कालोपत्रेको काम दुई बर्षमा सक्ने गरी सम्झौता भएको थियो । निर्माणको काम यसै बर्ष सक्नुपर्नेमा गएको बैशाख देखि निर्माण कार्य सुस्त छ । अहिले सम्म रानीपानी दखि फलेबास खण्डमा ३८ प्रतिशत भौतिक प्रगति भएको कालीगण्डकी करिडोर आयोजना गैडाकोट—राम्दी खण्डका आयोजना प्रमुख शंकर पौडेलले बताउनुभयो ।दसैँ तिहार लगत्तै निर्माणको काम तीब्र बनाउने जानकारी दिनुभयो । ‘चुनाब, बर्षा आदि कारणले केही सुस्त भएको हो।’ आयोजना प्रमुख पौडेलले भन्नुभयो ‘चाडबाड सकिएपछि जनशक्ति र निर्माण उपकरणहरुको पुरै परिचालन सहित अनुगमनलाई तब्रि बनाउँदै समयमा नै काम सम्पन्न गराउने योजनामा छौ ।’

आयोजना प्रमुख पौडेलले गैडाकोट देखि मालढुंगा सम्म ४४ प्रतिशत भौतिक प्रगति भएको र देखिएका समस्या समाधान गर्न अध्यक्ष तिमिल्सिनाले चाँसो दिनु भएकाले छिट्टै निर्माण कार्यले गति लिने बिश्वास पनि लिनुभयो ।

लामो समय देखि ट्रयाक ओपन हुन नसकेको पर्वतको फलेबास देखि अर्मादी खण्डको बाँकी २ सय मिटर ट्रयाक ओपनको काम कार्तिक महिना भित्र सकेर त्यसलाई पनि कालोपत्रे गर्न बहुबर्षे ठेक्का प्रकृयामा जाने तयारीमा रहेको जानकारी दिनुभयो ।

पर्वतको जलजला गाउँपालिकाको वारीबेनी देखि बिहादी गाउँपालिकाको सेतीबेणी सम्म करिडोर सडक पर्दछ । मालढुंगा देखि वारी बेनी सम्मको सडक पनि स्तरोउन्नतीको काम भैरहेको छ । यो खण्ड भने आयोजनाको जोमसोम कार्यालयले हेर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्